इन्द्रजात्रा र पारिजातको कथा

इन्द्रजात्रा र पारिजातको कथा

रातभरि फुलेर बिहानपख बोटबाट झर्ने फूल हो, पारिजात।

पारिजात फूलसँग जोडिएका थुप्रै कथा नेवार समुदायमा छन्। अहिले पनि यी कथाहरू जनश्रुतिमा रहेका छन्। यी कथाहरू कहिलेदेखि शुरु भए, थाहा छैन, तर अझै पनि नेवार समुदायमा अझै जनश्रुतिमा यो कथा जीवित छ।

परापूर्वकालमा पारिजात नाम गरेकी एक राजकुमारी थिइन्। उमेर बढ्दै जाने क्रममा उनलाई सूर्यसँग एकतर्फी प्रेम बस्छ। अहिलेको भाषामा भन्दा, ‘वान साइडेड’ प्रेम हुन्छ। पारिजातले सूर्यलाई प्रेम प्रस्ताव राख्छिन्। सूर्यले पारिजातको प्रस्ताव अस्वीकार गरिदिन्छन्।

प्रेम प्रस्ताव अस्वीकार भएको चोट पारिजातले सहन सक्दिनन्। त्यसपछि उनले आत्महत्या गर्छिन्। त्यसपछि पारिजातको अर्काे जन्म हुन्छ, फूलको रूपमा। तर पारिजात सूर्य उदाउँदा बोटबाट झर्न थालिन्।

चकमन्न रातमा सुवास छरेर फूल्ने पारिजात बिहानीपख सूर्य उदाउने बेला झर्छिन्। अहिले पनि पारिजातको फूल रुखबाट टिप्नुहुन्न भन्ने मान्यता छ। त्यसैले बेलुका पारिजातको फूलको बोट मुनी साँझ सफा कपडा ओच्छ्याएर राखिन्छ। बिहान झरेका पारिजातका फूल शुद्ध मानिन्छ र पूजाका लागि यही फूल चढाइन्छ।

त्यस्तै पारिजातसँग जोडिएको अर्काे चर्चित कथा कृष्ण र नारदसँग जोडिएको छ। पारिजात पहिले स्वर्गलोकमा मात्रै फूल्थ्यो। एकदिन नारदले स्वर्गलोकको पारिजात फूल कृष्णलाई ल्याइदिन्छन्। कृष्णले उक्त फूल रुकमणीलाई मात्रै दिन्छन्।

नारद घुम्दै फिर्दै सत्यभामा कहाँ पुग्छन्। तब नारलले पारिजात फूल कृष्णलाई दिएको र उसले रुकमणिलाई फूल दिएको सुनाएपछि सत्यभामा दुःखित हुन्छिन्। त्यसपछि सत्यभामाले कृष्णलाई फूलमात्रै नभई पारिजातको बोट नै ल्याइदिन भन्छिन्।

तब कृष्ण पारिजातको बोट माग्न स्वर्गलोक पुग्छन्। इन्द्रले उनलाई पारिजातको बोट दिई पठाउँछन्। कृष्णले बोट ल्याएपछि सत्यभामालाई दिन्छन्। फेरि सत्यभामाको बगैँचाबाट रावणका सौतेनी भाइ कुबेरले पारिजातको बोट लंका पुर्‍याउँछन्। यसरी पृथ्वी लोकको दक्षिण एशियामा यो पारिजात फैलियो।

पृथ्वीलोकमा पारिजात फूल्न थालेपछि स्वर्गलोकमा पारिजात पाउन छाडेको पनि कथन छ।

त्यसै कारण स्वर्गलोकमा पूजा गर्न पनि पृथ्वीबाट पारिजात लैजाने गरेको काठमाडौंमा हुने इन्द्रजात्राको कथाले प्रस्ट पार्छ। इन्द्रका आमा अदितिले पूजा गर्न पारिजात फूल चाहिएको अवस्थामा फूल चोर्न इन्द्र काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा पुग्छन्। फूल चोरिरहेको अवस्थामा स्थानीयले देखेपछि इन्द्रलाई समातेर बाँधेर राख्छन्।

इन्द्र आएको धेरै दिन भए पनि स्वर्गलोक नफर्किएपछि आमा अदितिले ऐरावत हात्तीलाई पृथ्वीमा पठाउँछिन्। त्यसपछि इन्द्रलाई बाँधिराखेको थाहा पाएपछि अदिति पृथ्वी आउँछिन्। र स्थानीयलाई कुहिरो दिएर इन्द्रलाई छुटाएर लग्छिन्।

इन्द्रजात्राका क्रममा लाग्ने कुहिरोले धान खेती राम्रो गर्ने जनविश्वास रहँदै आएको छ। त्यसपछि नै इन्द्रजात्रा मनाउन थालिएको कथन छ। साथै इन्द्र जात्राकै बेलामा ऐरावत हात्तीका रूपमा ‘पुलुकिसी’ जात्रा मनाइन्छ। साथै मृत आत्मालाई इन्द्र र उनको आमासँगै स्वर्ग पठाउन मृत व्यक्तिको परिवारले इन्द्र जात्राकै बेलामा ‘उपाकु यात्रा’ पनि गर्ने गर्छन्। साथै ‘क्वः नेया’ (तल्लो टोलमा) र ‘थः नेया’(माथिल्लो टोलमा) जीवित देवी कुमारी र देउताहरू गणेश र भैरवको रथयात्रा गरिन्छ।

फूल चोरेको भन्दै सजाय पाएकोले इन्द्र देउतालाई पारिजात फूल चढाउन हुन्न भन्ने मान्यता पनि छ। काठमाडौं मात्रै नभई भक्तपुर र ललितपुरमा पनि इन्द्र जात्रा मनाइन्छ। भक्तपुरमा भने इन्द्रजात्राको कथा फरक छ। भक्तपुरमा इन्द्रका छोरा जयन्त पारिजात टिप्न आउँदा स्थानीय बाँधेको र ऐरावत हात्तीमा चढेर इन्द्र देउता अन्य देवदेवीसहित छुटाउन आएको कथा छ। त्यसैले भक्तपुरमा इन्द्रजात्राका बेलामा चोङा गणेश, मसान भैरवलगायत देवदेवीको पनि जात्रा हुन्छ।

                                                                                                                                                                                      धौभडेल संस्कृतिविद् हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved