‘कम्युनिष्टले काम गर्न नसकेर कांग्रेस सरकारमा आएको हो’

नेपालभ्युज

‘कम्युनिष्टले काम गर्न नसकेर कांग्रेस सरकारमा आएको हो’
फाइल तस्वीर

काठमाडौं। कम्युनिष्ट सरकारले जनभावनाअनुसार नै काम गर्न नसक्दा कांग्रेस सरकारमा आएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।

गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले गठबन्धन दलहरूबीच कुरा नमिल्दा मन्त्रिमण्डले पूर्णता पाउन नसकेको भन्दै छिट्टै सरकारले पूर्णता पाउने पनि बताए।

नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने पनि दाबी गरे। पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका स्थानमा विधिविधान अनुसार नै अधिवेशन हुनुपर्ने धारणा राखे।

त्यस्तै महाधिवेशनमा साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको पनि उनले जानकारी दिए। नेता सिंहले नेपालको राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा नेता सिंहलगायत नेताहरूले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए। १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २ असोज २०५४ मा निधन भएको थियो।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

२०१७ सालमा शाही शासन शुरु भएपछि आठ वर्ष निरन्तर काराबास भोगेकाले उनलाई नेपाली राजनीतिक वृत्तमा उनलाई ‘लौहपुरुष’ का नामले पनि चिनिन्छ। गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved