राहदानी विभागको सेवा अवरुद्ध

नेपालभ्युज

राहदानी विभागको सेवा अवरुद्ध

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयको राजस्व संकलन प्रणालीमा देखिएको प्राविधिक अवरोधले राहदानी विभागको सेवा प्रभावित भएको छ।

प्राविधिक गडबडीले मंगलबारदेखि फर्म संकलन सहज भएको छैन। मंगलबार टोकन प्राप्त गरेका सेवाग्राहीलाई मात्रै बुधबार सेवा दिन सकिने भन्दै विभागले सूचना जारी गरेको छ।

महालेखाको ‘आरएमआईएस सिस्टम’ मंगलबार बिहानदेखि दिनभर सुचारु नहुँदा नियमित सेवा प्रभावित भएको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। “महालेखाको सिस्टम अवरुद्ध भएपछि हामीले सेवा नियमित गर्न सकेनौं, मंगलबार साँझ सिस्टम खुलेको छ, आज (बुधबार) सेवा सुचारु छ”, उनले भने।

महालेखाको आरएमआईएस सिस्टम देशभरका राजस्व कार्यालयमा अवरुद्ध भएको बताइएको छ। सेवा पुनः अवरुद्ध हुन नदिन विभागले महालेखाका प्राविधिकहरूलाई जानकारी गराएर वैकिल्पक उपायको खोजी गरिहेको अर्यालले बताए।

“पहिला पनि कहिलेकाँही ४/५ मिनेटसम्म सिस्टममा समस्या देखिन्थ्यो यसपटक भने समस्या निकै लामो भयो, वैकल्पिक माध्यमबाट सेवा सुचारु गर्न हाम्रै प्राविधिहरू पनि जुटिरहेका छन्”, उनले नेपालभ्यूजसँग भने।

मंगलबार सेवा अवरुद्ध भएकाले आज (बुधबार) विभागमा सेवाग्राहीको चाप बढेको छ। सेवाग्राहीको चाप बढेपछि १० बजेपछि मेडिकल इमरजेन्सीबाहेक अन्यलाई टोकन वितरण गरिएको छैन। कोरोना संक्रमण जोखिम घटेर कार्यालय खुलेसँगै विभागमा सेवाग्राहीको चहलपहल बढेको छ।

सामान्य अवस्थामा दैनिक ७/८ सय जनाले सेवा लिने गरेका विभागको तथ्यांक छ। एक सातायता त्यो संख्या दोब्बर हाराहारीमा पुगको महानिर्देशक अर्यालले जानकारी दिए। कोरोना संक्रमण दर घट्दै जाँदा श्रम गन्तव्य मुलुकबाट भइरहेको कामदार माग र कोरोना संक्रमणविरुद्ध खोपको उपलब्धताले सेवाग्राहीको संख्या बढेको हुन सक्ने उनको ठहर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved