आसिफ शेख र कुशल भुर्तेल

धर्मराएकाे ब्याटिङ सम्हाल्ने आशा बोकेको नयाँ ओपनिङ जोडी

आसिफ र कुशलको ओपनिङ जोडीको बारेमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, “उनीहरुले राम्रो खेलिरहेका छन्। त्यसैले हामिले उनीहरुलाई ब्याक अप गरिरहेका छौँ, प्रोत्साहन दिइरहेका छौँ।”

धर्मराएकाे ब्याटिङ सम्हाल्ने आशा बोकेको नयाँ ओपनिङ जोडी

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीस्वरूप नेपाल गत हप्ताको मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय (ओडीआई) क्रिकेट खेलिरहेको थियो। सोही खेलबाट नेपालले एकदिवसीय (ओडीआई) क्रिकेटमा नयाँ ओपनिङ जोडी पायो। जोडी थियो आसिफ शेख र कुशल भुर्तेलको।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुईको ओपनिङ जोडीले पछिल्लो समय राम्रै प्रदर्शन देखाएको थियो। गतवर्षको घरेलु एकदिवसीय प्रतियोगितामा पनि राम्रो फर्ममा देखिएका यी दुईलाई प्रशिक्षक ह्वाटमोरले अन्तत अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पनि प्रयाेग गरेका थिए।

यो ओपनिङ जोडीले ओमानमा ओडीआई डेब्यू गर्नु अगाडि प्रशिक्षक ह्वाटमोरले भनेका थिए,“यो जोडी टी-ट्वान्टीको प्रदर्शनपछि अर्को अवसरका लागि योग्य भैसके, टी-ट्वान्टीमा राम्रो खेल देखाएकाले ओडीआईमा पनि यी दुईले ओपनिङ गर्नेछन्।”

ओपनिङको नयाँ प्रयोगले राम्रै संकेत देखायो। आसिफ र कुशलको जोडीले ओडीआई डेब्यू खेलमा शुरुवात राम्रै गरे। कुशल भुर्तेलले आफ्नो ओडीआई क्रिकेटको पहिलो खेलको पहिलो बलमै चौका प्रहार गर्दै बाउण्ड्री मार्फत नेपाली इनिङको शुरुआत गरेका थिए।

सम्हालिएर ब्याटिङ गरेका यी दुईले ११ औं ओभरसम्म टिकेर ब्याटिङ गरे । यी दुईले अर्धशतकीय साझेदारी पूरा गर्न नसके पनि पहिलो खेलमा पहिलो विकेटको रुपमा ४६ रनको साझेदारी गरे।

उक्त खेल नेपालले २ विकेटले जित्दा आसिफ शेखले ४६ बल खेल्दै ४ चौकाको मद्दतले ३० रन जोड्दा कुशलले १५ रनको याेगदान दिएका थिए। पीएनजीसँगको दोस्रो खेलमा पनि आसिफ शेख र कुशल भुर्तेल नै ओपनिङमा उत्रिए। यो खेलमा भने यी दुवै मात्र तीन तीन रन जोड्दै आउट भए।

दोस्रो खेलमा खराब प्रदर्शन गरे पनि प्रशिक्षक ह्वाटमोरले आसिफ र कुशलको ओपनिङ जोडीलाई फेरेनन्। बरु दुई युवा खेलाडीलाई थप प्रोत्साहन दिए। किनकि प्रत्येक खेलाडीले हरेक खेलमा राम्रो प्रदर्शन गर्न सक्दैनन। यी दुई त झन युवा तथा भर्खर ओडीआई डेब्यू गरेका खेलाडी थिए।

टी-ट्वान्टीमा राम्रो खेल देखाए पनि ओडीआई फरक शैलिको क्रिकेट हो। टी-ट्वान्टी क्रिकेटको ब्याटिङमा हार्ड हिटिङ क्षमताले धेरै महत्व राख्छ भने ओडीआई क्रिकेटमा समयमित ब्याटिङ चाहिन्छ। त्यसैले दुई फरक शैलीमा भिज्न खेलाडीलाई समय लाग्छ।

जुन कुरा प्रशिक्षकले बुझेका छन्। त्यसैले आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अमेरिकासँगको पहिलो खेलमा पनि आसिफ शेख र कुशल भुर्तेलको नयाँ जोडीलाई नै उनले ओपनिङ जिम्मेवारी दिए।

आसिफ र कुशलको ओपनिङ जोडीको बारेमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, “उनीहरुले राम्रो खेलिरहेका छन्। त्यसैले हामिले उनीहरुलाई ब्याक अप गरिरहेका छौँ, प्रोत्साहन दिइरहेका छौँ।”

यसपछि अमेरिकासँगको खेलमा नेपालका लागि यी दुईले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरे।

नेपालको ५ विकेटको जितमा आसिफ शेखले २३ रन जोड्दा कुशल भुर्तेल शतक बनाउनबाट १६ रनले चुकेका थिए। प्लेयर अफ दी म्याच घोषित कुशलले ९३ बलमा ३ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ८४ रन जोडेका थिए। उनको एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक थियो।

२३१ रनको विजय लक्ष्य पछाउन यी दुईको सम्हालिएको ओपनिङ साझेदारीले महत्वपूर्ण भूमिका खेल्यो। किनकि विशेष गरी ठूलो लक्ष्य पछ्याउने क्रममा जति राम्रो ओपनिङ हुन्छ मध्य क्रमका ब्याट्सम्यानलाई लक्ष्य पूरा गर्न त्यति गाह्रो हुन्छ।

घरेलु टाेली ओमानविरुद्धकाे गएरातिकाे खेलमा पनि ओपनर आसिफ शेखले राम्राे प्रदर्शन गरे। कुशल शून्यमै आउट हुँदा पनि ओपनर शेखले ११२ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ९० रन बनाए।

टी-ट्वान्टी हुँदै ओडीआईसम्मको ओपनिङ

करिब नौ महिना अगाडि प्रशिक्षक ह्वाटमोर नेपाल आएपछि उनलाई नै आसिफ र कुशलको ओपनिङ जोडीलाई मैदान उतार्ने सोच आयो। नेपाली टिम हेरेपछि ओपनिङमा समस्या देखे लगत्तै प्रशिक्षकले नयाँ प्रयोग गरेका थिए।

यी दुईको यू-१९ टिम र घरेलु प्रतियोगिताको प्रदर्शनको आधारमा प्रशिक्षकले टी-ट्वान्टी टिममा नयाँ जोडी बनाए। पहिलो पटक गत वैशाखमा भएको टी-ट्वान्टी ट्राई नेसन्स सिरिजबाट यो जोडी अघि बढ्यो।

नेदरल्याण्डसबिरुद्धको पहिलो खेल मै यो जोडीले तहल्का मच्चायो। १३७ रनको लक्ष्य पछाएको नेपालको लागि यी दुईले पहिलो विकेटको लागि ११६ रनको साझेदारी गरे।

पहिलो अन्तर्राष्ट्रिय खेलमै दुवैले अर्धशतक पूरा गरे। कुशलले ६२ र आसिफले ५४ रन जोडेका थिए। यसपछि मलेसियासँगको दोस्रो खेलमा पनि कुशलले अविजित ६१ र आसिफले ४२ रन जोड्दा यो ओपनिङ जोडीले १०२ रनको शतकीय साझेदारी गर्‍यो।

सिरिजको तेस्रो खेलमा नेदरल्याण्डससँग आसिफ डक आउट भएपनि कुशलले ६२ रन जोडेका थिए। यसै खेलबाट टी-ट्वान्टी डेब्यू पछिको लगातार ३ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुशलले विश्व रेकर्ड राखेका थिए।

यसपछि सिरिजको चौथो खेलमा कुशल सस्तैमा समेटिदा आसिफले ४२ तथा फाइनल खेलमा आसिफ चल्न नसक्दा कुशलले सवार्धिक ७७ रन जोडेका थिए। यी दुई ओपनरको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले यो सिरिजकाे उपाधि जित्यो।

ओपनिङमा सधै प्रयोग
ओपनिङमा बारम्बारको प्रयोग र परिवर्तन नेपाली क्रिकेटको पुरानै समस्या हो। सन् २०१८ मा आईसीसीको एकदिवसीय (ओडीआई) मान्यता पाएपछिको पहिलो एकदिवसीय खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाहले आपनिङ गर्दा अर्को खेलमा ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले ओपनिङ जिम्मा लिएका थिए।

लगातार अर्को २ ओडीआई खेलमा ज्ञानेन्द्र र सुबासले ओपनिङ गरेपनि नेपालको शुरुवात जमिरहेको थिएन। अर्को खेलमा ज्ञानेन्द्रको ठाउँमा पुन अनिल कुमार शाहलाई ओपनिङ गराएर उनलाई तेस्रो क्रममा झारिएको थियो। तर यो जोडीले पनि लामो साझेदारी गर्न नसक्दा जोडी ३ खेलभन्दा बढी टिकेन।

नेपालले सन २०१९ को यूएईसँगको एकदिवसीय सिरिज २-१ ले जित्दा भने फेरि ज्ञानेन्द्रसँग विकेट किपर ब्याटस्म्यान विनोद भण्डारीले ओपनिङ सम्हाले। तर ३ खेल मध्ये मात्र एक खेलमा यी दुईको गतिलो साझेदारी हुनसक्यो।

गत वर्ष नेपालमै भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा ओमानविरुद्ध भने कप्तान ज्ञानेन्द्रसँग पूर्वकप्तान पारस खड्काले ओपनिङको प्रयास गरेका थिए। तर यो जोडी पनि फ्लप भयो। उक्त खेलमा मात्र ४ रनमा नेपालले दुवै ओपनर गुमाएको थियो।

बाँकी ३ खेलमा फेरि ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलको पुरानै ओपनिङ जोडी फर्कियाे। तर यो जोडीले पनि मात्र एक खेलमा बाहेक राम्रो शुरुवात दिन सकेन।

नपाली क्रिकेटको बलिङ पक्ष सधै राम्रो मानिन्छ, त्यसको ठीक उल्टो ब्याटिङ सधैको टाउको दुखाइको विषय हो। त्यसमा पनि जुनसुकै फर्माटमा नेपालको ओपनिङ पार्टनरसिप एकाध अवसर बाहेक खासै जम्ने गरेको छैन । त्यसैले बारम्बार नपालको ओपनिङ जोडीमा परीक्षण भइरहन्छ र जोडी पनि फेरिइरहन्छन्।

प्रशिक्षक ह्वाटमोरले औँल्याएको नयाँ ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले भने शुरुवाती संकेत राम्रो दिएका छन्। हालको प्रदर्शनलाई यी दुईले निरन्तरता दिन सके नेपाली क्रिकेटको ठूलो समस्या हल हुन सक्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved