त्रिकोणात्मक क्रिकेट सिरिज

जम्दैछ नेपालको ओपनिङ जोडी, ब्याटिङमा सुधारिएको प्रदर्शन

पूर्वकप्तान पारस खड्काको सन्यासपछि नेपालको मिडल अर्डरमा खाल्डो पर्ने अनुमान गरिएको थियो। तर उक्त ठाउँ रोहितले सम्हाल्ने संकेत गरेका छन्।

जम्दैछ नेपालको ओपनिङ जोडी, ब्याटिङमा सुधारिएको प्रदर्शन

काठमाडौं। कुशल भुर्तेल र रोहित कुमार पौडेलले शानदार ब्याटिङ गरेपछि आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अमेरिकासँगको पहिलो खेल नेपालले ५ विकेटले जितेको छ। अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेटमा नेपालको यो लगातार तेस्रो जित हो।

यसअघि नेपाल मै भएको लिग डिभिजन-२ अन्तर्गतकै खेलमा नेपालले अमेरिकालाई दुवै पटक हराएको थियोे। आईसीसीको एकदिवसीय (ओडीआई) मान्यता पाएयता अमेरिकाले नेपाललाई हराउन सकेको छैन।

नेपाल, अमेरिका र ओमान सम्मिलित यो त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले अन्तिम ६ बल खेल्नु अगाडि पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहित कुमार पौडेल दुवैले अर्धशतकीय पारी खेले।

खेलमा अमेरिकाले टस जित्दै पहिले ब्याटिङ गरेर ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो।

जम्दैछ नयाँ ओपनिङ जोडी
जवाफमा २३१ रनको विजयी लक्ष्य पाएको नेपालका ओपनरले उत्कृष्ट शुरुवात गरे। ओमानको यो सिरिजदेखि प्रशिक्षक डेभ ह्वाटमोरले एकदिवसीय क्रिकेटमा आसिफ शेख र कुशल भुर्तेलको नयाँ जोडीलाई ओपनिङ जिम्मेवारी दिएका थिए।

टी-ट्वान्टी क्रिकेटमा उत्कृष्ठ ओपनिङ खेल देखाएपछि एकदिवसीय क्रिकेटमा पनि ओपनिङको ठाउँ पाएका यी दुईले यता पनि जिम्मेवारी राम्रोसँग निभाए।

शुरुवात देखि नै सम्हालिएर ब्याटिङ गरेका यी दुईले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरे। शतक बनाउनबाट चुकेका कुशलले ९३ बलमा ३ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ८४ रन जोडेका थिए। टी-ट्वान्टी क्रिकेटका नेपालका आक्रामक ब्याटस्म्यान कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक हो।

त्यसैगरी, आसिफ शेखले २३ रन जोडे। त्यसपछि आाएका कप्तान ज्ञानेन्द्र मल्ल १७ रन मै पभेलियन फर्कँदा नेपाल ९३/२ को अवस्थामा थियो। कुशलले यसपछि रोहित कुमार पौडेलसँग मिलेर तेस्रो विकेटको लागि थप ५१ रनको साझेदारी निभाए। प्लेयर अफ दी म्याच घोषित कुशल सर्वाधिक ८४ रनमा आउट हुँदा ३३ औँ ओभरमा नेपाल ३ विकेटको क्षतिमा १४४ रनको अवस्थामा थियो।

रोहितको शानदार प्रदर्शन जारी
कुशल भुर्तेलको इनिङलाई रोहित कुमार पौडेलले निरन्तरता दिए। कुशल मल्ल १ रनमा नै आउट भएपनि रोहित कुमार पौडेल र विकेट किपर ब्याटस्म्यान विनोद भण्डारीले पाँचौँ विकेटका लागि ८३ रनको लामो साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। विनोद भण्डारीले ३७ रन जोडेका थिए। रोहितले भने ८७ बलमा ३ छक्का र २ चौकाको मद्दतले अविजित ६२ रनको योगदान दिए।

रोहितको एकदिवसीय क्रिकेटमा यो लगातार दोस्रो अर्धशतक हो। यसअघि पीएनजीसँगको २ खेलमा पनि रोहितले उत्कृष्ट ब्याटिङ गरेका थिए। एकदिवसीय क्रिकेटमा नेपालका लागि लगातार दुई खेलमा अर्धशतक बनाउने रोहित पहिलो ब्याटस्म्यान हुन। पूर्वकप्तान पारस खड्काको सन्यासपछि नेपालको मिडल अर्डरमा खाल्डो पर्ने अनुमान गरिएको थियो। तर उक्त ठाउँ रोहितले सम्हाल्ने संकेत गरेका छन्।

ओमानको अल अमिरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँगको पछिल्लो खेलमा उतारेको टिम नै अमेरिकाविरुद्ध उतारेको थियो।

अमेरिकाका मोनान्क पटेलको शतक
खेलमा टस जित्दै पहिले ब्याटिङ गरेको अमेरिकाविरुद्ध चौंथो ओभरमै बिक्रम सोबले नेपाललाई ब्रेक थ्रू दिलाएका थिए। अमेरिकाका ओपनर स्टेभेन टेलर १४ रनमा बिक्रमको बलमा कुशल भुर्तेलद्धारा क्याच आउट भए। १७ रनमै पहिलो विकेट गुमाएको अमेरिकाले यसपछि केही सम्हालिएर खेल्ने प्रयास गर्‍यो।

तर अमेरिकाका सुशान्त मोदानी र मोनान्क पटेलको साझेदारीलाई नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले लम्बिन दिएनन्। दशौँ ओभरमा आएका सन्दीपले विकेट मेडन राख्दै अर्का ओपनर सुशान्त मोदानीलाई पहिलो ओभरमै एलबीडब्ल्यू धरापमा पारे र ४७ रनमा अमेरिकाको दोस्रो विकेट खस्यो।

त्यसपछिका ब्याटस्म्यान पटेलले भने शतकीय पारी खेल्दै अमेरिकाको इनिङलाई उकासेका थिए। उनले बिक्रम सोबको बलमा आउट हुनु अगाडि ११४ बलमा १ छक्का र ९ चौकाको मद्दतले १०० रन जोडे। मोनान्कबाहेक अमेरिकाको लागि अन्य ब्याटस्म्यानले खासै गतिलो स्कोर बनाउन सकेनन्।

बलिङतर्फ सन्दीप लामिछाने, सुसन भारी र बिक्रम सोबले दुइ दुई विकेट लिएका थिए।

यो जितपछि आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को अंक तालिकामा नेपाल ५ खेलमा ३ जित पश्चात् ६ अंकसहित छैटौँ स्थानमा कायमै छ। १३ खेलबाट १२ अंक रहेको अमेरिका दोस्रो स्थानमा छ।

सात टिम रहेको लिग डिभिजन-२ मा ओमान १० खेलबाट १६ अंक जोड्दै पहिलो स्थानमा छ। अब दोस्रो खेलमा नेपालले आज मंगलबार ओमानसँग भिड्दैछ।

यसअघि लिग डिभिजन-२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमनसँग दुई खेल खेलिसकेको छ। जसमा दुवै खेलमा नेपाल पराजित भएको थियो।

लिग डिभिजन-२ मा रहेका ७ टिममध्ये प्रत्येक टिमले राउण्ड रोविन लिगका आधारमा ९ सिरिज मार्फत ३६/३६ खेल खेल्नेछन्।
यो लिग डिभिजन-२ बाट शीर्ष स्थानमा रहने ३ टिमले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको लागि छनोट खेल खेल्न पाउनेछन्। २०२३ को एकदिवसीय विश्वकप भारतमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved