एलएलबी तहका लागि आवेदन फारम बुझाउने म्याद थप

नेपालभ्युज

एलएलबी तहका लागि आवेदन फारम बुझाउने म्याद थप

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा एलएलबी तहका लागि आवेदन फारम बुझाउने म्याद फेरि थपिएको छ। यो तेस्रो (अन्तिम) पटक सूचना प्रकाशित भएको त्रिविले जनाएको छ।

क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले लगाएको तालाबन्दीका कारण निर्धारित अवधिभित्र प्रवेश परीक्षाको आवेदन फारम बुझाउन नपाएका इच्छुक विद्यार्थीलाई ध्यानमा राखी फारम बुझाउने म्याद थपिएको क्यापस प्रशासनले जनाएको छ। प्रशासनले सूचना जारी गर्दै २८ भदौ देखि ५ असोजसम्म म्याद थप गरेको जनाएको हो।

आर्थिक वर्ष २०७६/०७७ को प्रवेश परीक्षाका लागि समावेशी कोटासहित त्रिविले विद्यार्थी सिट संख्या ६०० जनाका लागि फारम खुलाएको हो। क्याम्पसको यससम्बन्धी पहिलो सूचना ८ साउनमा प्रकाशित भएको थियो। जसमा ८ भदौसम्म फारम बुझाउने अवधि राखिएको थियो।

सूचनामा १६ असोजमा बिहान ८ बजेदेखि ११ बजेसम्म प्रवेश परीक्षा हुने उल्लेख गरिएको छ। प्रवेश परीक्षाको केन्द्रसम्बन्धी सूचना अर्को पटक उल्लेख गरिने क्याम्पस प्रशासनले जनाएको छ।

आज (सोमबार) विद्यार्थी संगठनहरूले विभिन्न माग राखी लगाएको तालाबन्दी खुलाउन प्रशासन सहमत भएको हो।

क्याम्पस प्रशासनले विद्यार्थी संख्या वृद्धि गर्न र शैक्षिक जनशक्ति तथा पूर्वाधारका लागि सरोकारवाला निकायसँग आवश्यक पहल गर्ने सहमति गरेको छ। त्यस्तै नेपाल ल क्याम्पसमा सञ्चालित निजी स्रोतबाट सञ्चालन हुँदै आएको बिएएलएलबी कार्यक्रम नियमित कार्यक्रममा समावेश गर्न आवश्यक पहल गर्ने भनिएको छ।

संयुक्त विद्यार्थी संगठनले क्याम्पसको डिनको कार्यालयमा ७ भदौमा ताला लगाएको थियो। संगठनले बुझाएका नौबुँदे ज्ञापन पत्रबारे प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरूले अनिश्चितकालीन तालाबन्दी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved