महिला फुटबल टिम उज्वेकिस्तान जाँदै

नेपालभ्युज

महिला फुटबल टिम उज्वेकिस्तान जाँदै

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिम सोमबार राति उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ। एएफसी महिला एशिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्न महिला टिम सोमबार राति उज्वेकिस्तान जान लागेको हो।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेको छ। नेपाली टिमलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले बिदाई गरे। प्रतियागिताका लागि नेपाली प्रशिक्षक ग्यारी फिलिप्सले सात युवा खेलाडी सहितको टोली यसअघि नै घोषणा गरिसकेका छन्।

जसमध्ये पाँच जना खेलाडीले राष्ट्रिय टिमबाट डेब्यू गरिसके। २३ सदस्यीय नेपाली टोलीमा रहेकी डिफेन्डर पुनम मगर भने उज्वेकिस्तान नजाने भएकी छन्। उनको मुटुमा समस्या देखिएपछि २२ खेलाडी मात्र उज्वेकिस्तान जाँदै छन्।

नेपाली टिमले आफ्ना स्टार स्टाइकर सावित्रा भण्डारी (साम्बा) लाई पनि यो प्रतियागितामा ‘मिस’ गर्नेछ। साम्बा हाल घुँडाको चोटको शल्यक्रियापछि आराम गरिरहेकी छन्। उनी कतारमा छिन्। गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा उनको घुँडामा चोट लागेको थियो।

एशियन कप छनोटका लागि नेपाल ६ हप्तादेखि तयारीमा छ। छनोटको तयारीस्वरूप यसै हप्ता नेपालले बंगलादेशसँग दुई वटा अभ्यास खेल खेलेको थियो। जसमा पहिलो खेल नेपालले २-१ गोल अन्तरले जित्दा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।

एशिया कप छनोट प्रतियागितामा नेपाल ग्रुप ‘एफ’मा छ। यो समूहमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। नेपालले आउँदो २ असोजमा फिलिपिन्स र ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

तुलनात्मक रूपमा बलिया यी दुई प्रतिद्वन्द्वीसँग नेपालको भिडन्त त्यति सहज भने नहुने देखिन्छ। फिफा वरीयतामा नेपाल यी देशभन्दा निकै तल छ। नेपाल १०१ औं स्थानमा रहँदा हङकङ ७६ औं र फिलिपिन्स ६८ औं स्थानमा छन्।

छनोट प्रतियागितामा आफ्नो समूहको शीर्ष स्थानमा स्थान बनाउन सके नेपालले सन् २०२२ को एशिएन कप फुटबल खेल्न पाउने छ। सन् २०२२ को एशिएन कप आउँदो जानवरीमा भारतमा आयोजना हुँदै छ।

कोभिडका कारण करिब दुई वर्षपछि नेपाली टिम मैदानमा फर्किएको हो। अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा पोखरामा भएको दक्षिण एशियाली खेलकुदको महिला फुटबलतर्फ नेपालले फाइनल खेलेको थियो।

नेपाली महिला राष्टिय फुटबल टिमले यसअघि तीन पटक एशियन कप फुटबल प्रतियागिता खेलिसकेको छ। तर सन् २००० अगाडि खेलिएका ती सबै खेलमा नेपालको यात्रा समूह चरणसम्मको मात्र थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved