स्पन्ज आइरनमा शून्य भन्सारले डण्डीको मूल्य घट्छ ?

४२ अर्बको आयात घट्ने, २ खर्ब लगानी थपिदै

डण्डी स्पन्ज आइरन र स्टील बिलेटबाट निर्माण हुन्छ। स्टील बिलेटबाट फलामे डन्डी बनाउदा प्रतिटन ५ हजार लागत लाग्नेमा स्पन्ज आइरनबाट बनाउँदा लागत ३ हजारले घट्छ, जसकारण यसले उद्योगको लागत पनि घटाउँछ।

नेपाल भ्युज

स्पन्ज आइरनमा शून्य भन्सारले डण्डीको मूल्य घट्छ ?

काठमाडौं। फलामे छड (डण्डी) उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा सरकारले पूर्ण भन्सार छूट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार शून्यमा झारिएको छ।

स्वदेशी डण्डी उत्पादक उद्योगको प्रवद्र्धनका लागि आयातित बिलेटको अन्तरशुल्क ५२ प्रतिशतले वृद्धि गर्दै सरकारले नेपालमै उत्पादन हुने बिलेट वा फलामजन्य वस्तुको अन्तरशुल्क पनि हटाएको छ। यसअघि बिलेट आयातमा प्रतिटन १ हजार ६५० रुपैयाँ अन्तरशुल्क लाग्दै आएकोमा उक्त शुल्क बढाएर २ हजार ५ सय रुपैयाँ पुर्याइएको हो।

नेपालमा उत्पादन हुने स्टील र फलाममा प्रतिटन १ हजार ६५० रुपैयाँ नै अन्तशुल्क लाग्दै आएकोमा सरकारले त्यसमा पूर्ण सहुलियत दिएको छ। सरकारको यो नीतिले नेपालमै डण्डी उत्पादन गर्ने उद्योगलाई ठूलो राहत मिलेको छ। यसले उद्योगलाई ठूलो राहत दिएको र उद्योगमा लगानी पनि बढ्ने प्रक्षेपण उद्योगीहरूको छ।

नेपाल स्टील बिलेट संघका अध्यक्ष समेत रहेका सर्वोत्तम स्टीलका सञ्चालक विष्णु न्यौपानेले नयाँ व्यवस्थाले उद्योगमा २ खर्ब रुपैयाँ लगानी थप्ने बताए। ‘‘रोलिङ उद्योगले आफूलाई अपग्रेड गर्दा र सञ्चालित उद्योगको लगानी थपिदा उद्योगमा करिब २ खर्ब लगानी बढ्छ, यसले ठूलो संख्यामा रोजगारी पनि सिर्जना गर्छ’’, उनले भने।

हाल नेपालमा २६ मध्ये ९ वटा उद्योगले स्पन्ज आइरनबाट डण्डी उत्पादन गरिरहेका छन्। २ उद्योगले प्रक्रिया अघि बढाइसकेका छन्। न्यौपानेका अनुसार यसले ४२ अर्ब रुपैयाँको आयात घटाउनेछ। स्टील बिलेटबाट डण्डी बनाउन रोलिङमा करिब २ अर्बको फर्नेन्स तेल आवश्यक पर्नेमा उक्त तेलसहित ४० अर्बको बिलेटको आयात यसले घटाउने उनले बताए।

ढुङ्गालाई कुटेर गिट्टी बनाए जस्तै आइरन भएको ढुङ्गाको गिट्टीलाई स्पोन्ज आइरन भनिन्छ। यो गिट्टी जस्तै हुन्छ र ५० किलोको बोरामा आयात हुन्छ। हाल आयात हुने स्टील बिलेट पनि यसैबाट बन्छ।

स्पन्ज आइरन भनेको काँचो फलाम हो, आइरनलाई १६०० डिग्रीमा पगालेपछि स्टील बिलेट बन्छ। डण्डी स्पन्ज आइरन र स्टील बिलेटबाट निर्माण हुन्छ। स्टील बिलेटबाट फलामे डन्डी बनाउदा प्रतिटन ५ हजार लागत लाग्नेमा स्पन्ज आइरनबाट बनाउँदा लागत ३ हजारले घट्छ, जसकारण यसले उद्योगको लागत पनि घटाउँछ।

स्टील बिलेटबाट डण्डी बनाउँदा प्रतिटन १ सय युनिट मात्रै बिजुली खपत हुने गरेकोमा स्पन्ज आइरनबाट बिलेट बनाउँदा बिजुलीको खपत पनि वृद्धि हुन्छ। स्पन्ज आइरनबाट बिलेट बनाउँदा करिब प्रतिटन १ हजार युनिट बिजुली खपत हुने हुँदा यसले मुलुकमा उत्पादित बिजुलीको खपत पनि बढाउँछ। नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित बिजुली बिक्रीको बजार खोजिरहेको बेला स्वदेशमै यसले बजार पाउने उद्योगीहरू बताउँछन्।

सरकारको नयाँ नीतिले उपभोक्तालाई फाइदा हुने उद्योगीहरू बताउँछन्। यसले डण्डीको मूल्य घटेर अहिलेको भन्दा सस्तोमा पाउने उनीहरू बताउँछन्। हाल नेपालमा डण्डीको मूल्य प्रतिकिलो ८१ रुपैयाँ रहेको छ। नयाँ नीतिसँगै तत्काल डण्डीको मूल्य ५ प्रतिशतसम्म र यो वर्ष १२ प्रतिशतसम्म घटाउने नेपाल स्टील बिलेट संघका अध्यक्ष न्यौपानेले बताए।

हाल नेपालमा सर्वोत्तम स्टील, जगदम्बा स्टील, अम्बे स्टील, अशोक स्टील, नारायणी स्टील, पशुपति आइरन, हाइपेड आइरन, जय अम्बे स्टील र हुलास स्टील गरेर ९ वटा उद्योगले स्पन्ज आइरनबाट डण्डी उत्पादन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved