संसद् बैठकमा रस्साकस्सी

सभामुखले राखे सर्वदलीय बैठक, १४ सांसदको कारबाही एमाले ‘बटमलाइन’

एमालेका प्रमुख सचेतक विशालले भट्टराईले भने, ‘‘हाम्रो माग १४ सांसदलाई कारबाही गरेको सूचना आउनुपर्यो भन्ने हो। त्यो सूचना नआएसम्म सदनमा अवरोध जारी रहन्छ।”

नेपाल भ्युज

सभामुखले राखे सर्वदलीय बैठक, १४ सांसदको कारबाही एमाले ‘बटमलाइन’

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध पारेपछि सभामुख सापकोटाले आज दिउँसोका लागि बैठक बोलाएका हुन्।

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना नटाँसेर सभामुख सापकोटाले विभाजनलाई सघाएको आरोप लगाउँदै एमालेले निरन्तर संसद बैठकमा विरोध तथा नाराबाजी गरिरहेको छ। एमालेले त्यसविषयमा सभामुखले चित्तबुझ्दो कदम नचाले बैठक चल्न नदिने बताउँदै आएको छ।

सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना नदिएसम्म एमालेले संसदमा अवरोध जारी राख्ने बताएको छ। यही परिवेशमा सभामुख सापकोटाले आज दिँसो साढे २ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

आजको बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई बोलाएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। सर्वदलीय बैठकमा संसद्मा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको सर्वदलीय बैठकमा को जाने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताए। नेपाल भ्यूजसँग कुरा गर्दै भट्टराईले एमाले आफ्नो मागमा अडिग रहेको र त्यसमा कुनै सम्झौता नहुने पनि प्रष्ट पारे।

‘‘आजको बैठकमा को जाने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलमै छौँ”, आजको बैठकपछि संसद चल्न दिनुहुन्छ भन्ने नेपाल भ्यूजको प्रश्नमा भट्टराईले भने, ‘‘हाम्रो माग १४ सांसदलाई कारबाही गरेको सूचना आउनुपर्यो भन्ने हो। त्यो सूचना नआएसम्म सदनमा अवरोध जारी रहन्छ।”

संसद् बैठककै समयमा पनि सभामुख सापकोटाले एमालेलाई निरन्तर संवाद र सहमतिमा आउनका लागि आग्रह गरेका थिए। तर, एमालेले सभामुखको कदम नसच्चिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जारी राख्यो। विरोधकै बीचमा सभामुख सापकोटाले दल विभाजनसम्बन्धी अध्यादेश र बजेटको प्रतिस्थापन विधेयक संसद्मा पेस गराएका छन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved