काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसी पास गर्नुपर्ने बताएका छन्।
एमसीसी पारित गराउन संसदभित्र र बाहिरका सबै दलबीच सहमति गराउनुपर्ने उनको भनाइ थियो। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एमसीसी सहयोग अनुदान भएकाले यसले देशलाई फाइदा नै हुने पनि विश्वास दिलाए। एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको उनले बताए।
सन् २०१७ देखि आजसम्म एमसीसीबारे विभिन्न भ्रम रहेको भन्दै यसबारे आफूहरूले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले बताए।
त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारे। सत्तासीन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाइ छ।