गाविस सचिवसहित सात जनाविरुद्ध सात वर्षपछि मुद्दा दायर

नेपालभ्युज

काठमाडौं। दशैं खर्च, परिषद् खर्च भनी १ महीनाको तलब थप लिने गरेका तनहुँ जिल्ला, घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित सात जनाविरुद्ध सात वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आव २०७०/०७१ र २०७१/०७२ विभिन्न शीर्षकमा १ लाख ४७ हजार ३ सय ६४ रुपैयाँ ७५ पैसा बराबरको सरकारी रहम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकाले ७ जनालाई सजाय गर्न अख्तियारले आइतबार विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ।

दशैं खर्च, परिषद् खर्च भनी १/१ महीनाको तलब थप लिनेदेखि परिषद्को निर्णयबिना आर्थिक सहायता दिने गरेको, कन्सल्टेन्ट नियुक्तिपछि पहिलेदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवदेनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको भन्ने उजुरी अख्तियारमा परेको थियो।

सो उजुरीमाथि छानबिन गर्दा साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेले १ लाख ४७ हजार ३ सय ६४ रुपैयाँ ७५ पैसा बिगो गरेको पाइएको अख्तियारको आरोप पत्रमा छ।

साथै तत्कालीन जिल्ला प्राविधिक कार्यालय तनहुँका तत्कालीन इन्जिनियर शुकदेव अधिकारीले ६३ हजार ७ सय ५० रुपैयाँ, तत्कालीन इन्जिनियर तीर्थराज ढुंगानाले ७२ हजार २ सय ५० रूपैयाँ, तत्कालीन जिल्ला विकास समितिको विकास समितिको कार्यालय तनहुँका योजना अधिकृत गणेश घिमिरेले ६३ हजार ७ सय ५० रुपैयाँ, अधिकृत ऋषिभक्त वाग्लेले ७२ हजार २ सय ५० रूपैयाँलगायत रजिस्टर लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालले सरकारी रकम हिनामिना गरेको पाइएको अख्तियारको दाबी छ।

भष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा(१) बमोजिम सजाय गरी उक्त रकम असुल उपर गर्नसमेत मागदाबी  विशेष अदालतमा बुझाएको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved