काठमाडौं । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुरु हुने भएको छ। समता फाउण्डेशनले निर्माण गरेको यो कार्यक्रमको दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि शुरु हुने भएको हो।
फाउण्डेशनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको जनाएको छ।
कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, संगीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरीले सञ्चालन गर्नेछन्।
दोस्रो सिजन १२ अंकको हुने जनाइएको छ। निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने कार्यक्रममा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउण्डेशनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन्।
फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले भने कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि भएको बताए। “दलित प्रतिरोधका गाथा हुन्। यो प्रतिरोधमा गैरदलित सहानुभूतिको अन्तरघुलनले जात व्यवस्थालाई चुनौती दिँदै स्वयंले पाएको सुविधा र विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउनेछ।”