पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

नेपाललाई सिरिज, सन्दीप एक्लैको ६ विकेट

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पीएनजीको पारीलाई ध्वस्त पारे।

नेपालभ्युज

नेपाललाई सिरिज, सन्दीप एक्लैको ६ विकेट

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको क्रिकेट सिरिज जितेको छ। नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज २० ले आफ्नो पक्षमा पारेको हो।

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पीएनजीको पारीलाई ध्वस्त पारे। उनले ३१ बल बलिङ गर्दै मात्र ११ रन खर्चिए। लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो। यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए।

नेपालले पीएनजीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा उसले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक/एक विकेट लिए।

त्यसअघि, नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो। संकटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले उठाएका थिए।

पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगफल तयार गरे। सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हिर्काए। केसीले विस्फोटक ब्याटिङ गर्दै २६ बलमा ४२ रन बनाए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए। बलिङतर्फ पीएनजीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई/दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए।

यसअघि, पहिलो एकदिवसीय खेलमा नेपालले पीएनजीलाई दुई विकेटले पराजित गरेको थियो।

नेपालले अब सोमबारदेखि आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ। आगामी असोज ४ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved