काठमाडौं। प्रतिस्थापन विधयेकमार्फत सरकारले आज बजेटको आकार घटाएको छ। पटक पटक प्रमुख प्रतिपक्षीले सदन अवरुद्ध पारे पनि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्।
कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ (२३.१६) प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६) प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२) प्रतिशत बजेट छुट्याइएको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौं अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्।
सरकारले दीर्घ रोगीलाई मासिक रूपमा खर्च रकम दिने भएको छ। मिर्गौला प्रत्यारोपण गरेका क्यान्सर र हृदयघात बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले सरकारले खर्च उपलब्ध गराउने भएको छ। यस्तै सरकारले नेपालको व्यापार घाटा काम गर्ने कार्ययोजना तीन महिनाभित्र निर्माण गर्ने भएको छ।
प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिए।
शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो। जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन्।