काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्को आजको बैठक अवरुद्ध पारे पनि सभामुख अग्नि सापकोटाले संसद्लाई कार्यसूचीमा प्रवेश गराए।
संसद्को पहिलो बैठक शुरु हुनुअगावै रोष्टम घेरेका नेकपा एमालेका सांसदले नाराबाजी गरे संसद् चल्न अवरोध गरिरहेका थिए। तर एमाले सांसदले नाराबाजी गरे अर्थमन्त्री जनार्दन शर्माले संसद्मा राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश प्रस्तुत गरे।
एमालेको नाराबाजीबीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएका थिए। उनले भने प्रतिपक्षको नाराबाजीबीच विरोधको सूचना पेश नगर्ने बताएका थिए। लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए।
सांसद सुवालले आज संसद्मा के भने ?
मैले त्यो प्रस्ताव फिर्ता लिएको होइन, किन भन्दा मैले अस्वीकारलाई पेस गर्नलाई वातावरण तयार गरिपाऊँ भनेर अग्रह गरेको थिएँ। त्यसकारण मेरो त्यो प्रस्ताव पेस गर्न पाउनुपर्छ सभामुख महोदय। मैले त्यो अस्वीकार पेस गर्नै नपाइकन त्यो प्रस्तावलाई अघि बढाउनु मेरो विचारमा त्यो संसदीय मर्यादा र संसदीय नियमावलीभित्र पर्दैन सभामुख महोदय। मैले त्यो अस्वीकार प्रस्तावलाई पेस नगर्ने भनेको होइन, वातावरण तयार गरिपाऊँ भनी आग्रह गरेको थिएँ।
सभामुख महोदय, एमसीसी सम्झौता हिन्द प्रशान्त क्षेत्रमा हुने अमेरिकी सैन्य गठबन्धन हो। माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईले सम्झौताको आधार तयार गर्नुभयो, त्यसपछिका प्रधानमन्त्रीले अगाडि बढाउनुभयो। अमेरिकी रक्षा विभागको हिन्द प्रशान्त अवधारणा र हिन्द प्रशान्त रणनीति प्रतिवेदनमा एमसीसी सैन्य गठबन्धन भएको र हिन्द प्रशान्त क्षेत्रका देशहरूमा एमसीसीमार्फत् आर्थिक सहयोग हुने र एशियामा यसमा मुख्य साझेदार भारत हुने उल्लेख छ। यसलाई तत्कालीन राष्ट्रपति ट्रम्प, विदेश सहायक मन्त्री जोसेफ एच फिल्टर, विदेश राज्यमन्त्री एलिस जी वेल, तत्कालीन विदेशमन्त्री पम्प वे, हिन्द प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमाण्डर फिलिप डेभिडसन, अमेरिकी विदेश सहायक राज्यमन्त्री डेभिड जेरेन्ज, अमेरिकी राजदूत रेन्डी बेरीले स्वीकार गर्नुएको हो।
एमसीसी सम्झौताले एशियामा युद्ध थोप्नेछ भने विश्वमै अशान्ति मच्चाउनेछ। अमेरिकाले एशियालाई हतियार बेच्ने थलो बनाउनेछ। सभामुख महोदय, एमसीसी सम्झौता सैन्य गठबन्धन नभएको अमेरिकी अधिकारीहरूको दाबी बाघले आफूलाई शाकाहारी दाबी गरे जस्तै हो। मिति नाघेको खाद्यान्न अर्थात् विशालु भैसकेको खाद्यान्नमा रिलेबलिङ गर्नु जस्तै हो। नेपाल सरकारले गठन गरेको एमसीए कार्यालयमा जलविद्युत् माफिया र अमेरिकी साम्राज्यवादका दलालहरू नियुक्त गरिएको दूधको साक्षी बिरालो जस्तै हो। अहिले हिन्द प्रशान्त क्षेत्रमा तीन लाख ७५ हजार अमेरिकी सेना तैनाथ गरिएको छ। यहाँका ९० ठाउँमा अमेरिका संलग्न भएको संयुक्त युद्ध अभ्यास भइरहेको छ। संसारको ७० भन्दा बढी देश र ८ सय भन्दा बढी ठाउँमा अमेरिकी सैन्य अखडा छन्। दक्षिण कोरिया, जापान, इराक, लिबिया, सिँगापुर, कतार, फिलिपिन्स, साउँदी अरेबियादेखि भारतको विशाखापटनमसम्म अमेरिकी सैन्य अखडा विस्तार गरिएको छ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरिएपछि नेपालमा पनि अमेरिकी सैन्य अखडा राखिनेछ र नेपाल अमेरिकाको ९ औँ उपनिवेश हुनेछ। सभामुख महोदय, आर्थिक सहयोग र सहायताका नाममा अमेरिका जहाँ जहाँ पुग्योे ती देशहरू ध्वस्त भएको पछिल्लो उदाहरण अफगानिस्तान हो। यसकारण म फेरि पनि सभामुख महादेयसँग के आग्रह गर्न चाहन्छु भने यो प्रतिनिधि सभामा मेरो अध्यादेशलाई अस्वीकार गर्ने सूचनालाई वातावरण तयार गरेर रोष्टमबाटै वाचन गर्ने व्यवस्थाका लागि म फेरि आग्रह गर्न चाहन्छु। धन्यवाद।