काठमाडौं । एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ। भेटका क्रममा अध्यक्ष ओलीले सत्ताधारी गठबन्धनले स्पष्ट धारण दिएपछि मात्र यसबारे ठोस निर्णय दिने बताएका छन्।
नेपालभ्यूजसँग संक्षिप्त कुराकानी गर्दै एमाले नेता डा राजन भट्टराईले भने, “हामी अहिले अपोजिसनमा छाैं। तपाईंहरूलाई पनि थाहा छ, एमालेले सरकारमा यसप्रति कस्तो धारणा बनाएको थियो? सत्ता र प्रतिपक्षमा हुँदा फरक पर्छ नि।”
सुमारसँगको भेटका क्रममा ओलीले एमालेले अहिले नै यही निर्णय गर्छ भन्ने कुनै निर्णय नभएको नेता भट्टराईले बताए। एमसीसीलाई अमेरिकाले जतिसक्दो चाँडो पास गराउन खोजेको र यो चाँडै नै अघि बढोस् भन्ने चाहना आजको बैठकमा राखेको पनि भट्टराईले बताए।
आज दिउँसो २ बजे ओलीकै निवास भक्तपुरको बालकोटमा दुई बीच भेटवार्ता भएको हो। भेटघाटमा एमालेका भट्टराई, नेता विष्णु रिमाललगायत सहभागी थिए।
एमसीसी अनुदान सम्झौतामाथि नेपालले स्पष्ट धारणा बनाउन नसक्दा र दलीय गठबन्धनबीच सहमति नबढ्दा यसमा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन्। उनी आज बिहान नेपाल आइपुगेकी हुन्।
ओलीसँगको भेटपछि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। आजै साँझ उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भेट्ने कार्यक्रम तय भएको जनाइएको छ।