सभामुखको कदमप्रति एमालेको आपत्ति, संसद् बैठक अवरुद्ध

नेपालभ्युज

सभामुखको कदमप्रति एमालेको आपत्ति, संसद् बैठक अवरुद्ध
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ। एमालेले कारबाही गरेका सांसदको पद कायम गरेर बैठकमा उपस्थिति दिइएको भन्दै एमलोले सदन अवरुद्ध गरेको हो।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक प्रारम्भ भएपछि राष्ट्रपतिबाट प्राप्त भएको अधिवेशन आह्वानको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाए । त्यसपछि नवौँ अधिवेशनमा उपस्थित सांसदलाई स्वागत गर्ने क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले उठेर बिरोध जनाएका थिए ।

बैठकको सुरुवातमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सम्बोधन गर्दै एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटा लागेको र उक्त विषयमा उचित जवाफ नआए संसद चल्न नदिने बताए।

निर्वाचन आयोग, सभामुख सापकोटा दुवै मिलेर एमाले विभाजन गराएको भन्दै भट्टराईले चित्तबुझ्दो जवाफ नआए बैठक चल्न नदिने बताएका हुन्। उनले भने, ‘‘संविधान, नियम, नीति, विधि सबै उल्लंघन गरेर जेजस्ता काम गरिए हामीले त्यसको जवाफ संसदबाट खोजेका छौँ, सभामुखबाट खोजिरहेका छौँ, अदालतबाट खोजिरहेका छौँ।”

एमालेले विधिपूर्वक कारबाही गरेर संसद्मा जानकारी गराएको भए पनि सभामुख सापकोटाले विभाजनलाई सघाउने उद्देश्यले रोकेको भट्टराईले आरोप लगाए। भट्टराईले भने, ‘‘दलीय व्यवस्थामा दलको अनुशासनको कारबाही गर्ने जिम्मा दललाई दिएको छ। हामीले कारबाही गरेको सूचना कहीँ आएन।”

सभामुख सापकोटाले नियमावली देखाएर पन्छिन खोजेको भन्दै भट्टराईले एउटै नियमावली एमालेको हकमा मात्रै अलग हुने हो भन्दै प्रश्न गरे। उनको प्रश्न थियो, ‘‘संसद्को नियमावली नकेपा माओवादी केन्द्रको हकमा मात्रै कार्यान्वयन हुन्छ कि, जनता समाजवादी पार्टीको हकमा मात्रै कार्यान्वयन हुन्छ कि एमालेको हकमा पनि हुन्छ ?’’

भट्टराईको सम्बोधन सकिएसँगै सभामुख सापकोटाले जवाफ दिँदै नियमावलीको प्रावधान सम्झाएका थिए। तर एमालेले विरोध गरेपछि संसद बैठक अवरुद्ध भएको छ। त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved