नेपाल-बंगलादेश महिला अन्तर्राष्ट्रिय फुटबल

साम्बाबिनै बंगलादेशविरुद्ध महिला फुटबल टिम

नेपालले केही युवा खेलाडीलाई मौका दिँदै २३ सदस्यीय टिम घोषणा गरिसकेको छ। जसमा ७ खेलाडीले पहिलो पटक राष्टिय टिममा स्थान पाएका हुन्। नेपाली महिला टिम गत ६ हप्तादेखि एसिएन कप छनोट प्रतियागिताको तयारीमा छ।

नेपालभ्युज

साम्बाबिनै बंगलादेशविरुद्ध महिला फुटबल टिम

काठमाडौं। नेपाली महिला राष्टिय फुटबल टिमले बिहीबार बंगलादेशसँग दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ।

महिला फुटबल टिम अर्को हप्ता उज्वेकिस्तानमा हुने एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। सो प्रतियागिताको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशी महिला फुटबल टिमलाइ मैत्रीपूर्ण खेलको लागि बोलाएको हो।

बुधबार नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले भने, “यस्तो माहामारीमा अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु ठूलो कुरा हो, चोटका कारण केही राम्रा खेलाडी बाहिरिए, तर अहिले टिम राम्रो फर्ममा छ।”

नेपालले केही युवा खेलाडीलाई मौका दिँदै २३ सदस्यीय टिम घोषणा गरिसकेको छ। जसमा ७ खेलाडीले पहिलो पटक राष्टिय टिममा स्थान पाएका हुन्। नेपाली महिला टिम गत ६ हप्तादेखि एसिएन कप छनोट प्रतियागिताको तयारीमा छ।

उता बंगलादेशको टिममा पनि युवा खेलाडी नै बढी छन्। “हाम्रो टिममा प्रायः खेलाडी १६ देखि १८ उमेर समूहका छन्। जसमध्ये ८ खेलाडी बंगलादेशका उत्कृष्ट खेलाडी हुन्। हाम्रो तयारी राम्रो छ, नेपालसँग प्रतिस्पर्धात्मक खेल हुने आशा छ”, बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोतानले बताए।

दशरथ रंगशालामा हुने खेलमा नेपाली टिम आफ्ना स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना मैदानमा उत्रँदै छ। सावित्रा हाल घुँडाको चोटको उपचारका लागि कतारमा छिन्। शल्यक्रियापछि कतार हस्पिटलमा आराम गरिरहेकी सावित्रा यो टिममा उपलब्ध हुन सकिनन्। साम्बा पूर्ण रूपमा ठिक हुन अझ केही समय लाग्ने बताइएको छ।

साम्बा नेपालकी मात्र होइन दक्षिण एसियाकै उत्कृष्ट महिला स्ट्राइकरमध्येकी एक हुन्। सन् २०१४ मा डेब्यू गरेयता राष्ट्रिय फुटबल टिमबाट उनले ३४ खेलमा ३८ गोल गरेकी छन्। सन् २०१६ को साफ महिला च्याम्पियनसिपमा साम्बा एक्लैले भुटान र माल्दिभ्सविरुद्ध दोहोरो ह्याट्रिक (६ गोल) गरेकी थिइन्।

उनलाई मेस्सीसँग तुलना गर्दै नेपालका प्रशिक्षक फिलिप्स भन्छन, “साम्बा टिममा नहुनु हाम्रो लागि ठूलो क्षति हो। जस्तो मेस्सीबिना अर्जेन्टिना र मार्ताबिना ब्राजिलको महिला फुटबल टिम हुन्छ, उनको अभाव त्यस्तै खड्किन्छ।” फिलिप्सले थपे, “तर यो ग्रुप गेम हो, उनको पोजिसन अर्को खेलाडीले समाल्नेछिन्।”

बंगलादेशका प्रशिक्षक छोतानले पनि दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित साम्बा नहुनु आफ्ना डिफेन्डरका लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए। नेपाल एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिताको ग्रुप एफमा छ।

ग्रुप ‘एफ’मा नेपालसहित फिलिपिन्स र हङकङ छन्। यो छनोट प्रतियागिताका ग्रुप एफका खेलहरू नेपालमै हुने तय भएको थियो। तर कोभिडका कारण एएफसीले ग्रुप एफका छनोट खेलहरू उज्वेकिस्तानमा सारेको हो।

छनोट प्रतियागितामा नेपालले आउँदो असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेश एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। ग्रुप ‘जी’मा रहेको बंगलादेशले भने जोर्डन र इरानसँग छनोट खेल खेल्नेछ।

आठ समूह रहेको छनोट प्रतियागितामा प्रत्येक समूहका विजेताले अर्को वर्ष भारतमा हुने एएफसी महिला एसिएन कप फुटबल २०२२ मा स्थान पक्का गर्नेछन्। १२ टिम सहभागी प्रतियागितामा ४ टिम छनोट भइसकेका छन्।

नेपाली महिला राष्ट्रिय फुटबल टिमले तीन पटक एसिएन कप फुटबल प्रतियागिता खेलिसकेको छ। सन् २००० अगाडि खेलिएका ती सबै खेलमा नेपालको यात्रा समूह चरणसम्मको मात्र थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved