काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । देउवाले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताए ।
बुधबार सिंहदरबारमा आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताए ।
सम्मेलनमार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको देउवाले बताए। प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताए । ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको उनले बताए ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र त्यसका लागि आवश्यक वातावरण तयार पार्न सरकार तयार रहेको बताए ।