एमाले संसदीय दल बैठक

सरकार र सभामुखविरुद्ध संसदमा कडा प्रतिवाद गर्न निर्देशन

प्रतिपक्षी दल विभाजन गराउने उद्देश्यले अध्यादेश ल्याएका कारण सरकार र दल विभाजनमा सभामुख सहयोगी बनेकाले प्रतिवाद गर्नुपरेको एमालेले जनाएको छ।

नेपालभ्युज

सरकार र सभामुखविरुद्ध संसदमा कडा प्रतिवाद गर्न निर्देशन
फाइल फाेटाे

काठमाडौं। नेकपा एमालेले संसदमा सरकार र सत्तारुढ गठबन्धनको कडा प्रतिवाद गर्ने भएको छ। बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले सभामुखसहित सत्तारुढ दल र सरकारको विरुद्धमा प्रतिबाद गर्ने निर्णय गरेको हो।

प्रतिपक्षी दल विभाजन गराउने उद्देश्यले अध्यादेश ल्याएका कारण सरकार र दल विभाजनमा सभामुख सहयोगी बनेकाले प्रतिवाद गर्नुपरेको एमालेले जनाएको छ। संसद भवनको ल्होत्से हलमा भएको संसदीय दलको बैठकमा उपनेता सुवास नेम्वाङले संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका थिए।

नेम्वाङले सांसदलाई सभ्य भाषामा सरकारको प्रतिवाद गर्न निर्देशन दिए। संघीय संसद्को नवौँ अधिवेशन बुधबारदेखि सुरु हुँदै छ। दिउँसो ४ बजे बोलाइएको संसद्को संयुक्त अधिवेशनमा झन्डै एक दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ।

सभामुख सत्तारुढ दलको मतियार बनेको आरोप
संसदीय दलको बैठकमा ब्रिफिङ गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटा समेत विपक्षी दल विभाजनमा सत्तारुढ दलको मतियार बनेको लागेको आरोप लगाए।

समाजवादी पार्टीले सरिता गिरीलाई गरेको कारबाही २४ घण्टा नबित्दै सदर गरेका सभामुखले एमालेले आफ्ना सांसदलाई गरेको कारबाही १० दिनसम्म सदर नगरेको नेम्वाङको गुनासो थियो।

नेम्वाङले भने, ‘‘सरिता गिरीमाथिको कारबाही २४ घण्टा भित्रै भयो। माओवादी केन्द्रमा नेता टोपबहादुर रायमाझीलगायत ४ जनाको कारबाही पनि सभामुखले तुरुन्तै गर्नुभयो। तर, एमालेले आफ्ना १४ सांसदलाई गरेको कारबाही सदर गर्नुभएन। यसरी सभामुख समेत एमाले फुटाउने कांग्रेसको षड्यन्त्रको मतियार बन्नुभयो।’’

बैठकमा उपनेता नेम्वाङले माधवकुमार नेपालको पार्टी अवैधानिक रहेको आरोप लगाए। नयाँ अध्यायदेशअनुसार दल विभाजन गर्न २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या हुनुपर्ने भए पनि उनीहरूसँग सो सांसद संख्या नरहेको उनको भनाइ थियो।

‘‘एमालेबाट अलग भएर नयाँ दल दर्ता गराएका माधवकुमार नेपालको पक्षमा २० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुग्दैनन्। उहाँहरूसँग २० प्रतिशत केन्द्रीय सदस्य पनि छैन, २० प्रतिशत सांसद संख्या पनि पुग्दैन”, नेम्वाङले भने, ‘‘कानुनबमोजिम पार्टीबाट निष्कासन गरेकाको सनाखत गर्दै नयाँ दल गठन गरिएको छ।’’

नेकपा (एकीकृत समाजवादी)मा झलनाथ खनाललगायतका नेताहरूको सनाखत नै अवैध भएको नेम्वाङले बताए। उनले भने, ‘‘झलनाथ खनालले दिल्लीबाटै पार्टी फुटाउने गरेको प्रक्रिया गलत छ। १४ जना कारबाहीमा परेका साथीहरू छन्। प्रदेशमा प्रकाश ज्वालालगायत साथीहरू पार्टी निष्कासनमा पर्नुभएको छ, उहाँहरूको सनाखत हुनै सक्दैन। यसैले उहाँहरूको पार्टी गैरकानुनी र अवैध छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved