बेइजिङ । २० भदौको दिन चीनमा तीजको मादल बज्यो। यतै बिहे गरेर बसेकी शकुन्तला राईले आधा दर्जन चिनिया सँगीसँग तीज मनाएकी हुन्।
उनले चिनियाँ महिलाहरूलाई नेपाली सारी लगाइदिएर नेपाली तीज गीतमा छमछमी नाच्न सिकाएकी छन्। नेपाली पाराकै दर पनि खुवाएकी छन्।
चिनियाँलाई नेपाली संस्कृति सिकाउनकै लागि उनले नेपालबाट थुप्रै सारी ल्याएकी छन्। चुरा र पोते पनि उनीसँग पुग्दो छ। आफ्नो घरको भित्तामा ठूलो नेपालको राष्ट्रिय झण्डा टाँसेकी छन्। अनि त्यही झण्डालाई पृष्ठभागमा पारेर चिनियाँसँग गजब्बको तीज मनाएकी छन्।
चीनमा शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्छ। बिदाको मौका पारेर उनले साथीहरूलाई घरमा बोलाइन्। आलुको तरकारी, अकबरे खुर्सानी हालेको अचार, पुरी पकाएर दरका रुपमा थुप्रै परिकार तयार बनाइन्।
नेपाल भ्युजसँग कुरा गर्दै शकुन्तलाले भनिन्, “चिनियाँलाई खाना बनाएर खुवाउनुभन्दा पनि लुगा लगाइदिन धेरै बेर लाग्छ। बल्लबल्ल सारी मिलाएर नाच्न सिकाउँदा उनीहरूको सारी फुस्किहाल्छ।”
(शकुन्तलाले चिनियाँसँग तीज मनाएको भिडियो हेर्नुहोस्)
हरेक वर्ष शकुन्तलाले यसरी नै चिनियाँसँग तीज मनाउँछिन्। तीज मनाउँदा उनको अनुहारमा दुःख देखिँदैन बरु आनन्दसँग बिन्दास भएर नाचिरहेकी हुन्छिन्। भन्छिन्, “म त सधैँ यस्तै हुँ। माइती गाउँ, माइती देश, आफन्तको सम्झना आए पनि म रोएर बस्दिनँ। बरु चिनियाँ साथीहरूसँग खानपिन र नाचगानमा मस्त हुन्छु।”
सोलुखुम्बुकी शकुन्तला राई सन् २००८ मा चीनको आन्हुई प्रान्तका स खाइमिनसँग प्रेम विवाह गरेर चीन आएकी हुन्। परिवारको कान्छो छोरा स खाइमिनका एक जना दाजु र एक दिदी तथा एक बहिनी छन्।
कान्छी बुहारीका रुपमा चिनियाँ परिवारमा भित्रिएकी शकुन्तलाले असाध्य माया गर्ने चिनियाँ सासूससुरा पाइन्। तर उनको बिहे भएको दुई वर्षभित्रै सासूससुराको मृत्यु भयो। बिहे गरेको एक वर्ष भर्खरै पुगेको थियो। सासूको मृत्यु हुँदा उनी तीन महिनाकी सुत्केरी थिइन्। सासूको मृत्युपछि उनलाई ससुराले सारै हेरचाह गरे। एकवर्षपछि नै ससुराको पनि मृत्यु भयो। शकुन्तला भन्छिन्, “मलाई त सासू ससुराको भारा लाग्छ। मैले उहाँहरूलाई भनेजस्तो सहयोग र हेरचाह गर्नै पाइनँ।”
शकुन्तलाले छोराको नाम स चोङनी राखेकी छन्। चिनियाँ चलनअनुसार थर अगाडि लेखिन्छ। उनको श्रीमान्को थर ‘स’ हो। त्यही भएर छोराको नाम अगाडि ‘स’ र पछाडि चाहिँ ‘चोङनी’ राखेकी छन्।

‘चोङ’ भनेको चीन हो भने ‘नी’ भनेको नेपाल। नेपाली र चिनियाँको ठिमाहाका रुपमा जन्मिएको छोराको नाम पनि ठिमाहा नै बनाएकी छन् उनले। एक, दुई वर्षमा नेपाल गइरहने शकुन्तला कोभिड महामारी शुरु भएपछि माइती देश जान पाएकी छैनन्। कोभिड अगाडि उनले आफ्नी बहिनी सुमित्रालाई आन्हुईमै एकजना चिनियाँ युवासँग बिहे गराइन्। अहिले त सुमित्राको छोरा पनि एक वर्षको भइसकेको छ। सुमित्राले केही नेपाली आधुनिक गीत पनि गाएकी छन् भने ती गीतमा शकुन्तलाले मोडलिङ गरेकी छन्।
सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले नेपालबाट थाङ्का र बुद्धमूर्तिसँगै नेपाली सम्पदा दाइजोका रुपमा चीन ल्याएकी थिइन्। एक्काइसौँ शताब्दीकी भृकुटीका रुपमा शकुन्तलाले चाहिँ नेपालबाट सयपत्री फूल, अकबरे खुर्सानी, कोदोको बिउ चीनमा ल्याएकी छन्।

उनी आफ्नो बारीमा हरेक वर्ष नेपाली कोदो रोप्छिन् र फलाएर छिमेकी तथा आफन्तलाई कोदाको ढिँडो र रोटी चखाउँछिन्। सयपत्री फूलले तिहारमा घर सिँगार्छिन् र चीनमा भएका अन्य नेपाली महिलालाई माला उनेर एक्स्प्रेस डेलिभरीबाट पठाउँछिन्।
उनले फलाएको अकबरे खुर्सानीलाई धेरै चिनियाँले मन पराएका छन्। उनले नेपाली पारामा सिस्नो पनि पकाएर चिनियाँलाई खुवाउने गरेकी छन्।
विश्वको सर्वोच्च शिखर पार गरेर आए पनि माइतीबाट ल्याएका यस्ता कुराले उनलाई नेपाल आफूसँगै भएको महसुस गराउँछ। हरेक चाडपर्वमा चिनियाँलाई बोलाएर मनाउने बानी परेको उनी सुनाउँछिन्।
Facebook Comment
Comment