पारसको संन्यासपछिको पहिलो खेल

कठिन जित

मंगलबार पपुवा न्युगिनि (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कठीन जित दर्ता गरायो। सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसिय मान्यता पाएयता एकदिवसीय क्रिकेट खेलमा पीएनजीसँग नेपालको यो पहिलो खेल हो। जुन जितमा परिणत गर्न नेपाल सफल भयो।

नेपालभ्युज

कठिन जित

काठमाडौं । नेपालले पारसको सन्यासपछि नयाँ क्रिकेट युगको शुरुवात जितका साथ गरेको छ।

मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कठिन जित दर्ता गरायो। सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसिय मान्यता पाएयता एकदिवसीय क्रिकेट खेलमा पीएनजीसँग नेपालको यो पहिलो खेल हो। जुन जितमा परिणत गर्न नेपाल सफल भयो।

तर मिडिल अर्डर चल्न नसक्दा मात्र १३५ रनको लक्ष्य पूरा गर्न पनि नेपालले ८ विकेट खर्चेको थियो।

नेपाल खेलमा ३ अनुभवी खेलाडी, विकेट किपर ब्याटसम्यान विनोद भण्डारी, अलराउण्डर करण केसी र बलर अभिनाश बोहोराबिनै केही युवा खेलाडीलाई डेब्यू गराउँदै मैदानमा उत्रेको थियो।

बलिङमा उत्कृष्ट प्रदर्शन

खेलमा टस हारेर नेपालले पहिले बलिङ गर्‍यो। ओडीआई डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै विक्रम सोबले नेपालका लागि विकेटको खाता खोले।

दोस्रो ओभरको पहिलो बलमै पीएनजीका ओपनर तथा भरपर्दा ब्याटस्म्यान टोनी उरालाई विक्रमले मात्र व्यक्तिगत १ रनमा बोल्ड आउट गरे। उनले यो ओभरमा १ रन पनि नखर्चिँदै विकेट मेडन राखे।

चौथो ओभरको अन्तिम बलमा विक्रमले नै पीएनजीका कप्तान आसाड भालालाई पेभेलियनको बाटो दोखाए। ४ रनमा भाला पनि आरिफ सेखद्वारा क्याच आउट हुँदा पीएनजीको ९ रन छँदा २ विकेट खसिसकेको थियो। यसपछि नेपाली बलरहरूले लगातार कसिलो बलिङ जारी राखे। पीएनजीको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो।

उता नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले ४ विकेट झारेपछि पीएनजी मात्र ३३ ओभर क्रिजमा टिक्न सक्यो र १३४ रनमै अलआउट भयो। खेलमा उत्कृष्ट खेलाडी घोषित भएका सन्दीपले १० ओभर बलिङ गर्दा मात्र ३५ रन खर्चेका थिए। १२ औं ओभरमा आएका सन्दीपले चार्ल्स आमिनीलाई पाचौं बलमै विकेट किपर आसिफ सेखद्वारा क्याच आउट गराए।

कुनै बेला ९ रन २ विकेट रहेको पीएनजीका लागि आमिनीले तेस्रो विकेटको रुपमा ओपनर लेगा सिआकासँग मिलेर ५० रनको साझेदारी गरेका थिए। तर आमिनी आउट भएको अर्को ओभरमै सिआका पनि ३० रनमा आउट भए र पीएनजीले ५९ रनमै चार विकेट गुमायो। सिआकाको ३० रन नै पीएनजीको ब्याटस्म्यानको सर्वाधिक रन बन्यो।

मैदानमा टिकिरहने रणनीति

यसपछि पीएनजीको मध्यक्रमका ब्याटस्म्यानहरू जसरी हुन्छ ५० ओभर पूरै खेल्ने रणनीतिमा मैदानमा टिकिरहन खोजिरहेका थिए। तर नेपालको धारिलो बलिङसामु उनीहरू यसमा विफल भए।

सन्दीपले थप २ र कुसल मल्लले २ विकेट लिएपछि पीएनजीले १०० रन जोड्नु अगावै ७ विकेट गुमाइसकेको थियो। थप ३४ रन जोड्ने क्रममा बाँकी ३ विकेट पनि खस्यो।

सन्दीपको ४ विकेटसँगै किफायती बलिङ गरेका कुसलले ७ ओभरमा १ मेडनसहित मात्र १९ रन दिएर दुई विकेट लिए। त्यसैगरी विक्रम सोबले २ र सोमपाल कामीले १ विकेट लिए।

नयाँ ओपनिङ जोडीको राम्रो संकेत

यो खेलबाट नेपाली एकदिवसीय क्रिकेटमा नयाँ ओपनिङ जोडी उदायो। टी–ट्वान्टी क्रिकेटका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले पछिल्लो समय देखाएको उत्कृष्ट लयका कारण एकदिवसीय टिममा पनि प्रशिक्षक डेभ ह्वाटमोरले यी दुईलाई ओपनिङ मौका दिए। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले एकदिवसीय क्रिकेटमा ओपनिङ गर्दै आएका थिए।

खेलमा पीएनजी मात्र १३४ रनमा समेटिएपछि ५० ओभरको खेलमा १३५ रनको लक्ष्य सामान्य थियो।

ओपनिङको नयाँ प्रयोगले राम्रै संकेत देखायो। आसिफ र कुशलले सुरुवात राम्रै गरे। कुशल भुर्तेलले ओडीआई डेब्यूको खेलको पहिलो बलमै चौका प्रहार गर्दै बाउण्ड्रीमार्फत नेपाली इनिङको शुरुआत गरेका थिए। सम्हालिएर ब्याटिङ गरेका यी दुईले ११ औं ओभरसम्म राम्रो ब्याटिङ गरिरहेका थिए।

तर १२ औं ओभरको पहिलो बलमै कुशल, चाड सोपरको बलमा एलबीडब्लू धरापमा परे। लगत्तै अर्को ओभरमा अर्का ओपनर आसिफ पनि क्याच आउट हुँदै बाहिरिएपछि नेपालको राम्रो सुरुवात एकाएक बिग्रियो। यी दुईले अर्धशतकीय साझेदारी पनि पूरा गर्न नसक्दा ४६ रनमा पहिलो र ४९ रनमा दोस्रो विकेट गुमायो।

आसिफ शेखले ४६ बल खेल्दै ४ चौकाको मद्दतले ३० रन जोड्दा कुशलले १५ रनको यागदान दिए।

मिडिल अर्डरमा समस्या

यसपछि भने नेपालको ब्याटिङ एकाएक बिग्रियो। ओपनिङको आफ्नो पुरानो जिम्मेवारी छाडेर ‘वान डाउन’मा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल मात्र ६ रनमा आउट भए। पछिल्लो समय त्यति फर्ममा नरहेका कप्तान ज्ञानेन्द्र सस्तैमा समेटिएपछि नेपाली मध्यक्रम ध्वस्त भयो।

आरिफ शेख ९, शरद भेषवाकर ६ र कुशल मल्ल पनि १ रन मात्र जोड्दै पेभेलियन फर्किए। २८ औं ओभरको अन्तिम दुई बलमा नेपालको लगातार २ विकेट गुम्यो। कुशल मल्ललगत्तै पवन सर्राफ गोल्डेन डक आउट भए। कुनैबेला ४८ रन छँदा एक विकेट मात्र गुमेको नेपालले मात्र थप ३४ रन जोड्दा ६ विकेट खेर फालेको थियो।

रोहित र सोमपालको उत्कृष्ट साझेदारी

१३५ रनको झिनो लक्ष्य पछ्याए पनि २८ ओभरमा नेपालले मात्र ८२ रन जोड्दा ७ विकेट खेर फालिसकेको थियो। अब जितका लागि चाहिने थप ५३ रन जोड्न पनि नेपाललाई निकै कठिन देखिएको थियो। किनकि नेपालसँग मात्र तल्लो क्रमका ३ विकेट बाँकी थियो।

तर नेपालको जितको मोर्चा अलराउण्डर रोहित पौडेलले सम्हाले, जसमा साथ दिए ब्याटिङको खुबी राख्ने फास्ट बलर सोमपाल कामीले। यी दुईले आठौं विकेटका लागि ५२ रनको लामो साझेदारी गरे। रोहितले सम्हालिएर राम्रो इनिङ खेल्दा ६५ बलमा ४१ रन जोड्दै नेपाललाई जितको नजिक पुर्‍याएका थिए। तर उनी जितका लागि मात्र १ रन बाँकी छँदा बोल्ड आउट भए।

सोमपालले ३२ बलमा १ छक्का र १ चौक्काको मद्दतले २२ रनको योगदान दिँदा नेपालले ४० औं ओभरमा २ विकेटको संघर्षपूर्ण जित निकाल्यो।

विक्रम सोब : ओडीआई डेब्यू, पहिलो बलमै विकेट

ओडीआई डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै विक्रम सोबले नेपाली क्रिकेटमा नयाँ रेकर्ड राखे। तीव्र गतिका बलर सोबले ओडीआई करिअरको शुरुआत उत्कृष्ट ढंगबाट गरे। पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न पाएका सोबले डेब्यू खेलको पहिलो बलमै विकेट लिए।

इनिङको दोस्रो ओभरमा बलिङ गर्न आएका सोबले आफ्नो पहिलो बलमै पीएनजीका ओपनर टोनी उरालाई बोल्डआउट गरे। उरा पीएनजीका प्रमुख ब्याटस्म्यान हुन। व्यक्तिगत एक रनमा उरालाइै आउट गरेपछि पीएनजीको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो।

ओडीआइको डेब्यू खेलको पहिलो बलमै विकेट लिने विक्रम नेपालको पहिलो खेलाडी हुन्। अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अन्य नेपाली खेलाडीले यो रेकर्ड बनाउन सकेका थिएनन्।

अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा भने पूर्वकप्तान पारस खड्काले यो रेकर्ड बनाइसकेका छन। पारसले सन् २०१४ को विश्वकपमा अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलमा हङकङविरुद्ध डेब्यू गरेका थिए। पहिलो पटक विश्वकप खेलिरहेको नेपालको लागि हङकङविरुद्धको पहिलो बलमा नै ओपनर इरफान अहमदलाई आउट गरेका थिए।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा विश्वभरका खेलाडीमा भने डेब्यू खेलको पहिलो बलमै विकेट लिने विक्रम २८ औं खेलाडी बने। यसअघि २७ खेलाडीले यो रेकर्ड बनाइसकेका छन्।

तीन खेलाडीको डेब्यू

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै विक्रम सोबले पीएनजीसँगको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट (ओडीआई) डेब्यू गरे। तीन खेलाडीले ओडीआईमा पहिलो पटक ठाउँ पाउँदा विक्रम सोबको प्रदर्शन सानदार रहयो।

पछिल्लो समय अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट खेलमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट खेल खेलेका कारण एकदिवसीय टिममा पनि परे।

त्यसैगरी तीव्र गतिका बलर विक्रम सोबले चार वर्षपछि टिममा पुनरागमन गर्दै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले। यसअघि सन् २०१६ मा नै राष्ट्रिय टिममा परे पनि खल्ने मौका भने पाएका थिएनन्।

२९ वर्षीय विक्रमले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि पुनः टिममा परे र डेब्यू पनि गरे। डेब्यूसँगै कीर्तिमानी प्रदर्शन पनि गरे।

तस्वीरहरू : क्रिकेट एशोसिएसन नेपाल 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved