विद्युत् महसूल विवाद

उद्योग बन्द गरेर सडकमा मजदुर निकाल्ने चेतावनी

तर प्राधिकरणले उक्त निर्णयअनुसार त्यो समयमा आफूहरूले अतिरिक्त बिजुली नपाएको र २०७५ वैशाखदेखि लोडेसेडिङ अन्त्य भएकोमा त्यसपछि पनि डेडिकेटेड र ट्रंकलाइन फिडरअनुसार प्राधिकरणले बिल पठाएको भन्दै व्यवसायीहरूले उक्त शुल्क नतिर्ने बताइरहेका छन्।

नेपालभ्युज

उद्योग बन्द गरेर सडकमा मजदुर निकाल्ने चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणसँग महसूल विवाद भएपछि उद्योगीहरूले उद्योग बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल धागो उत्पादक संघले पत्रकार सम्मेलन गर्दै डेडिकेटेड र ट्रंकलाइन विवादले उद्योग बन्द हुने अवस्था आएको बताएको हो।

संघका अध्यक्ष पवन गोल्याणले प्राधिकरणले उद्योगलाई थप बिजुली नै नदिएको बताउँदै डेडिकेटेड र ट्रंकलाइन फिडरमार्फत बिजुलीको महसूल भुक्तानी गर्न नसकिने बताए।

प्राधिकरण घाटामा गएपछि नाफामा देखाउन मात्रै डेडिकेटेड र ट्रंकलाइनको मुद्दा प्राधिकरणले सारेको आरोप लगाउँदै उनले उद्योगीले महसूल नतिरेको भन्नु असान्दर्भिक भएको बताएका छन्।

राज्यले नै उद्योगलाई असहयोग गरेको गोल्याणको भनाइ थियो। उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको र  उद्योग बन्द गरेर मजदुर सडकमा निकाल्ने उनले सरकारलाई चेतावनी दिए।

तत्काल यो विवाद समाधान गर्न अनुरोध गरे। ‘‘यसले उद्योग सकिन्छ, उद्योग बन्द हुन्छ र मजदुरहरू सडकमा निस्किन्छन्,’’ उनले भने, ‘‘प्राधिरकणको यो निर्णयले भोलि अराजक स्थिति जन्माउने भएकाले यो कुनै पनि हिसाबले सान्दर्भिक होइन।’’

भारतलाई २ रुपैयाँमा बिजुली बेच्न तयार सरकार उद्योगीबाट १० रुपैयाँ असुलिरहेको भन्दै उनले उद्योगको संरक्षण र प्रवर्द्धनमा कत्ति पनि गम्भीर नभएको आरोप लगाए।

१८ घण्टासम्म लोडसेडिङ हुने समयमा प्राधिकरणले २०७२ माघ १२ गतेदेखि उद्योगलाई डेडिकेटेड र ट्रंकलाइन फिडरमार्फत बिजुली दिने निर्णय गरी कार्यान्वयन गरेको थियो। लोडसेडिङ भए पनि ट्रंकलाइनमार्फत बिजुली लिने उद्योगीलाई ग्राहकको बिजुली काटेर २४ सै घण्टा र डेडिकेटेडबाट बढीमा ६ घण्टासम्म लाडेसेडिङ गर्ने गरी प्राधिकरणले ६० प्रतिशत महँगो शुल्कमा उद्योगीलाई विद्युत् बेचेको थियो।

तर प्राधिकरणले उक्त निर्णयअनुसार त्यो समयमा आफूहरूले अतिरिक्त बिजुली नपाएको र २०७५ वैशाखदेखि लोडेसेडिङ अन्त्य भएकोमा त्यसपछि पनि डेडिकेटेड र ट्रंकलाइन फिडरअनुसार प्राधिकरणले बिल पठाएको भन्दै व्यवसायीहरूले उक्त शुल्क नतिर्ने बताइरहेका छन्।

हाल नेपालमा रिलायन्स, जय स्पिनिङ, त्रिवेणी र जगदम्बा गरी ४ वटा धागो उद्योग सञ्चालनमा छन्। जसको वार्षिक उत्पादन ४५ हजारदेखि ५० हजार मेट्रिक टन छ भने उद्योगमा करिब १० हजार मजदुर छन्।

२०७५ सम्ममा शीर्षस्थानमा रहेको धागोको उत्पादन तीन वर्षयता बढ्न सकेको छैन। सरकारी नीतिकै कारण उद्योग विस्तार हुन नसकेको संघका उपाध्यक्ष विष्णु न्यौपानले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved