संखुवासभा हत्या प्रकरण : बाँचेका वृद्धले पनि होस गुमाए

रातभरको पानीले शव पखालेपछि अनुसन्धानमा चुनौती

नेपालभ्युज

संखुवासभा हत्या प्रकरण : बाँचेका वृद्धले पनि होस गुमाए
फाइल तस्वीर

काठमाडाैं। संखुवासभाको सामूहिक हत्या प्रकरणमा सकुशल रहेका ९३ वर्षीय बौद्धमान कार्कीले पनि होस गुमाएका छन्। मादी नगरपालिका-१ खोलागाउँमा बस्दै आएका बौद्धमानको परिवारको ६ जनाको हत्या भएपछि उनी अचेत बनेका हुन्।

सोमबार बिहान अपरिचित समूहको आक्रमणबाट उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना, पनाति ११ वर्षीय दिपेन र पनातिनी ७ वर्षकी गोमाको हत्या भएको थियो।

घरमा रहेका सबैको हत्या भए पनि सकुशल रहेका बौद्धमान आँखा कम देख्ने र कान कम सुन्ने उनी छिनमा होस गुमाउने र छिनमा बर्बराउने गर्न थालेको मादी नगरपालिका-१ का वडाध्यक्ष कटुवाल बताउँछन्।

“घरमा रहेका सबैको हत्या भयो, भाग्यले उनी बाँचे अरू सबै जनाको लास आफ्नाअघि देखेकाले होला उनको अवस्था राम्रो छैन”, वडाध्यक्ष कटुवालले टेलिफोनमा नेपालभ्यूजसँग भने, “उहाँमा पीडा सहन नसकेर होला छिनमा ब्युँझने, छिनमा होस् गुमाउने, बर्बराउने गरिरहनुभएको छ, ब्युँझेको समयमा उहाँलाई हामीहरूले सम्झाई बुझाइरहेका छौँ।”

प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले अनुसन्धान गर्दै

घटनास्थलमा प्रहरी र केन्द्रीय अनुसन्धान विभागको टोलीले अनुसन्धान थालेको छ। संघीय प्रहरी इकाइ कार्यालय धरानबाट पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार साँझ पुगेको थियो। काठमाडौँबाट गएको राष्ट्रिय अनुसन्धान विभागको टोली मंगलबार बिहान घटनास्थलमा पुगेको छ।

वडाध्यक्ष कटुवालले भने, “बिहानैदेखि प्रहरीले दुई वटा कुकुर परिचालन गरेका छन्। कुकुरले सुँघ्दै बाटो पछ्याइरहेको छ, मृतकका आफन्त तथा परिवारसँग सोधपुछ भइरहेको छ। अनुसन्धान जारी छ। अनुसन्धानमा प्रहरीलाई छिमेकीहरूले सहयोग गरिरहेका छन्।”

रातभर परेको पानीले शव पखाल्यो, धेरै प्रमाण नष्ट

रातभर पानी परेकाले सब पखालिएको कारण अनुसन्धानमा चुनौती थपिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए। सोमबार साँझ मात्रै घटनास्थल पुगेको र बर्सातका कारण काम सुरु गर्न नसकेकाले मंगलबार बिहानैबाट घटना प्रकृति मुचुल्का उठाउने काम शुरु गर्नुपरेको एसपी दाहालले बताए।

उनले नेपालभ्यूजसँग टेलिफोनमा भने, “शवहरूको मुचुल्का उठाउनै बाँकी थियो तर, राति पानी परेका कारण बाहिर रहेका शवको रगत पखालिएका छन्, यसले केही असर पार्लाजस्तो लागेको छ। तर पनि मृतकका आफन्त तथा छरछिमेकसँगको सोधपुछबाट अनुसन्धानमा हामी सकारात्मक दिशाउन्मुख छौँ।”

बौद्धमानका छोरा तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा भेटिएको थियो। रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा भेटिएको थियो। दिपेन र गोमाको शव घरदेखि माथि पटी खरबारीमा फेला परेको थियो। घोप्टो अवस्थामा रहेका उनीहरूको शव करिब पाँच मिटरको दूरीमा पाइएको थियो। राती परेको पानीका कारण शवहरू पखालिएका प्रहरीको भनाइ छ।

अनुसन्धान टोली नपुगेसम्म प्रहरीले घटनास्थल ‘सिल’ गरेको थियो। सिल गरिएकोले सोमबार बिहानबाट मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। शव उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाउने तयारीमा रहेको एसपी दाहाले बताए।

दुई बालबालिकासहित पाँचको लखेटी–लखेटी हत्या

घटना प्रकृति हेर्दा व्यक्तिगत रिसिइबिका कारण देखिएको छ। प्रारम्भिक अनुसन्धानले नजिककै आफन्त नातेदारबाट अपराध भएजस्तो देखिएको प्रहरीको आकलन छ। तर विस्तृत अनुसन्धान नगरी ठोस पुष्टि नहुने एसपी दाहाल बताउँछन्।

उनी भन्छन्, “घटनाको अनुसन्धानको पहिलो चरणमै छौँ, घटनास्थलमा प्राप्त भएका सबुत प्रमाणहरू अध्ययन गर्दै छौं, कतिपय प्रमाण ल्याबमा परीक्षण गराउनुपर्ने छ। स्थानीयसँग सोधपुछ जारी राखेका छौँ। यस कारण घटनाबारे अहिल्यै केही भन्न सकिन्न।”

लास रहेको प्रकृति हेर्दा बौद्धमानकी पत्नीको सुतेकै अवस्थामा हत्या भएको र अरू पाँच जनाको लखेटी लखेटी हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो। आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीय बौद्धमान मात्रै बँचेका छन्।

उनीबाहेक घरमा रहेका सबैको हत्या भएको थियो। उनका दुई नाति विदेशमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved