पुस्तकालयको महत्त्वबारे संवाद

नेपालभ्युज

पुस्तकालयको महत्त्वबारे संवाद

काठमाडौं। ‘बेथिति पुस्तकालयको, जिम्मेवारी कस्को’ भन्ने विषयमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ज्ञान गोष्ठी संवाद आयोजना गरियो।

कार्यक्रममा वक्ताका रुपमा थिए, इतिहासविद् दिनेशराज पन्त, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानांङ्ग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ। सहजकर्तामा थिए पत्रकार कनकमणि दीक्षित। कार्यक्रममा विभिन्न पुस्तकालय आवद्ध व्यक्ति समेत उपस्थित थिए।

पुस्तकालय संरक्षणमा सरकारको मुख नताकौ : पन्त

अभिलेखिकरण कहिलेबाट शुरु भयो भन्ने यकिन छैन। तर, परम्परागत समयमा पनि यो कार्य भएको थियो। १७ सय वर्ष अघि लिच्छविकालमा अभिलेखहरु भएको पाइन्छ। त्यसबेला २५० जति अभिलेख छन्। अभिलेखले सबै कुरा बताउदैनन्। तत्कालीक शासकहरुले प्रचार गर्न खोजेका कुराहरु समेटिएका हुन्छन्।

लिच्छविकालमा अध्ययन परम्परा बलियो नभएकाले अभिलेखमा ताम्रपत्रहरुको प्रयोग पाइएन। पृथ्वीनारायण शाह पनि पुस्तक रक्षाका लागि प्रतिवद्ध थिए । त्यस्तै भीमसेन थापाको समयमा पनि दरबारका पुस्तक अरुलाई नदिनु, नयाँ पुस्तक लेख्नु, पुराना मुसाले काटेका पुस्तक भए पनि सच्याएर राख्नु भनेका थिए । यसले पुस्तक संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

हालका पुस्तकालयमा धेरे नै बेथिती छ। पुस्तकालय व्यवस्थापनका लागि सरकारको मुख ताक्ने परम्परा छ। पुस्तकालय रक्षाको जिम्मेवारी हरेक नागरिकको हो भन्ने हरेक व्यक्तिले बुझ्न जरुरी छ। पुस्तक रक्षा गर्न व्यक्ति, समुदाय र सरकारको पनि सहयोग आवश्यक पर्छ।

संरक्षण हरेक व्यक्तिको दायित्व : श्रेष्ठ

पुस्तकालय देशको गहना होे यसको संरक्षण हरेक व्यक्तिको दायित्व हो। २०७२ सालको विनाशकारी भूकम्पले केन्द्रीय पुस्तकालयमा धेरै क्षति पुगेको थियो । यसको संरक्षणका लागि सरकारले केही गर्छ भन्ने आशा मरेपछि पुस्तकालयमा आवद्ध व्यक्तिहरुको साथ मिलेको छ।

हाल पुस्तकालयमा लागि भवन अभाव छ। विभिन्न संघ संस्था र सरकारलाई गुहार्दा भवन बन्ने सम्भावना देखिएन। केन्द्रीय पुस्तकालयको पहिलो भवन भारतले बनाइदिएकाले सहयोगको अपिल गर्दै भारतीय दूतावास धायौं। धेरैपटकको प्रयासपछि ५० करोड रुपैयाँमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक पुस्तकालय भवन बन्ने भएको छ।

नेपालको पुस्तकालयलाई हेर्ने हो भन्ने धेरैजसो अस्तव्यस्त छन्। वैज्ञानिक तरिकाले व्यवस्थापन भएको छैन। काठमाडौं विश्वविद्यालयका केही पुस्तकालय व्यवस्थित छन्। क्षेत्रीय पुस्तकालय पनि व्यवस्थापन भएका छैनन्। कति पुस्तकालयलाई आवश्यक स्रोत नै छैन। यसको व्यवस्थापनका लागि सरकारले लगानी बढाउनुपर्छ।

पुस्तकालय देशको सम्पत्ति हो। त्यसैले समयअनुसार यसलाई रुपान्तरण गर्नुपर्छ। हालको आवश्यकता पुस्तकालयलाई डिजिटलाइज गर्नु हो। प्रविधिको विकास भएसँगै बौद्धिक चोरी गर्नेको संख्यामा पनि वृद्धि भएको छ। बौद्धिक चोरी निर्मुल पार्न त्रिविले सफ्टवेयर प्रयोगमा ल्याएको छ। हाल ६ हजार सफ्टवयरले २६ हजार थेसिस परीक्षण भइरहेको छ।

सन्धि सम्झौता अभिलेखिकरण भएका छैनन् : प्रधानांङ्ग

अभिलेख गर्न सरकारका महत्वपूर्ण निर्णय नै उपलब्ध भएका छैनन्। महत्वपूर्ण सुगौली सन्धि सम्झौताका पत्र पनि उपलब्ध भएका छैनन्। विगतमा विदेशिएका अभिलेख फिर्ता नहुँदा अभिलेखिकरणमा चुनौती थपेको छ । हाल त्यसलाई फर्काउन कोसिस गरिहेका छौ ।

कुमारी चोकका पुराना डकुमेन्टलाई संरक्षण गरी पुस्तकको डाँचामा ल्याइएको छ। त्यसलाई छिट्टै संग्रह बनाइनेछ। अभिलेखीकरणलाई संकलन केन्द्र, तालिम केन्द्र, डिजिटल आइकाइभिङ केन्द्र, रिर्सच सेन्टरको रुपमा आरकाइभ केन्द्र बनाउने योजना छ। राष्ट्रिय अभिलेखालयले पछिल्लो समय अभिलेख गर्ने कार्य तीब्र रुपमा अघि बढाएको छ। स्थानीय तहसँग समन्वय गरी देशका हरेक कुनाका अभिलेख संकलन गरिरहेका छौ। संसद सचिवालयबाट मात्र व्यवस्थित अभिलेख आउने गरेका छन्। अन्य सबै धमिरा लागेका, च्यातिएका, धुजाधुजा भएका हुन्छन्। अभिलेखिकरणका लागि अधिकृत अभाव भएकाले सूचना दिनसमेत समस्या भइरहेको छ ।

पुस्तकालय हरेक व्यक्तिका लागि : दीक्षित
राष्ट्रिय पुस्तकालय हरेक व्यक्तिका लागि एक विम्ब हो। त्यसैले यसलाई बचाउनुपर्छ । आधुनिक युगका लागि क्रियाशिल हुने गरी यसलाई जोगाउनुपर्छ। राष्ट्रिय पुस्तकालयलाई जोगाउन सके पुस्तकालयको महत्वलाई जिवन्त राख्छ।

काठमाडौं भ्यू टावर नाजायज ढंगले बनिरहेको छ। काठमाडौंको मुटु टुँडिखेल छेउको सरकारी जग्गालाई अतिक्रमण गर्ने गरी यो टावर निमार्ण हुँदैछ । टावर हाल जति बनेको छ त्यत्तिमै रोकेर राष्ट्रिय पुस्तकालय सार्न आवश्यक छ। सातै प्रदेशमा अभिलेख राख्ने व्यवस्था कानुनमै छ। त्यसैले हरेक कार्यालयमा एक अधिकृत आवश्यक पर्छ। जसले सूचनाको हक प्रवाहमा सहज हुन्छ। अभिलेखालय, पुस्तकालय हरेक कार्यलयमा दरवन्दीको आवश्यकता छ। पेट्रोलको भाउ बढ्दा सडक तात्छ तर अभिलेखालय, पुस्तकालयका बारेमा त्यति चासो दिएको पाइँदैन। जबकि यो हरेक व्यक्तिको जिवनसँग जोडिएको विषय हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved