यो सरकार केही दिनको पाहुना हो – केपी ओली

नेपालभ्युज

यो सरकार केही दिनको पाहुना हो – केपी ओली
फाइल तस्वीर

काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनको पाहुना भएको टिप्पणी गरेका छन्। शेरबहादुर देउवा नेतृत्वमा ‘अवैध गठबन्धन’ बाट सरकार जन्मिएको उनले बताए।

राजधानीमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ” यो सरकार छिट्टै बिदा गर्न नसके पनि हतार छैन। १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन। तर तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार आइरहन्छन्। उठ्नुभयो भने देशभक्त सरकार बन्छ।”

महाकाली नदी पार गर्दै गर्दा भारतीय सुक्षा बलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीका पक्षमा बोल्न नसकेको भन्दै सरकारलाई ‘घरको बाघ र वनको स्याल’को पनि ओलीले संज्ञा दिए।

नेकपा एमालले देशभर ३ सय ९६ अस्पताल एकै दिन शिलान्यास गरेको, ठूला सडक र पुल आफैंले उद्घाटन गरेको र ३१ वटा पुल पनि आफैंले उद्घाटन गरेको बताए।

आफ्नो पालामा यति धेरै काम भएको भन्दै उनले अब कांग्रेसको पालामा बन्न नसक्ने हो कि भन्ने आशंका व्यक्त गरे। भने, “कांग्रेसको भागमा ठेक्का पर्‍यो भने बन्दैन।”

लोभीपापीहरूले एमाले छाडेका भन्दै अब एमाले कहिल्यै नफुट्ने गरी बलियो बनाउने दाबी समेत उनले गरे। उनले सरकारले जालझेल गरेर अध्यादेश ल्याएको समेत दाबी गरे। सभामुख र निर्वाचन आयोगसम्ममा सेटिङ गरेको उनले दाबी गरे। भने, “मैले पार्टीमा बडो विचित्रका साथीहरू देखें, मन्त्री पद दे नत्र उता गइहाल्छु भन्छन्।” तिनै साथीहरूले गर्दा एमाले एक हुन नसकेको उनको ठम्याइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved