सरकारले एकपछि अर्को गलत काम गर्दै छ – गगन थापा

नेपालभ्युज

सरकारले एकपछि अर्को गलत काम गर्दै छ – गगन थापा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन्।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउनेजस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताएका हुन्।

प्रतिनिधिसभाको बाँकी अवधिभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने धारणा उनले राखे। थापाले आगामी चुनावमा कसैको काधमा नचढी बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए। पार्टीको विधि विधानविपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधि अनुरूप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए।

कार्यक्रममा कांग्रेसका नेताहरूले वडा, गाउँ-नगर, संघ, प्रदेशलगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए।

हिजो गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन तथा प्रतिष्ठामा आँच आउने  क्रियाकलापप्रति आपत्ति जनाएको थियो। साथै दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएर जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शनहरू भइरहेका छन्। यसै विषयलाई लिएर शनिबार अनेरास्ववियूले मोदीको पुत्ला जलाएपछि गृहले चेतावनी दिएको थियो।

एमसीसी भनी किटान नगरी जारी भएको केही दिनअघिको गृहको विज्ञप्तिमा “हालैका दिनमा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरू’ प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ” उल्लेख छ।

सरकारले २ दिनका बीचमा जारी गरेका विज्ञप्ति र सरकारका कदमप्रति चर्को आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved