संखुवासभा हत्या प्रकरण

धरानबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली झिकाइयो

नेपालभ्युज

संखुवासभा  मादी नगरपालिका-१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली संखुवासभामा झिकाइने भएको छ। घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो। घटना अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ।

कार्कीको शव सडकको भित्तामा फेला परेको फेला प्रहरी निरीक्षक खतिवडाले बताए। तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ।

५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उनले बताए। त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ।

तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका प्रहरीले जनाएको छ। रञ्जनाका श्रीमान् रमेश हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved