काठमाडौँ। सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले यसबारेमा चासो राखेका छन्। उनले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजार सुधारका लागि सहजीकरण गर्न निर्देशन दिएका छन्।
आइतबार एकै दिन सेयर बजार १०८ अंकले घटेर ४० मिनेट कारोबार रोक्का भएको थियो। निरन्तर बजार घट्न थालेपछि राष्ट्र बैंकले नियोजित रुपमा बजार घटाएको भन्दै पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर अधिकारीको राजीनामासहित अर्थ मन्त्रालयसहित नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा १५ बुँदे मागपत्र पेश गरेका थिए।
लगानीकर्ताको उक्त पत्रपछि अर्थमन्त्री शर्माले पुँजीबजारको पछिल्लो अवस्था सुधार गर्न गभर्नर अधिकारीलाई निर्देशन दिएका हुन्।
जवाफमा गभर्नर अधिकारीले सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत धितोबाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाइने तथा सेयरमा लगानीका लागि ४ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो।
लगानीकर्ताहरूले राष्ट्र बैंकको उक्त नीतिको विरोधका साथ व्यवस्था परिमार्जन गर्नुपर्ने माग राखेका छन्।