काठमाडौं। रातभरको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा डुबानमा परेको छ। निरन्तरको वर्षाका कारण बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको हो। वर्षापछिको बाढीले सोमबार बिहानै पुल बजार क्षेत्र डुबानमा परेको हो।
अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका-९ स्थित पुलबजार क्षेत्र आइतबार रातिदेखि परेको भारी वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको छ। डुबानमा परेका कारण अरनिको राजमार्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।
डुबानमा बनेपा पुल बजार
अत्यधिक वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपा बजारमा घर-पसल जलमग्न भएका छन्। पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ। पुल बजारमा गए रातिदेखि नै बाटो अवरुद्ध भएको छ भने इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ।
डुबानमा बनेपा पुल बजार
मनसुनको समयमा भारी वर्षा हुनासाथ पुल बजार हरेक वर्ष डुबानमा पर्दै आएको छ। उक्त क्षेत्रमा हरेक वर्ष साना गाडीहरु डुब्ने गरी पानी जम्मा हुन्छ। तर, त्यसको समाधान हुन सकेको छैन।