एजेन्सी। बंगलादेशको संसद्मा अनौठो प्रस्ताव आएको छ। संसद् बैठकमा एक सांसदले अनौठो प्रस्ताव राखेपछि बाँकी सांसदहरुले उक्त प्रस्तावको खिल्ली उडाएका छन्। उनीहरुले ती प्रस्तावकको मजाक पनि बनाएका छन्।
देशमा रहेको बेरोजगारी समस्याका विषयमा बोल्दै सांसद रिजउल करिमले अनौठो प्रस्ताव राखेपछि संसद् बैठकमा उनको खिल्ली उडाइएको हो। करिमले संसद् बैठकमा बेरोजगारी समस्या अन्त्यका लागि काम गर्ने जोडीबीचको विवाहमा रोक लगाइनुपर्ने बताएका थिए।
संसद् बैठकमा बोल्दै सांसद करिमले महिला र पुरुष दुवै जागिरे भएको अवस्थामा विवाह गर्न नपाउने कानुन ल्याउनका लागि प्रस्ताव गरेका थिए। उनले कार्यालयमा काम गर्ने जोडीका सन्तान प्रायः घरेलु कामदारबाट दुर्व्यवहार हुने गरेको तर्क गर्दै दुवैजना जागिरे व्यक्तिले विवाह गर्न नपाउने कानुन ल्याउन प्रस्ताव गरे।
संसद् बैठकमा करिमले भने, ‘‘जागिरे पुरुषले विवाहका लागि आफू जस्तै काम गर्ने महिला खोज्छन्। त्यस्तै, जागिर खाने महिलाले पनि आफू जस्तै रोजगार पुरुष खोज्छिन्। यस्तो प्रवृत्ति रहिरह्यो भने बेरोजगार समस्या समाधान गर्न सकिन्न।”
करिमको प्रस्तावपछि संसद्मा हाँसोको फोहोरा नै छुटेको थियो। सांसद करिम गत वर्ष पनि महिला अभियानका कारण बलात्कारका घटनामा वृद्धि भएको भन्ने आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका थिए।