अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल

घरेलु मैदानमा भारतलाई हराउने अर्को मौका

नेपालभ्युज

घरेलु मैदानमा भारतलाई हराउने अर्को मौका

काठमाडौं। पहिलो खेलमा सम्मानजनक प्रर्दशन गरेको नेपालले आइतबार भारतसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ।

घरेलु मैदान दशरथ रंगशालामा चार दिनमा दोस्रो पटक भारतीय टिमविरुद्ध उत्रँदा अघिल्लो खेलको प्रदर्शनले नेपालको मनोबल पक्कै उच्च रहने छ।

बिहीबार बलियो प्रतिद्वन्द्वी मानिएको भारतसँग नेपालले १-१ गालको बराबरी गरेको थियो। नेपालले पहिलो हाफको अग्रता जोगाउन सकेन भने खेलमा पाएका अन्य केही मौका पनि सदुपयोग गर्न सकेन। आठ वर्षपछि भारतलाई हराउने सुनोलौ मौका पनि नेपालले गुमायो।

तर, आइतबार त्यो मौका फेरि जुर्दै छ। नेपाली दर्शकसामु बिहीबार केही ‘नर्भसनेस’मा खेलेको भारत दोस्रो खेलमा पनि दबाबमा पक्कै हुनेछ।

भारतलाई पहिलो दबाब नेपाली ‘होम क्राउड’ को र दोस्रो पहिलो खेलमा जित निकाल्न नसक्नु हो। जसको फाइदा नेपालले उठाउन सक्नुपर्छ।

बिहीबार पहिलो खेलमा भारतको ‘डिफेन्सिभ इरर’ को फाइदा उठाउँदै नेपालका स्ट्राइकर अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए।

यसपछि ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले नेपालका गाेलरक्षक किरण चेम्जोङले पञ्च गरी बचाएको रिबाउण्ड बलमा गोल गर्दा खेल बराबरीमा सकिएको थियो।

उक्त खेलमा नेपालको डिफेन्स लाइन निकै बलियो देखिएको थियो। त्यसैगरी किरणले पनि केही राम्रा बचाउ गरेका थिए। तर, नेपालको अग्रपंक्तिले भने त्यो एक गोलबाहेक अन्य खासै मौकालाई सदुपयोग गर्न सकेनन्। पाएका मौकालाई नेपाली स्ट्राइकरले प्रायजसो डि-बक्स बाहिरबाट नै लामो प्रहारमार्फत गोलको प्रयास गर्दा मौका खेर गएका थिए।

उता भारतले त आफ्नो स्तरको खेल देखाउनै सकेन। डिफेन्स लाइन-अपकै गल्तीका कारण गोल खान पुग्यो भने भारतको फ्रन्टलाइन चल्नै सकेन।

न त भारतले वरीयतामा ६३ स्थान माथि रहेको जस्तो खेल खेल्यो, न त इतिहासको आफ्नो दबदबा दोहोर्‍याउन नै सक्यो।

यी दुईबीचको ‘हेड टू हेड’ मा भारतकै वर्चस्व छ। बिहीबारको खेलसम्म गणना गर्दा हालसम्म खेलिएका २० अन्तर्राष्ट्रिय खेलमा १३ खेल भारतले जितेको छ भने नेपालले मात्र दुई पटक बाजी मारेको छ।

पछिल्लो खेलसँगै पाँच खेल बराबरीमा सकिएको छ।

अन्तिम पटक नेपालले भारतलाई हराएको सन् २०१३ को साफमा हो। काठमाडौंमै भएको दशौं साफमा नेपालले २-१ गोल अन्तरको जित निकालेको थियो।

यो श्रृंखलाअघिको नेपाल र भारतबीचको पछिल्लो भेट भने सन् २०१७ मा मुम्बईमा भएको थियो। उक्त मैत्रीपूर्ण खेल घरेलु टिम भारतले २-० ले आफ्नो पक्षमा पारेको थियो।

नेपाल र भारत दुवै आउँदो साफ च्याम्पियनसिपको तयारीस्वरुप यो मैत्रीपूर्ण खेल खेलिरहेका छन्। साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदै छ।

नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीले भनेका छन्,“भारतसँगको यो मैत्रीपूर्ण खेल जितेर साफ च्याम्पियनसिप जित्ने होइन, हारेर नेपालले साफ हार्ने पनि होइन, यो त बस तयारी हो, हाम्रो प्रमुख लक्ष्य त साफ च्याम्पियनसिपको उपाधि हो।”

यो खेलपछि नेपाली टिम थप प्रशिक्षणका लाथि कतार जानेछ। कतारमा मिलेसम्म एक अभ्यास खेल खेलेर नेपाली टोली साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved