मन्त्रिपरिषद् विस्तारको सकस

निरन्तर छलफलमा देउवा, प्रचण्ड र नेपाल

नेपालभ्युज

निरन्तर छलफलमा देउवा, प्रचण्ड र नेपाल

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

हिजो शुक्रबार मात्रै पनि देउवा, प्रचण्ड र नेपालबीच करिब २ घण्टा छलफल भएको थियो। सरकारले पूर्णता पाउन नसकेको र सत्तारुढ गबन्धनमा खटपट मच्चिएको समाचारहरु बाहिरिएका समयमा शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेका हुन्।

सरकार बनेको दोस्रो महिना पुग्ने बेला हुँदासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सत्तारुढ गठबन्धन पछिल्लो समय भने तातेको छ। गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको पछिल्ला दिनहरुमा लगातार भेट तथा छलफल गरिरहेका छन्।

केही दिनयता विभिन्न मिडियामा सत्तारुढ गठबन्धनमा रडाको भएको तथा मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा गठबन्धनको आगामी दिनहरु अनिश्चित बनेको आशयका समाचारहरु आइरहेका छन्। मन्त्रालय रोज्ने क्रममा एकीकृत समाजवादी र जसपाबीच विवाद बढेको समाचारहरु बाहिरिएपछि नेताहरु निरन्तर छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल तथा जनता समाजवादी पार्टीका नेताहरुबीच निरन्तर छलफल भइरहेको हो।

सरकारलाई पूर्णता दिँदै परिणाम निस्केगरी काम गर्न दबाबमा रहेका देउवाले प्रचण्ड र नेपालसँग दैनिक जसो भेट गरिरहेका छन्। उनी प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि फकाउने प्रयासमा छन्।

ओलीलाई सरकारप्रति नरम बनाउनका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दूतको रुपमा खटाइरहेका छन्। पार्टी विभाजन अध्यादेशका कारण रुष्ट बनेका ओलीको सहयोग नरहे संसद चल्न नसक्ने र एमसीसी पनि पास नहुने देखेका देउवा उनीसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्।

देउवाले अध्यादेश ल्याएका कारण तथा सभामुख अग्निप्रसाद सापकोटाले एमालेले १४ सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेका कारण एमाले फुटेको बुझेका ओली अहिले सरकार र सभामुख सापकोटा दुवैसँग रुष्ट छन्। उनको पछिल्ला अभिव्यक्तिले पनि यही कुरा दर्शाउँछ।

माधव नेपालले एमाले फुटाएर (एकीकृत समाजवादी) दर्ता गरेपछि सरकारले पूर्णता पाउने धेरैको अनुमान थियो। तर, एकीकृत समाजवादी दर्ता भए पनि सनाखत प्रक्रिया नसकिँदासम्म सरकारले पूर्णता पाउने सम्भावना अहिले देखिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved