पाठेघरको मुखको क्यान्सर हुनुको कारण, लक्षण र उपचार

नेपालभ्युज

पाठेघरको मुखको क्यान्सर हुनुको कारण, लक्षण र उपचार
सांकेतिक तस्वीर

काठमाडौं। सर्भिक्स भनेको पाठेघरको मुख हो। सर्भिक्समा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर (पाठेघरको मुखको क्यान्सर) भनिन्छ।

पाठेघरको क्यान्सर हुदाँ कोषिकाहरू अनियन्त्रीत भएर विभाजित भई फैलिन शुरु गर्छन्। फैलने क्रममा उपचार गरिएन भने यसको फैलावट टाढासम्म पुगेर मृत्युसमेत हुन सक्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, सर्भाइकल क्यान्सर महिलामा हुने चौथो क्यान्सर हो भने नेपालमा पहिलो स्थानमा पर्छ। विश्वमा वार्षिक करिब पाँच लाख ७० हजार पाठेघरको क्यान्सरको नयाँ केस थपिने र ३ लाख ११ हजार महिलाको मृत्यु हुने डब्लूएचओको सन् २०१८ को तथ्यांकमा उल्लेख गरिएको छ।

नेपालमा वर्षमा २ हजार ९४२ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने र १ हजार ९२८ महिलाको मृत्यु हुने अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आइएआरसी) को प्रतिवेदन २०१८ मा उल्लेख गरिएको छ।

सर्भाइकल क्यान्सर हुने मुख्य कारण भनेको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो। यो भाइरसको प्रकार एक सयभन्दा बढी भए पनि ‘टाइप १६ र १८’ पाठेघरको सङ्क्रमणमा बढी सक्रिय हुन्छन। यो भाइरसले संक्रमण गरिरहँदा सर्भिक्समा हुने परिर्वतनलाई उपचार गरिएन भने १० देखि १२ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको रूप लिन सक्छ।

त्यस्तै, यस क्यान्सर हुने अन्य कारण यस प्रकार रहेका छन्:-

सानो उमेरमा विवाह गर्नु वा यौन सम्पर्क राख्नु

एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क राख्नु

धुम्रपान गर्नु

यौनांगको सरसफाइमा कमी हुनु

लक्षणहरू

योनीबाट गन्हाउने सेतो पानी बग्नु

योनीबाट रगत बग्ने

यौनसम्पर्क गर्दा अत्यधिक पीडा हुनु, रगत बग्नु र घाउ हुनु, जुन घाउ उपचार गर्दा निको नहुनु ।

जोखिम न्यूनीकरणको उपाय

नेपालको सन्दर्भमा हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर धेरैजसो ग्रामीण क्षेत्रका महिलामा भएको पाइन्छ। यसको न्यूनीकरण गर्न शुरुमा एचपीभी भाइरसविरुद्ध खोप लगाउनुपर्छ। यसले भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरको रोकथाम गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई दिँदा प्रभावकारी हुन्छ।

महिलाको २१ वर्ष पुगेका महिलाले प्याप स्मेर परीक्षण गराउनुपर्छ। यो परीक्षण प्रत्येक तीन वर्षमा एक पटक लगाउनुपर्ने हुन्छ। ३० वर्षभन्दा माथिका महिलाले एचपीभीको डीएनए परीक्षण पनि गराउन सकिन्छ।

समय समयमा यस्ता परीक्षण गर्दा सुरुकै अवस्थामा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन सकिन्छ। त्यसबाहेक धुम्रपान नगर्ने, कलिलो उमेरमा यौन सम्पर्क नराख्ने, एकभन्दा धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने, परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग गर्ने र यौनांग सरसफाइमा ध्यान दिनुपर्छ।

क्यान्सरको उपचार

क्यान्सरको उपचार गर्न कुन स्टेज हो भन्ने महत्वपूर्ण हुन्छ। बिरामी पहिलो स्टेजमा भए शल्यक्रिया गर्दा पूर्ण रुपमा निको हुन्छ। दोस्रो स्टेजमा भए रेडियो थेरापी र किमोथेरापी दिइन्छ। यदि पाठेघरको क्यान्सर फैलिएर फोक्सो लगायत अन्य अंगमा पुगेको छ भने किमोथेरापी दिने गरिन्छ।

पाठेघरको मुखको क्यान्सरलाई समयमा पत्ता लगाउन सके पूर्ण रुपमा निको पार्न सकिन्छ। त्यसैले २१ वर्ष नाघेको महिलाले तीन वर्षको अन्तरालमा सर्भाइकल स्क्रिनिङ गराउनुपर्छ। समय समयमा सर्भाकल स्क्रिनिङ गराउनाले पाठेघरको मुखको संक्रमण र अन्य समस्या पनि पत्ता लगाउन सकिन्छ।

भिडियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved