काठमाडाैं । ३६ औं मिनेटमा अन्जन विष्टको गोलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग १-१ को बराबरीमा रोकिएको छ।
साफ च्याम्पियनसिपको तयारीस्वरुप बिहीबार साँझ दशरथ रंगशालामा मैत्रीपूर्ण खेल भएको हो। करिब पाँच वर्षपछि दुवै मुलुकका खेलाडी आमने-सामने भएका हुन्।
खेलको पहिलो हाफको ३६औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए। भारतीय डिफेन्डर चिन्ग्लेनसाना सिंह कोनसामले गोलकिपरलाई ब्याक पास दिएको बललाई छल्दै उनले नेपाली टिमलाई हौसला प्रदान गरे।
सन् २०१५ मा विमल घर्ती मगरले गरेको गोलपछि विष्टले नेपालका तर्फबाट बिहीबार भारतविरुद्ध पहिलो गोल गरेका हुन्। तर, दोस्रो हाफको ६० औं मिनेटमा भारतका वैकल्पिक अनिरुद्ध थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए। तर, पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए।
६५ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गर्दै मनिस डाँगी, सुनिल बल र विशाल राई मैदान प्रवेश गरेका थिए । मनिष नवयुगको स्थानमा, सुनील आयुष घलान र विशाल सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए।
नेपालले अब सोमबार फेरि भारतविरुद्ध अर्को मैत्रीपूर्ण खेल खेल्नेछ।