एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण गरिने

तीन हजारमा परीक्षण

नेपालभ्युज

एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण गरिने

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण सुरु गर्ने जनाएको छ।

नेपालको देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा एक साताभित्र परीक्षण सुरु गरिने परिषद्ले जनाएको छ।

गएको बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपालमा चीनको ‘एमआरएनए’ खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो।

अन्तर्राष्ट्रियस्तरमै खोपमा बीसौं वर्ष काम गरिसेको ‘वालभ्याक्स’ कम्पनीले कोरोनाविरुद्ध एमआरएन खोप उत्पादन गरेको परिषद् प्रमुख डा. प्रदीप ज्ञवालीले बताए।

यो खोप २८ हजार मानिसमा परीक्षण गरिने योजना रहेको छ। कम्पनीले खोप पहिलो र दोस्रो परीक्षण गरिसकेको छ।

कुनै पनि देशले खोपको विकास गरेपछि विन्नि देशहरूलाई परीक्षणका लागि दिने गरिन्छ। सोहिक्रममा तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि नोपललाई छनोट गरेको थियो। सरकारले क्लिनिकल परीक्षणका लागि भदौ १० गते खोप परीक्षणको अनुमति दिएको थियो।

जसअन्तर्गत नेपालमा तेस्रो चरणको खोप तीन हजार मानिसमा वीपी प्रतिष्‍ठानमा परीक्षण गर्न लागिएको उनले बताए।

कुनै पनि खोप मानिसमा परीक्षण गर्नुअघि ल्याब र जनावरमा गर्ने गरिन्छ। त्यसपछि भने थोरै जनसंख्या लिएर मानिसमा परीक्षण गरिने परिषद्ले जनाएको छ।

डा ज्ञवाली भन्छन्, “पहिलो र दोस्रो चरणमा सफल प्राप्‍त गरिसकेकाले तेस्रो चरणको खोपले पनि सफलता पाउनेछ। यो खोप अन्तर्राष्ट्रिय रूपमा पनि परीक्षण भइरहेको छ।”

पहिला थोरै जनसंख्यामा परीक्षण गरिएको त्यो समयमा कुनै पनि असर देखिएन, तर धेरैमा गर्दा त्यसको थोरैभन्दा थोरै पनि असर छ कि भनेर तेस्रो चरणमा हेरिने उनले बताए।

“परीक्षणका क्रममा यो खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि परीक्षण गरिनेछ,” उनले भने।

परीक्षणका क्रममा खोप दिएकाहरूमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने उनको भनाइ छ। “तर गुपचुप रूपमा कसैलाई खोप लगाइँदैन,’ उनले भने।

नेपालमा हालसम्म कोरोनाविरुद्ध दिइएका खोपहरू विदेशमा परीक्षण गरिएका हुन्। यो पहिलोपटक नेपालमा परीक्षण गर्न लागिएको हो। नेपालमा खोप परीक्षण गरिएपछि सहुलियत मूल्यमा उपलब्ध गराउने र पहिलो प्राथमिकतामा राख्‍ने गरी सहमति भएको ज्ञवालीले बताए।

औषधि व्यवस्था विभागले खोपको अनुमति दिनासाथ परीक्षण कार्य बढाइने डा ज्ञवालीले जानकारी दिए।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिशिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी स्पुतनिक भीले गरेर हालसम्म चार वटा कम्पनीका खोपले अनुमति पाइसकेका छन्।

मंगलबारसम्म ५४ लाख २४ हजार ३६ जना (१७.९ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२ जना (१५.४ प्रतिशत) पुगेको छ। पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १६४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved