एन्फा र प्रशिक्षक विवादले अस्थिर नेपाली फुटबल

एन्फाभित्रको राजनीति र आउँदो चुनाव

समर्थकको धेरै माया पाएपछि उनमा एकखाले अहम् पैदा भएको कतिपय खेल विश्लेषकहरू बताउने गर्छन्। त्यसैले पनि हुन सक्छ उनले बारम्बार नेपाली राष्ट्रिय टिमबाट बाहिरिने ‘घुर्की’ देखाइरहेका छन्।

एन्फा र प्रशिक्षक विवादले अस्थिर नेपाली फुटबल

काठमाडौं । नेपाली खेलकुद विवादबाट कहिले पनि अछुतो छैन। त्यसमाथि नेपाली फुटबलको छाता संगठन, अखिल नेपाल फुटबल संघ (एन्फा) झन् धेरै विवादमा तानिने गर्छ। जति ठूलो संघ त्यति धेरै लफडा।

एन्फा कहिले आन्तरिक राजनीतिका कारण, कहिले भ्रष्टाचार त कहिले खेलाडीका कारण किचलोमा परिरहन्छ। यतिबेला एन्फा प्रशिक्षक अब्दुल्ला अलमुताइरी र आफ्ना पदाधिकारीबीचको विवादका कारण नकारात्मक चर्चामा छ।

एन्फाकै कारण आफू समस्यामा परेको प्रशिक्षक अलमुताइरीले बताउँदै आएका छन् भने प्रशिक्षक अलमुताइरीका कारण आफूहरूलाई गाह्रो बनाएको त्यहाँका पदाधिकारीले आरोप लगाइरहेका छन्।

यही विवादका कारण नेपाली फुटबल क्षेत्र फेरि पनि समस्याग्रस्त बनेको छ। अझ भनौं यही कारणले नेपाली खेल क्षेत्रमा नराम्रो छाप परेको छ।

के हो विवाद ?

गत साउन ७ गते अलमुताइरीले ललितपुरको एन्फा परिसरबाहिर धुम्रपान गरेको विषयमा एक अनलाइन पत्रिकाका दुई सञ्चारकर्मीले प्रश्न उठाए। विवादको बीजारोपण यहीँबाट भयो।

यसको ३ दिनपछि अलमुताइरीले सामाजिक सञ्जालमा अचानक एक विष्फोट गराए, “प्रिय नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिन जाँदै छु र मेरो राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष पकंजविक्रम नेम्बाङ हुन्।” उनले तोकेरै नाम लिए।

पछिल्लो समय उपाध्यक्षका कारण आफूलाई काम गर्न असहज भएको उनको आशय थियो। सामाजिक सञ्जालमा समर्थकमाझ निकै सक्रिय र प्रख्यात रहेका अलमुताइरीको यो स्टाटसले समर्थक अरूलाई एन्फाप्रति निकै क्रुद्ध बनायो।

आफ्नो नाम एकाएक यो सन्दर्भमा जोडिएपछि कडा आपत्ति जनाउँदै उपाध्यक्ष नेम्बाङले छानबिन हुनुपर्ने बताए। अलमुताइरीले पनि नेम्बाङ र सञ्चारकर्मीविरुद्ध सरकारी निकायबाटै निष्पक्ष छानबिनको माग राखे। यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गर्‍यो।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रशिक्षक अलमुताइरी, वरिष्ठ उपाध्यक्ष नेम्बाङ र २ सञ्चारकर्मीसहित १४ जनाको बयानपछि छानबिन समितिले राखेपका सदस्य सचिव रमेश सिलवाललाई प्रतिवेदन पनि बुझायो। अब युवा तथा खेलकुद मन्त्रालय हुँदै एन्फासमक्ष उक्त प्रतिवेदन पुग्न बाँकी छ।

प्रतिवेदनले स्पष्ट रूपमा कसैप्रति औंला उठाएन। तर घुमाउरो शैलीमा अलमुताइरीको दोष देखायो। समितिको ११ बुँदे निर्देशनमा अलमुताइरीले व्यवहारिक आचरण सुधार गर्नुपर्ने नै मुख्य आशय निस्कियो।

त्यसपछि उनले एक महिनामा दोस्रो पटक सामाजिक सञ्जालबाट पद छाड्ने घुर्की देखाउँदै अर्को स्टाटस लेखे, “म बाहिरिएँ, राजनीतिले काम गरोस्।”

समग्रमा हेर्दा न यो समस्या ठूलो छ न यसको कारण। तर यी विवादले भित्र अनेकौं कारण हुन सक्ने सम्भावना जन्माएको छ।

एन्फाभित्रको राजनीति र आउँदो चुनाव

अर्को वर्ष वैशाखमा हुने चुनाव एन्फालाई अहिल्यैदेखि लागिसक्यो। यो विवादको मुल जड पनि चुनावकेन्द्रित राजनीतिक दाउपेच नै हो।
तीन वर्षअघिको निर्वाचनमा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलले ‘क्लिन स्विपु गर्दा नेम्बाङ उनकै पक्षका खम्बा थिए। ४ उपाध्यक्षमध्ये सर्वाधिक मत ल्याएका नेम्बाङ पछि वरिष्ठ उपाध्यक्ष बने। तर अब आउने निर्वाचनमा अध्यक्ष पदका लागि नेम्बाङ नै शेर्पाका प्रमुख प्रत्यासी मानिन्छन्।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीको छ। हालको नेतृत्वसँग निकट रहेका अलमुताइरीले नेम्बाङले नै ती सञ्चारकर्मीलाई आफूविरुद्ध प्रयोग गरेको बताउँदै आएका छन्।

तर नेम्बाङ भने यस घटनामा आफ्नो कुनै हात नरहेको दाबी गर्छन्। साथै आफू दुईबीच कुनै व्यक्तिगत झगडा वा दुश्मनी नभएको पनि उनले स्पष्ट पारे।

त्यसोभए अलमुताइरीले उनको मात्र नामै तोकेर किन समस्यामा परेको बताए तर। उपाध्यक्ष भन्छन्,”यो चुनावकेन्द्रित सुनियोजित षडयन्त्र हो। मलाई बदनाम गराउन अरू कसैलै मेरो नाम लिन लगाएको हो।”

तोकेर नाम नलिए पनि उनको आरोप अध्यक्ष कर्मा छिरिङ शेर्पातिर नै इंगित छ। शेर्पाले भने यस विषयमा आफ्नो संलग्नताबारे केही बोलेनन्।

प्रशिक्षकको रवैया बढी

गत चैतमा मात्र नेपाली टिम सम्हालेका प्रशिक्षक अलमुताइरीले छोटो समयै आफूलाई नेपाली फुटबल समर्थकमाझ चर्चित बनाए। उनको प्रमुख हतियार थियो- आधुनिक मिडिया अर्थात् सामाजिक सञ्जाल।

उनले प्रशिक्षण थालेपछि नेपालले मात्र ४ अन्तर्राष्ट्रिय खेल खेलेको छ। एक मैत्रीपूर्ण र विश्वकप छनोटका तीन खेल। जहाँ नेपाली टोलीले मात्र एक जित निकाल्दा तीन खेलमा हार भोग्यो। तर तुलनात्मक रूपमा बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपालले केही फरक र सुधारिएको खेल देखायो। जसले समर्थकमाझ अलमुताइरीको ‘क्रेज’ बढ्यो।

समर्थकको धेरै माया पाएपछि उनमा एकखाले अहम् पैदा भएको कतिपय खेल विश्लेषकहरू बताउने गर्छन्। त्यसैले पनि हुन सक्छ उनले बारम्बार नेपाली राष्ट्रिय टिमबाट बाहिरिने “घुर्की’ देखाइरहेका छन्।

उनी केही तलमाथि भयो कि सामाजिक सञ्जालमा राजीनामाको धम्की दिइहाल्छन्। र समर्थकको सान्त्वना बटुल्छन्। तर आधिकारिक रूपमै राजीनामा प्रक्रियामा जाँदैनन् वा जान चाहँदैनन्।

नेतृत्वको कमजोरी

सुरुआतमै सल्टेको भए अलमुताइरी विवाद त्यति ठूलो समस्या थिएन। प्रतिवेदन सार्वजनिक हुनुअघि नै एन्फाले आन्तरिक छलफलबाट सहमति जुटाउन पनि खोज्यो। तर सकेन।

छलफलमा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफ्नो गल्ती भए राजीनामा दिन तयार रहेको तर अलमुताइरीले पहिला आफूविरुद्ध फेसबुकमा लेखेको हटाएर माफी माग्नुपर्ने धारणा राखे। तर एन्फा अध्यक्ष शेर्पा र महसचिव इन्द्रमान तुलाधरले त्यसो गराउन नसक्ने बताए। त्यसपछि विवाद सुल्झिने छाँटै देखिएन।

छानबिन समितिले अलमुताइरीलाई नै बढी दोष देखाउन सक्ने आकलनका आधारमा एन्फाले प्रतिवेदन बुझ्नुअघि नै दुवै पक्षलाई मिलाउन खोज्यो। यहाँ पनि सकेन। न त नेम्बाङलाई फकाउन सक्यो, न त अलमुताइरीलाई केही भन्न नै। यो घटनालगत्तै अलमुताइरीलाई प्रशिक्षणमा रोक लगाए पनि पोखरामा रहेको राष्ट्रिय टिमलाई प्रशिक्षण दिन पुनः अनुमति दिइयो।

कुवेती नागरिक अलमुताइरी एएफसी प्रो-लाइसेन्स भएका प्रशिक्षक हुन्। एन्फाको अनुरोधमा कतार फुटबल संघले नेपाली फुटबललाई सहयोगस्वरूप व्यावसायिक प्रशिक्षक अलमुताइरीलाई नेपाल पठाएको हो।

त्यसैले कतार फुटबल संघसँग सम्बन्ध बिग्रिने र प्रो-लाइसेन्स प्रशिक्षक भएकै कारण एन्फा अलमुताइरीलाई केही भन्न सक्दैन। नेम्बाङले पनि एन्फा नेतृत्वकै कमजोरीका कारण विवाद समाधान गर्न नसकेको प्रतिक्रिया दिएका छन्।

समस्या सल्टाउने आफ्नो ल्याकत नभएर खेलकुद मन्त्रालयलाई गुहारेको एन्फाको विवाद मन्त्रालयले राखेपको जिम्मा लगायो। राखेपले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनायो।

करिब ३ साता लामो छानबिनपछि समितिले पनि आफू सुरक्षित अवतरण गर्दै एन्फालाई सुझाव दियो “आफ्ना समस्या आफैं समाधान गर।”
घुम्दाघुम्दै एन्फालाई समितिले जहाँको त्यहीँ ल्याएर उभ्याइदियो।

एन्फा अध्यक्ष शेर्पा भन्छन्, “प्रतिवेदन हामीसम्म आइपुगेको छैन, राखेप र मन्त्रालयले अध्ययन गरेर पठाएपछि मात्र निर्देशनको कार्यान्वयन हुन्छ।”

जुँगाको लडाइँ

एन्फा पदाधिकारी र विशेष गरी विदेशी प्रशिक्षकबीच हुने जुँगाको लडाइँ पनि यस्ता समस्याका कारण हुन्। एन्फाका अधिकांश नेतृत्व तहका व्यक्ति आफैंलाई सर्वोपरि ठान्छन्।

पदाधिकारीहरू नेपालीजस्तै विदेशी प्रशिक्षकलाई पनि आफ्नो अधीनमा राख्न खोज्छन्। तर अलमुताइरी फरक देखिए। अनि समस्या उब्जिएको खेल क्षेत्रमा लागिपरेहरू बताउँछन्। दुवै पक्ष एकअर्काविरुद्ध हाबी हुन खोज्दा यस्ता विवाद निस्कन्छन्।

त्यसमाथि अलमुताइरी कतारले पठाएको प्रो–लाइसेन्स प्रशिक्षक हुन्। उनी त झन् झुकेर के काम गर्थे। यसअघिका विदेशी प्रशिक्षकसँग पनि एन्फाको विवाद नभएको भने हैन। कुरो यति हो- यो पटक विवाद बाहिर आयो या ल्याइयो।

सन् १९८० को दशकदेखि नेपाली फुटबलमा विदेशी प्रशिक्षक ल्याउन थालिएको हो। सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटिनडफ आएपछि धेरै विदेशी प्रशिक्षक नेपाल आए।

तीमध्ये एक चर्चित नाम थियो, ग्राहम रोबर्टस्। सन् २०११ मा आएका ब्रिटिस प्रशिक्षक रोबर्टसले नेपाली टोलीमा आक्रामक शैलीको विकास गर्दै राम्रो नतिजा निकाल्न सफल भएका थिए।

नेपाल दक्षिण एसियामा नम्बर १ टिम बन्यो। तर उनी करिब १ वर्षभन्दा बढी नेपाल बसेनन्। उनले टोली छाड्नुमा गणेश थापाको नेतृत्वमा रहेको एन्फाले फुटबल टोलीमा गर्ने अनावश्यक हस्तक्षेप नै प्रमुख कारण थियो।

सन् २०१५ मा आएका अर्का बेल्जियम प्रशिक्षक प्याट्रिक अजेम्स्ले भने नेपाल आउनेबित्तिकै यहाँको फुटबलको भौतिक संरचना नै भएन भनेर झमेला थोलेका थिए।

धेरैजसो विदेशी प्रशिक्षक नेपालको लथालिंग फुटबलको अवस्था, सेवा सुविधा अभाव, पारिश्रमिकको कमी र यहाँको भौतिक संरचना देखेर चिढिन्छन्।

त्यसपछि एन्फाको राजनीति र फुटबल टोलीमा हुने अनावश्यक हस्तक्षेप पनि उनीहरूलाई मन पर्दैन। र यी सबै कारणले अन्त्यमा विवादकै रूप लिने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved