एकीकृत समाजवादी

संसदीय दलको पहिलो बैठकमा माधव नेपालले के भने ?

नेपालभ्युज

संसदीय दलको पहिलो बैठकमा माधव नेपालले के भने ?
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेबाट फुटेपछि आफ्नै नेतृत्व नयाँ दल एकीकृत समाजवादी बनाएमा माधव कुमार नेपालले आज आइतबार पहिलोपटक संसदीय दलको बैठक राखे। निर्वाचन आयोगमा दल दर्ता गरेपछि उक्त पार्टीको आज पहिलो पटकपटक बसेको संसदीय दलको बैठकमार्फत नेपाल दलको नेतामा सर्वसम्मत चुनिए।

संसदीय दलको पहिलो बैठकबाट दलको नेता चयन भएका नेपालले बैठक अवधिभर पुरनो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आगो ओकलिरहे। उनले विभिन्न प्रसंगमा ओलीको आलोचना गर्दै उनीमाथि विविध आरोपहरु लगाए।

बैठकको शुरुवातमै अध्यक्ष नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताए। उनले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए। एमालेमा रहँदा पार्टीभित्र बोल्नसमेत ओलीले नदिएको उनले बताए।

पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ। ओलीले भ्रष्टाचारको विरोध गरेपनि नियन्त्रणमा भने कुनै भूमिका नखेलेर आफ्नो कार्यकालभर थप प्रोत्साहन गरेको नेपालको आरोप छ।

अध्यक्ष नेपालले ओलीलाई आफ्नो कार्यकालको समीक्षा गर्नका लागि महालेखा परीक्षकको ५८ औँ प्रतिवेदन पढ्न सुझाव पनि दिए। उनले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताए।

ओलीराजमा भ्रष्टाचार र अनियमितता मात्रै भएको आरोप लगाउँदै नेपालले महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनले सबै छर्लङ्ग पारेको बताए। अध्यक्ष नेपालले भने, ‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि।’

अध्यक्ष नेपालले ओलीमाथि थप आरोप पनि लगाएका छन्। ओली गोप्य सहमतिका लागि तयार नहुँदा अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाए। उनले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओलीले लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाए।

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अव्यक्ति दिएर मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप नेपालले लगाए। चुनावी घोषणापत्र विपरीत ओली अघि बढेको आरोप दोहोर्याउँदै अध्यक्ष नेपालले ओलीमाथि दक्षिणपन्थीको इसारामा गुटको राजनीति गरेर कम्युनिष्ट एकतालाई मात्रै नभएर एमालेलाई समेत जोगाउन नसकेको आरोप लगाए।

प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधिसभा विघटन गरेको नेता नेपालको आरोप छ। सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेका कारण अहिलेको परिस्थिति आएको नेपालले बताए।

ओलीबारेका टिप्पणीसँगै अध्यष नेपालले एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने बताए। उनले बाहिर हल्ला भएजस्तो आफूहरु तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका हुन्। उनले पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने तथा मुलुक र जनताको हितका लागि क्रियाशील रहने बताए।

नेपालले आफूहरुविरुद्ध फैलाइएको भ्रमलाई पनि चिर्दै अगाडि बढ्ने बताए। उनले आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै पार्टी अघि बढेको पनि बताए। बाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने तथा राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको अध्यक्ष नेपालको भनाइ छ। वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि उनले ठोकुवा गरे।

यीनै मुद्दा र गतिविधिमार्फत एकीकृत समाजवादी पार्टी स्थापित हुनेमा अध्यक्ष नेपाल विश्वस्त देखिए। उनले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी स्थापित हुने दाबी गरे। नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तुल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पार्टी स्थापित हुने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved