क्रिकेट प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

नेपालभ्युज

क्रिकेट प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। ह्वाटमोरले कोरोनाको कारण परिवारबाट टाढा बस्नुपरेकोले राजीनामा दिनुपरेको व्यहोरासहित शनिबार इमेल पठाएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए ।

आठ महिनाअघि मात्र नेपाली क्रिकेट टोलीसँग जोडिएका ह्वाटमोरको अझै लगभग ३ महिना सम्झौता अवधि बाँकी छ। प्रशिक्षक ह्वाटमोर अहिले आईसीसी लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय टोलीसँगै ओमानमा छन्।

नेपालमा काम गर्ने इच्छा हुँदाहुँदै कोरोना महामारीका कारण पद छाड्न बाध्य भएको ह्वाटमोरको भनाइ छ। उनले जारी ओमान सिरिजपछि मात्र नेपाली टोली छाड्ने बताइएको छ।

नेपाली क्रिकेटमा आएका प्रशिक्षकमध्ये सर्वाधिक हाई–प्रोफाइल भएका ह्वाटमोरले सन् १९९६ मा श्रीलङ्कालाई विश्वकप उपाधि दिलाएका थिए। गत पुसमा नेपाली टोली सम्हालेपछि एकाएक उनले टोलीको कमजोर मानिएको ब्याटिङ पक्ष सुधारेका थिए।

सुधारिएको ब्याटिङ कै मद्दतले गत वैशाखमा टीयू मैदानमा भएको मलेसिया र नेदरल्याण्डविरुद्वको त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको उपाधि उचालेको थियो।
नेपाली क्रिकेट र समर्थकहरुले ह्वाटमोरबाट धेरै आशा गरेका थिए। कम्तिमा सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप छनोट गराउन उनको साथ नेपालले खोजेको थियो।

कोरोना र परिवारकै कारणले मात्र प्रशिक्षकले राजीनामा दिएको हो भने उनको परिवारलाई नै नेपालमा राख्न तयार रहेको क्यानको भनाइ छ। तर, ६७ वर्षीय ह्वाटमोरले परिवारको कारणले मात्रै नेपाल छाड्न लागेका भने देखिँदैन। विशेषगरी नेपाल आउनुअघि नै उनले भारतको रणजी ट्रफी टोली बरोडासँग सम्झौता गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए।

नियमअनुसार ३५ प्रतिशत कर कटाएर ह्वाटमोरले नेपालमा करिब ७ हजार अमेरिकी डलर मासिक तलब पाउँछन्। बरोडासँग योभन्दा करिब दोब्बर रकममा पहिले नै सम्झौता भइसकेको बुझिएको छ।

ह्वाटमोरको राजीनामा आउनुमा कोरोनाको कारण पर्याप्त खेलकुद गतिविधि नहुनु, भद्रगोल अवस्थाको क्यान व्यवस्थापन, श्रम सम्झौता समस्याका कारण शुरुको ३ महिना समयमा तलब नपाउनु, यसै वर्ष पारसले सन्यास लिनु आदि कारण रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved