कांग्रेस महाधिवेशन

शीर्ष नेताबीच जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने सहमति

नेपालभ्युज

शीर्ष नेताबीच जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने सहमति
फाइल फाेटाे

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएसँगै पार्टीभित्र विभिन्न विषयमा असहमतिहरु देखिँदै आएका छन्। सँगसँगै ती असहमतिमा समाधानको बाटो निकाल्दै शीर्ष नेताबीच नयाँ सहमति पनि बन्ने गरेको छ।

यसैक्रममा कांग्रेसका शीर्ष नेताबीच फेरि नयाँ सहमति भएको छ। सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताबीच विभिन्न माग राखेर आन्दोलनमा रहेका जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने विषयमा नयाँ सहमति भएको हो।

सभापति देउवा, वरिष्ठ नेता रामभन्द्र पौडेल र अन्य शीर्ष नेताहरुबीच देशभरका सबै जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशन गर्नेदेखि सबै वडाहरुमा एकैदिन अधिवेशन गर्ने सम्मका विषयमा सहमति भएको हो। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकपछि सभापति देउवा जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न तयार भएका हुन्।

क्रियाशील सदस्यता सबै जिल्लाको सार्वजनिक गरी सच्याउनका लागि जिल्लालाई समय दिनुपर्ने, जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने तथा एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपता कायम गर्नुपर्ने लगायत माग राख्दै जिल्ला सभापतिहरु आन्दालनमा उत्रिएका थिए।

यसअघि, जिल्ला सभापतिहरुको मागप्रति उदासिन देखिएका सभापति देउवा हिजो शुक्रबारको छलफलपछि ती मागहरु सम्बोधन गर्न तयार भएका छन्। सकेसम्म आज शनिबार नै ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरी सच्याउन जिल्लालाई दुई दिनको समय दिने विषयमा देउवा सकारात्मक बनेका हुन्।

माग पूरा गर्न सभापति देउवा तयार भएसँगै जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा जारी राखेको अनसन पनि अन्त्य हुने भएको छ। जिल्ला सभापतिहरुको अनसन अन्त्यको जिम्मेवारी क्रियाशील सदस्यता छानबिन समितिलाई जिम्मेवारी दिइएको बालुवाटार स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved