पत्रकार सम्मेलन गर्दै माधव नेपालले भने, ‘नयाँ पार्टी हामीसँगै अरुका लागि पनि आवश्यक भयो’

नेपालभ्युज

पत्रकार सम्मेलन गर्दै माधव नेपालले भने, ‘नयाँ पार्टी हामीसँगै अरुका लागि पनि आवश्यक भयो’
फाइल तस्वीर

काठमाडाैं। नेकपा एमाले विभाजनपछि गठन भएको नयाँ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ता आफूहरुका लागि मात्रै नभएर अरुका लािग पनि आवश्यक भएको बताएका छन्। एकीकृत समाजवादीको तर्फबाट पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेसँगै आफ्ना समूहका जनप्रतिनिधिको पदको सुरक्षा सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको अध्यक्ष नेपालले बताए।

संवैधानिक अनुकूलता प्राप्त भएसँगै आफूहरुले एउटा निकास पाएको अध्यक्ष नेपालले बताए। उनले नयाँ दलले मान्यता पाएसँगै आफूहरुले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भएको पनि बताए। अध्यक्ष नेपालले भने, ‘अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्यो।’

अध्यक्ष नेपालले समग्र नेता कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह पनि गरेका छन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीमाथि दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाउँदै नेता कार्यकर्तालाई आफ्नो पार्टीमा गोलवद्ध हुन आग्रह गरे।

ओली सरकार सञ्चालनमा पटकपटक असफल भएको भन्दै अध्यक्ष नेपालले उनले दक्षिणपन्थी भासमा फसेर एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको आरोप लगाए। अध्यक्ष नेपालले भने, ‘दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहन्छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved