नर्सिङ तथा पारामेडिक्स कलेज सञ्चालकको माग, ‘कि विद्यार्थी दिनु कि साँचो लिनु’

नेपालभ्युज

नर्सिङ तथा पारामेडिक्स कलेज सञ्चालकको माग, ‘कि विद्यार्थी दिनु कि साँचो लिनु’

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरूले विरोध जनाएका छन्।

अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरूलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरे आफूहरूले कलेजको चाबी आयोगलाई बुझाउने चेतावनी दिएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा सोमबार नै गएर सांकेतिक रूपमा कलेजहरूको साँचो बुझाउने बताए। उनले भने, ‘आयोगले कलेजको अनुगमन गर्‍यो, सिट संख्या तोक्यो तर परीक्षा मापदण्ड नै अव्यहारिक बनायो र विद्यार्थी भर्ना नै नहुने अवस्थामा पुर्‍यायो। यसले हाम्रो कलेज पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको छ।’

अध्यक्ष अधिकारीले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याए मात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गरे। ‘यो आइओएमलाई मात्र हेरेर बनाइएको नियम हो,’ उनले भने, ‘चार वटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् उनीहरू सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो।’

हुनपनि आयोगले बीपीएचमा कुल एक हजार ४२० कोटा छुट्याएको छ। तर ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्। त्यसैगरी , बिएससी नर्सिङ १हजार १ सय छुट्याइएकोमा ५सय ४ जना पास भएका छन्।

बीएस्सी नर्सिङमा एक हजार १०० कोटा छ, तर ५०४ जना मात्रै उत्तीर्ण छन्। बी फार्मेसीमा ९०२ वटा कोटा छ, तर ५४७ जना मात्रै उत्तीर्ण छन्।

फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटा छ, त्यहाँ ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बीएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन्।

नर्सिङ कलेज सञ्चालक केपी सिंह परीक्षामा भएको त्रुटिकै कारण कम विद्यार्थी पास भएको बताउँछन्। पारामेडिक्स (सीटीईभिटी) तर्फबाट आएका विद्यार्थीहरूलाई ‘बायस’ भएर प्रश्नपत्र तयार भएको उनी जिकिर गर्छन्। ‘अधिकांश परीक्षार्थी पारामेडिक्सतर्फका छन् तर, प्रश्न भने अधिकांश प्लस टू तर्फबाट आएको छ’, उनी थप्छन्, ‘प्रश्न पनि अति कडा सोधिएको छ।’

आयोगको यो परीक्षा र नतिजाले नेपालमा निजीस्तरबाट संचालन भएका मेडिकल शिक्षण संस्थालाई बन्द गराएर विद्यार्थी विदेश पठाउने रणनीति त लिएको होइन भन्ने शंका उब्जिएको उनले बताए।

‘यहाँ नाम ननिस्केकाहरू बीएस्सी नर्सिङ तथा प्यारामेडिक्सका अन्य विषय पढ्न भारत तथा बंगालदेशतर्फ लागिसकेका छन्। उनले अहिले बाहिर जानका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने भएता पनि चार वर्षपछि जे त होला भन्दै त्यसतर्फ लागेको सुनाउँछन्,’ भन्छन्, ‘अहिले त मेरै कतिपय नजिकका आफन्तले समेत यहाँ पढाउन नपाएपछि छोराछोरी बाहिर धमाधम पठाउन थालिसकेका छन्। नियममा प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गर्दै गएका छन्,’ उनले चिन्ता व्यक्त गर्दै भने।

पोखरा विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको संगठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताउँछन्। ‘प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा पढ्न नदिनु भनेको उचित हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थीको इच्छाशक्ति भए पढ्न शुरु गरेपछि ४ वर्षको अवधिमा कम नम्बर ल्याउने विद्यार्थी पनि उत्कृष्ट बनेका धेरै उदाहरण छन्।’

कलेज सञ्चालकहरूले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पास मार्क घटाएर भए पनि कोटा पूरा हुने गरी विद्यार्थी संख्या उपलब्ध गराउनुपर्ने बताए।

कलेज सञ्चालकहरूले यसअघि आयोगका अधिकारीहरूलाई भेट्दा जसरी कोटा पूरा हुने गरी विद्यार्थी उपलब्ध गराउने आश्वासन पाएको तर परीक्षाको मापदण्ड बिगारेर निजी कलेजमाथि अन्याय गरेको समेत आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved