माधव नेपाल छाडेका र संस्थापनबीच जेठ २ अघि फर्किने सहमति

नेपालभ्युज

माधव नेपाल छाडेका र संस्थापनबीच जेठ २ अघि फर्किने सहमति

काठमाडाैं । नेकपा एमालेको संरचना २०७५ जेठ २ अघिकैमा फर्काइने संस्थापन र माधव नेपाल छाडेका ९ जना स्थायी कमिटी सदस्यबीच सहमति भएको छ।

अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र माधव छाडेका स्थायी कमिटी सदस्यहरूबीच सोमबार दिउँसो भएको छलफलमा मंगलबारलाई बोलाइएको स्थायी कमिटीको बैठक २०७५ जेठ २ पूर्वको पार्टी संरचनाअनुसार हुने बताइएको हो।

एमालेका वरिष्ठ नेता नेपालले दर्ता गरेको पार्टीमा नलागेका र फर्किन चाहनेलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्काउने सहमति भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए। उनले भने, ‘१० बुँदे सहमति व्यवहारिक रुपमै कार्यान्वयन गर्ने सहमति भएको छ। त्यसैले सबै साथीहरू पूर्ववत् जिम्मेवारी दिइने बाचा अध्यक्षज्यूले गर्नुभएको छ।’

छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले केन्द्रदेखि वडातहसम्मका कमिटीहरूको संरचना जेठ २ अघि फर्किएको बताए। उनले भने, ‘अध्यक्ष कमरेड र हामीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको छ। अध्यक्षज्यूले जुन–जुन नेताहरूको जिम्मेवारी जे छ, त्यसैमा फर्काइएको बताउनुभएको छ।’

उनले आफूहरूबीच उक्त सहमति कार्यान्वयनका लागि निश्चित मोडालिटी तय गर्ने सहमति भएको पनि बताए। त्यो मंगलबार बस्ने स्थायी कमिटीले निर्माण गर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved