काठमाडाैं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटामा एमाले स्थायी कमिटी सदस्यहरू सम्मिलित बैठक सकिएको छ। १० बुँदे कार्यान्वयनको निर्णायक छलफलमा माधव नेपाल छाडेका सबै स्थायी कमिटी सदस्य सहभागी भएका थिए।
बैठकमा अध्यक्ष ओलीसँगै र महासचिव ईश्वर पोखरेल, भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए। छलफल चलिरहँदा प्रदीप ज्ञवाली पनि आइपुगेका थिए।
त्यहाँ सहभागी नेताहरूले १० बुँदे कार्यान्वयनमा जोड दिँदै अलग्गिएर हिँडेको माधव नेपाल समूहलाई पनि फर्काउनुपर्ने बताएका थिए।
छलफलमा बागमतीकी मुख्यमन्त्री तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले छाडेर कतै जान नसकिने बताइएकी थिइन्। साथै उनले माधव नेपाल झलनाथ खनाल र वामदेव गाैतमलाई पनि पार्टी फर्काउन शीर्ष नेताहरूले पहल गर्नुपर्ने बताइन्।
बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले स्थायी कमिटी बैठक भोलि बिहान लागि बोलाइएको जानकारी दिए। मंगलबार बिहानका लागि बोलाइएको बैठकमा नेपाल समूहसँग गएका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताए।