एमालेविरुद्ध सत्तारुढ गठबन्धनको संयुक्त वक्तव्य : ‘सभामुखलाई धम्क्याउन बन्द गर’

नेपालभ्युज

एमालेविरुद्ध सत्तारुढ गठबन्धनको संयुक्त वक्तव्य : ‘सभामुखलाई धम्क्याउन बन्द गर’

काठमाडाैं। प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई धम्क्याएको तथा दबाब दिएको भन्दै सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले संयुक्त वक्तव्य निकालेका छन्।

सोमबार एक वक्तव्य निकाल्दै सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा एकीकृत समाजवादीका सांसदहरुले सभामुखलाई धम्क्याउन बन्द गर्न भनेका हुन्।

वक्तव्यमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल तथा जसपा प्रतिनिधि सांसद प्रदीप यादव तथा प्रस्तावित एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘यही २०७८ भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्युलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्मानीय सभामुखज्युविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

संविधानअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि भएको भन्दै वक्तव्यमा सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको ठोकुवा गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखज्युविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved