मुख्यमन्त्री ग्रामीण सडक अलपत्र

नेपालभ्युज

मुख्यमन्त्री ग्रामीण सडक अलपत्र

पाँचथर । बजेट अभावमा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र भएका छन्। आयोजनाअन्तर्गत विभिन्न चार सडकको आर्थिक वर्ष २०७६/०७७ बाट ट्र्याक खोल्न शुरू भएकोमा अहिले काम रोकिएको छ।

गत आव २०७७/०७८ मा बजेट विनियोजन नहुँदा काम अवरुद्ध भएको छ। सोभन्दा अघिल्लो आवमा गरिएको निर्माणको केही भुक्तानी भने उपलब्ध गराइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। आयोजनाअन्तर्गत पाँचथरमा हेंवा खोला, निबु खोला, नावा खोला कोरिडोर तथा मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडक निर्माण शुरू भएको थियो।

कार्यालयको वार्षिक प्रगति प्रतिवेदनअनुसार चार वटै सडकमा गत आवमा निर्माणको काम भएन। ट्र्याक खोल्न थालिएका ती सडक एक वर्षभन्दा अघिदेखि अलपत्र छन्। स्रोत सुनिश्चित नभई उपलब्ध भएभन्दा बढी बजेटको ठेक्का लगाइँदा प्रदेश सरकारले मुख्य प्राथमिकताकै सडकको निर्माणलाई अगाडि बढाउन सकेको छैन। अत्यावाश्यक मानिएका सडक प्रदेशले मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले मनपरि ठेक्का लगाउँदा आव २०७६/०७७ मा सम्पन्न योजनाको रकमसमेत गत आवमा मात्रै निकासा गरिएको थियो ।

यसको उदाहरणका रुपमा मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडकको आव २०७६/०७७ मा सम्पन्न ट्र्याक खोल्ने कार्यको निकासास्वरूप गत आवमा २९ लाख १२ हजार रकम निकासा दिइएको कार्यालयको वार्षिक प्रतिवेदनमा जनाइएको छ । कोभिड–१९ को महामारीका कारण पूर्वाधार विकासका क्षेत्रको बजेट महामारी नियन्त्रणमा लगाइँदा पूर्वाधार निर्माणका कार्य प्रभावित बनेका बताइएको छ ।

यद्यपि आगामी आवमा भने यी आयोजना अगाडि बढाउन प्रदेश सरकारले बजेट सिलिङ तयार पारेको छ । ‘ट्र्याक खोल्ने मात्रै काम भएकाले एक वर्षपछि निर्माणलाई निरन्तरता दिँदा पनि कुनै समस्या भने हुँदैन’, कार्यालयका इञ्जिनियर टीकाराम लिम्बूले भने, ‘गत वर्ष रोकिएको स्थानबाट ट्र्याक खोल्ने काम शुरु हुन्छ।’ आयोजनाअन्तर्गतका सडक योजनाको कूल लागत तथा लम्बाइसमेत यकिन नगरी ट्र्याक खोल्न थालिएको थियो।

जिल्लाका तीन कोरिडोर सडकको ट्र्याक खोल्ने कार्यमा समान ८७ लाखका दरले बजेट विनियोजन भएको थियो। उक्त बजेटबाट हेवा खोला कोरिडोरको २.७६ किमि, निवु खोला कोरिडोरको २.६ किमि र नावा खोला कोरिडोरको ३.९ किमि ट्र्याक निर्माण सम्पन्न भएको थियो। यस्तै हेवा कोरिडोरको २१ किमि र नावा तथा निवु कोरिडोरको समान २३ किमिको डीपीआर तयार भएको थियो।

आठ मिटर चौडाइको सडक निर्माण हुने यी कोरिडोरमध्ये नावा कोरिडोर २३ किलोमिटर हुने तय भए पनि बाँकी दुई कोरिडोरको लम्बाइ यकिन छैन। कोरोना संक्रमण र जारी निषेधाज्ञाले निर्माण कार्य प्रभावित भएको, बजेट नभएको र अन्तिम समयमा उपलब्ध बजेट कार्यान्वयनमा लैजान नसकिएको प्रतिवेदनमा उल्लेख छ। अख्तियारीबमोजिम बजेट प्राप्त नभएको, दरबन्दीअनुसार प्राविधिक नरहेका तथा सवारीका साधनको अभाव जस्ता कारणले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved