मध्यभोटेकोशी आयोजनाको प्रगति : ९ वर्षमा ६५ प्रतिशत

नेपालभ्युज

मध्यभोटेकोशी आयोजनाको प्रगति : ९ वर्षमा ६५ प्रतिशत

काठमाडाैं : सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए।

६ वर्षअघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि धकेलिँदै गएको छ। हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनुपरेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उनको भनाइ थियो।

आयोजनामा कार्यरत धेरै कामदार कोरोना सङ्क्रमित भएकाले पनि काममा असर पुगेको भुर्तेलले बताए। यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन्। सात सय २४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ। विद्युत् गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ।

काठमाडौँ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सव–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया शुरु भएको छ। यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वन क्षेत्रमा रहने हुदाँ वन तथा वातावरण मन्त्रालयबाट रूख कटानका स्वीकृति आउने प्रक्रियमा छ।

त्यस्तै पाँच वटा टावर व्यक्तिको जमिनमा परेकाले मुआब्जाको प्रक्रिया सुरु गरिएको छ।

१४ अर्ब ५० करोड रुपैयाँ स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved