गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा निकै हर्षित भएको बताएका छन् ।
गोरखामा उम्मेदवारी दर्तापछि भएको सभामा बोल्दै भट्टराईले आफ्नो पालामा जिल्लामा विकासका पूर्वाधार बनेको र अब प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धितर्फ जाने बाटो खुलेको बताए । उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुसी छु ।’
उनले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परा तोड्दै आफूले यसपटक उम्मेदवारी नदिएको बताए । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखा आएका भट्टराईले भने, ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई तोड्नै पर्थ्यो, अहिले त्यो ठीक अवसर आएको छ ।’
भट्टराई गोरखा–२ मा प्रचण्डका प्रस्तावकसमेत बसेका छन् ।
Facebook Comment
Comment