साहित्यले सिकाएको राजनीति
अँ त, हामीले उनीहरूसँग बन्दुक माग्यौँ। कस्तो आश्चर्य ! तीन जना लवरपाँडे केटाहरू आएका छन्, नेपालमा क्रान्ति गर्नका लागि, समतामूलक समाज निर्माण गर्नका लागि बन्दुक, गोला पो माग्छन् ! हो, हामीले त्यसै गर्यौ हामीमा म पनि थिएँ तर चुपचाप।

हाईस्कुल पढ्दा साहित्य गोष्ठीहरू भइरहन्थे– स्कुलले आयोजना गरेका दिवसहरूमा अथवा जिल्लास्तरीय कार्यक्रमहरूमा वा राष्ट्रिय दिवसहरूका उपलक्ष्यमा सदरमुकाममा आयोजित प्रतियोगिताहरूमा। कहिले कविता, कहिले कथा त कहिले निबन्ध प्रतियोगिता भइरहन्थे। यसमा भाग लिन्थ्यौँ हामी। राम्रा कविता लेख्ने र वाचन गर्नेमा प्रदीप र मेरो अगाडि–पछाडि भइरहन्थ्यो। हामी पुरस्कृत हुन्थ्यौँ अनि पुलकित भएर फेरि लेख्ने जाँगर चलाउँथ्यौँ।
केटाकेटी छँदादेखि नै सृजनामा रुचि राखे पनि यो मौसमी बाजा थियो। प्रतियोगिताका लागि लेख्यो, वाचन गर्यो, बुझाइदियो, पुरस्कार थाप्यो, काम तमाम। तीमध्ये दुईचार वटाका विषयवस्तु सम्झन्छु। कवितामा प्रकृति, देशप्रेम मुख्य विषय हुन्थे भने कथामा संवेदनशील विषयहरू जस्तै, कलाकारको दुःख, नारीहरूको वेदना समेट्ने गरेको थिएँ। एउटा कथाको शीर्षक सम्झन्छु, ‘मृतकको मुरली’। पछि ‘प्राची’ मा प्रकाशित भएको थियो यो कथा। तर फेला पार्न सकेको छैन।
कलेज पढ्न थालेपछि पनि लेख्ने क्रम जारी रह्यो। लेख्नका लागि पढ्नु अनिवार्य हुन्छ। अध्ययन, चिन्तन, मननपछिको लेखन प्रभावकारी हुन्छ भनिन्छ। किताबको कीरो भएर नै पढियो, लेख्नचाहिँ अलि कमै लेखिएछ। हुन त कुनै पनि लेखकले सचेततापूर्वक यस्ता प्रक्रिया पूरा गरेका हुँदैनन्। तथापि यी प्रक्रिया आफैँ पूरा हुन्छन्, ‘नियमित आकस्मिकता’ जस्तो। कलेजका दिनमै लेखिएको ‘रानीपोखरीको डिलतिर’ यस्तै शीर्षकको कविता त्रिचन्द्र कलेजको साहित्यिक मुखपत्र ‘ज्योत्स्ना’ मा प्रकाशित भएको थियो। तर अहिले कतै फेला पर्न सकेको छैन। बि.ए. अनर्स गर्दाका अधिकांश शनिवार पद्मको घरमा बिताइन्थ्यो। दिनभर साहित्यिक चर्चा अनि धेरैजसो बसेर कविता लेखन पनि। अनि, एकअर्काका स्रोता आफूआफैँ। यो उपक्रममा कहिलेकाहीँ (प्रा. डा. जयराज आचार्य, पूर्वराजदूत) पनि सामेल हुनुहुन्थ्यो।
महफिलजस्तो जम्थ्यो। उहाँ र म पद्मका मिल्ने साथी अनि साथीको साथी स्वतः साथी भइहालियो। त्रिचन्द्र कलेजमा भर्ना हुँदा विज्ञान नपढी कला पढियो, जबकि पहिले विज्ञान संकायमा नाम निस्किएको थियो। त्यसपछि विषय छान्दा पनि ‘अर्थशास्त्र’ नछानेर ‘मनोविज्ञान’ छानेँ। नारायण दाइले (काठमाडौँमा पढ्ने हामी सबै दाजुभाइमध्येका अग्रज, पथप्रदर्शक) त साइन्स नपढेपछि एउटा आँखा फुट्यो, अर्थशास्त्र पनि नपढ्दा त अर्को आँखा पनि फुट्छ भन्छन् नि त भनेर नरम पाराले पढ्ने विषयको चयनसम्बन्धी त्यतिखेरको आमधारणा बताउनुभएको थियो तर मैले आफ्नो सूर छोडिनँ।
संयोगले ऐच्छिक विषय चयन गर्ने सवालमा म जहिल्यै पनि एक्लै भएछु। हाई स्कुलमा ऐच्छिक गणित लिने तर भूगोल छाडेर इतिहास रोज्ने, आईएमा गणित र मनोविज्ञानजस्ता नमिल्दा विषय छान्ने अनि बिएमा अनर्स गर्ने र केटाहरूको रोजाइमा नपर्ने मनोविज्ञान रोज्ने र बीएडमा अङ्ग्रेजी र गणित जस्ता दुवै कठिन विषय छान्ने। आफूले पढ्ने सबै विषय पढ्ने त कुनै सहपाठी नै भएनन् कहिल्यै पनि। स्नातकोत्तरमा चाहिँ एउटै विषय हुनाले साथी नै साथी।
मनोविज्ञान पढ्दा फ्रायडवाद पढियो अनि गुरुप्रसाद मैनालीका भन्दा बीपी कोइरालाका कथा किन फरक छन् भन्ने पत्ता लाग्यो। यौन मनोवैज्ञानिक चेतले ओतप्रोत बीपीका कथाहरूमा निहित अर्थ बुझ्न सिग्मण्ड फ्रायड बुझ्नु जरुरी रहेछ। मलाई यो सुविधा सहजै प्राप्त भयो, मनोविज्ञान विषय पढेकाले। आईए पढुञ्जेल राजनीतिमा पटक्कै रुचि थिएन। जनकपुर अञ्चलबाट काठमाडौँ आएर पढ्ने विद्यार्थीहरूको साझा विद्यार्थी सङ्गठन गौरीशङ्कर छात्र समिति थियो। त्यसको निर्वाचनमा पनि भोट खसाल्न जाँगर नचलाउने। हुन त कमला हाई स्कुलमा ९–१० कक्षाको विद्यार्थी छँदा छात्र समितिमा चयन भएको थिएँ।
त्रिचन्द्र कलेज राजनीतिको अखडा थियो। यस्तो लाग्थ्यो, सबैखाले राजनीतिक गतिविधिको सुरुवात यहीँबाट हुन्छ। अन्त्यचाहिँ कहाँ हुन्छ, ठेगान हुन्नथ्यो। यस्तो बेलामा सीताराम मास्के (स्वर्गीय) प्रगतिशील पक्षबाट र मार्शलजुलुम शाक्य (स्वर्गीय) प्रजातन्त्रवादीका तर्फबाट चुनावदेखि लडाइँ, झगडासम्ममा उत्रन्थे। व्यालेटदेखि पाएमा बुलेटसम्म– भनेजस्तो बुलेट नभए पनि खुर्सानीको धुलोचाहिँ छ्यापछ्याप्ती खेलिन्थ्यो त्यस बेला। यस्तो मारामार भएको बेला मचाहिँ फुर्सदिलो भएर सिनेमा हेर्न जान्थेँ।
नेपाली साहित्यमा फ्रायडवाद मात्र प्रवेश गरेन, सँगसँगै मार्क्सवादको पनि प्रवेश भयो। प्रगतिशील लेखकहरू धमाधम देखा पर्न थाले। थोरै प्रगतिशील चेत भएका लक्ष्मीप्रसाद देवकोटाका आगो ओकल्ने कविता, गोपालप्रसाद रिमाल, भूपी शेरचन, युद्धप्रसाद मिश्र, कृष्णचन्द्रसिंह प्रधान, रमेश विकल, श्यामप्रसाद शर्मा, केवलपुरे किसानहरूका विद्रोही स्वरहरू नेपाली साहित्यमा आउँदै गर्दा विशुद्ध सामाजिक विषयवस्तु, यौन मनोविज्ञानमा आधारित विषयवस्तु र प्रगतिशील–सामाजिक विषयवस्तु नै साहित्यमा आउने प्रमुख धारहरू थिए। हुन त आयामेलीजस्ता नयाँ शब्दावली बोकेर, झर्रोवाद र अस्तित्ववाद, स्वच्छन्दतावाद र प्रगतिवादी आदिइत्यादिवादको घेराले साहित्य नै टाक्सिएजस्तो लाग्थ्यो तर जति बुझ्दै गयो, तत्त्वहरू खुल्दै जाने रहेछन्।
‘Sex, Sex, Everything is roaming over Sex” जस्ता भनाइले सिग्मण्ड फ्रायडको चेतन, अर्धचेतन र अचेतन मनको व्याख्यालाई कमजोर तुल्याइदिएको थियो। मनोविज्ञानको पनि विद्यार्थी भएको नाताले मैले यतातिरका मूलभूत सिद्धान्तहरू पनि अध्ययन गरेको थिएँ। युवामस्तिष्कलाई यौनिक विषयले तान्न त तान्यो तर त्यसतर्फको आकर्षण क्षणिक रह्यो। फ्रायडवाद नै सम्पूर्ण जीवन दर्शन हुनसक्छ भन्ने विश्वास कहिल्यै जागृत भएन। जीवनको एउटा अंशमा यौनको विषय पनि आउन सक्छ तर यसैले जीवन निर्देशित गर्न सक्तैन। यस्तै लाग्थ्यो, मेरो युवा मनमा।
समग्रमा सामाजिक–यथार्थवादी चेत भरिएका प्रगतिकामी मानवतावादी साहित्यले नै मलाई प्रभावित पारिरह्यो र बिस्तारै डोर्यायो पनि। महाकवि देवकोटाको सौन्दर्यचेतमा पनि म मानवतावादको प्रचुरता देख्थेँ; कताकता प्रगतिपथका झिल्काझिल्की पनि देखा पर्दथे। कलेज जीवनमा रोमाञ्चित अनुभूति हुने खालका रचनाहरूले आकर्षित गर्ने हुनाले ती तिलस्मी–जासुसीभन्दा भिन्न तर परिवर्तनका संवाहक लाग्दथे। रहस्य र रोमाञ्चले भरिएका आख्यान रोचक लाग्थ्यो।
यही बेला गौरीशङ्कर छात्र समिति नामक जनकपुर अञ्चलबाट काठमाडौँ आएर पढ्ने विद्यार्थीहरूको छात्र सङ्गठन सक्रिय थियो। यसमा प्रगतिशील र प्रजातन्त्रवादी विद्यार्थीहरू भिडिरहन्थे तर यो भिडन्त विचारको र व्यालेटको हुन्थ्यो। त्रिचन्द्रमा जस्तो भौतिक र खुर्सानीको धुलो–युद्ध हुँदैनथ्यो। रुमानी क्रान्तिकारिताको चेतले भरिएका थियौँ हामी। हामीलाई रमाइलोसँग सत्ता प्राप्ति गरेका फिडेल कास्ट्रो र चे ग्वे भाराका कथाले तान्दथे। यिनै रुमानी चिन्तनले डोर्याएर एक बिहान सुशील, प्रकाश र म चिनियाँ दूतावास पुग्यौँ। म त साक्षीजस्तो मात्रै थिएँ– साथीहरूको साथ लागेको। उनीहरूचाहिँ अलि लागिपर्न थालेझैँ लाग्थ्यो। ‘समाज’ पत्रिकाका माध्यमबाट पत्रकारितामा संलग्न भएकाले पनि होला, उनीहरूलाई राजनीतिको हावा मलाई भन्दा बढी लागेको थियो।
सुशीलको भनाइमा म अलि गम्भीर पनि थिएँ रे ! बिहानै दूतावासमा पुग्दा बडो राम्रो खातिरदारी गरियो। म त्यतिखेर तीनछक परेँ, जब त्यहाँ तारेको काजु, बदाम, ह्वाइट र्याबिट चकलेट (त्यतिखेरको यो चकलेट जिब्रोमै झुन्डिएको, सररर पग्लेर जाने थियो, आजको जस्तो तल्लो गुणस्तरको थिएन) र वियरले स्वागत गरियो। पत्रकार साथीहरूले त अतिथि सत्कारको अवज्ञा नगर्ने प्रतिज्ञा गरेझैँ बिहानै घुट्क्याए तर थोरै मात्र; हामी भन्छौँ नि ‘सोसल ड्रिङ्क’– त्यस्तै। काजु र ह्वाइट र्याबिटकाे स्वादमा मैले पनि जिब्रोलाई चलायमान पारिरहेँ। अँ त, हामीले उनीहरूसँग बन्दुक माग्यौँ। कस्तो आश्चर्य ! तीन जना लवरपाँडे केटाहरू आएका छन्, नेपालमा क्रान्ति गर्नका लागि, समतामूलक समाज निर्माण गर्नका लागि बन्दुक, गोला पो माग्छन् ! हो, हामीले त्यसै गर्यौ हामीमा म पनि थिएँ तर चुपचाप।
चुप हुनु गम्भीर हुनु पनि हो क्यार! उनीहरूले के बुझे उनै जानुन्, मैलेचाहिँ बन्दुक माग्न जाँदैछौँ भन्ने बुझेको थिइनँ। ट्याम्पुमा सरर गइएथ्यो, मागियो बन्दुक। ‘मौनम् सम्मति लक्षणनम्’ मलाई पनि बन्दुकै चाहिएजस्तो भयो। हाम्रा कुरा गम्भीरताका साथ सुनेर उनीहरूले हामीलाई एउटा भिजिटिङ कार्ड दिए र भने, “यी मान्छेलाई भेट्नूस्, तपाईँलाई मद्दत गर्नेछन्। अपराह्नतिर भेट्नु होला।”
यस्तो कार्ड पहिले देखेको थिइनँ मैले। साथीहरूले त देखेका थिए होलान्। पत्रकार जो ठहरिए। हामीले जबरजस्ती सांस्कृतिक सहचरी पदनाम भएका ती मनुवालाई भेट्यौँ। चिल्लो, डल्लो, रगत चुहिएलाजस्ता गाला भएका यिनले हामीलाई “चिया पिउनुहुन्छ ?” भनेर सोधे। मलाई त खोजेकै मिल्यो। चिया–बिस्कुट खाइसकेपछि उनले एकएक प्याकेट हामीलाई थमाइदिए। त्यतिखेर प्लास्टिक र कपडाका झोला चल्तीमा थिएनन्। तसर्थ ती गह्रौँ प्याकेटहरू हामीले काखी च्याप्यौँ। उनले शिष्ट पाराले भने, “यी कृतिहरूको अध्ययन गरेपछि मलाई भेट्नुहोला अनि अरू कुरा गरौँला।”
अर्थात्, किताबका ठेली कोसेली दिएका रहेछन् हामीलाई। तीमध्ये एकदुई वटा किताब पढ्ने बित्तिकै हामीलाई काम पुगिहाल्यो। नबोलीकनै तिनीहरूले धेरै बोलेछन्, “पहिले सिद्धान्तले लैस होऊ अनि हतियारबारे सोच्नू।” यत्ति पनि नबुझ्ने मार्क्सवादी, लेनिनवादी, माओवादी केके हुन् केके कति छन्, कति अझै हाम्रो देशमा। विचारले खारिएको व्यक्तिले बोकेको हतियार मात्र सही ठाउँमा पड्कन्छ नत्र त त्यो बाँदरको हातमा नरिवल हुन्छ। जतासुकै ठाउँ–कुठाउँ पड्किन्छ र सुन्दर मानव जीवन समाप्त गर्दै जान्छ। राजनीति होइन, त्यस्तो बन्दुकले त हिंसा भड्काउँछ, प्रतिहिंसा जन्माउँछ।
वीरेन्द्र राजा हुनेबित्तिकै एक पल्ट क्षेत्रीय भ्रमणमा जाँदा स्थानीय जनतालाई “तिमीहरूलाई कस्तो छ ?” भनी सोधेका थिए रे ! एक जना बोलक्कडले जवाफ दिइहालेछन्, “आनन्द छ सरकार ! जालीफटाहाजति राष्ट्रिय पञ्चायत सदस्य भएर नेपाल (त्यतिखेर काठमाडौँलाई गाउँलेले नेपाल भन्दथे) गइहाले, हामीलाई हाइसन्चो भएको छ।”
यो घटनाले मलाई मार्क्सवादी सिद्धान्त पढ्ने बनाइदियो। त्यसै पनि मेरो अभीष्ट बन्दुक थिएन, झन् पुस्तक पाएपछि त सुशील, प्रकाशको पनि त्यो रुमानी क्रान्तिकारिता हराएर व्यावहारिक क्रान्तिकारी चेत फिर्दै गयो, फुर्दै गयो। बल्ल हाम्रो बाटो मिलेछ, मिलनविन्दु पहिल्याइएछ।
हामीलाई ठीक ठाउँमा ल्याउने एउटा अर्को घटना पनि भयो, अलिपछि। चाउ एन लाइको निधनमा शोक दिवस मनाउन एकेडेमीमा कार्यक्रम राखिएको रहेछ। सधैँझैँ हाउडे पाराले हामी मुख्य प्रवेशद्वारबाट भित्र पस्यौँ। कसैले रोकेनन्। ट्वाल्ल परेर हेरिमात्र रहे चिनियाँ सैनिक (?) हरू। सबैजनाको एउटै पोशाक, सबैको अनुहारमा आफ्नो परमपूज्य पिता दिवङ्गत भएजस्तो विषाद, गहिरो दुःखले गाडिएको आँखा, झुकेको शिर, क्लान्त अनुहार ! यो देखेर हामी तुरुन्तै शान्त भयौँ।
गफगाफ बन्द गरेर साँच्चै शोकसभामा सहभागी भयौँ। त्यो कार्यक्रमले हाम्रो मनमस्तिष्कमा झन्झनाहट पैदा गरिदियो। मलाई लाग्यो, यिनीहरूले आफ्ना नेतालाई गर्ने श्रद्धाको एक छेउ पनि हामीले हाम्रा नेतालाई गर्न पाए … ! पञ्चायती शासनको त्यो बेला मनैले श्रद्धा गर्ने नेता कता पाउनु ? सबैजसो राजाले टीको लगाएर बनाएका नेता हुन्थे। वीरेन्द्र राजा हुनेबित्तिकै एक पल्ट क्षेत्रीय भ्रमणमा जाँदा स्थानीय जनतालाई “तिमीहरूलाई कस्तो छ ?” भनी सोधेका थिए रे ! एक जना बोलक्कडले जवाफ दिइहालेछन्, “आनन्द छ सरकार ! जालीफटाहाजति राष्ट्रिय पञ्चायत सदस्य भएर नेपाल (त्यतिखेर काठमाडौँलाई गाउँलेले नेपाल भन्दथे) गइहाले, हामीलाई हाइसन्चो भएको छ।”
चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्तले होइन, उनीहरूको लवाइ–खुवाइमा देखिने सादगी, व्यवहारमा देखिने भद्रताले गर्दा चीनप्रति आकर्षण बढ्थ्यो। त्यो बेलाका चिनियाँ सामान गुणस्तरका पर्याय हुन्थे। कुनै बेला हरेक राम्रा र स्तरीय सामान बेलायती हुन्थ्यो। बेलायती साबुन मात्र होइन, कुकुर पनि बेलायती नै किमती, राम्रा। त्यस बखतका चाइनिज सामान भनेपछि स्तरीयतामा कुनै शङ्का, खोट नहुने। चिनियाँ सचित्र पत्रिका किताबका गाता हाल्नका लागि लिए पनि त्यसमा भएका अक्षरहरूप्रति पनि बेलाबेलामा ध्यान तानिन्थ्यो।
आफूलाई त गुरु हुनु थियो, भइयो। स्कुलको हेडसरमात्र होइन; गाउँ डुल्न गएपछि पनि गाउँलेलाई पढाउने त्यही माक्र्सवाद। यसका भौतिकवादी, द्वन्द्वात्मक पक्ष वैज्ञानिक छन्, तसर्थ पठनीय र मननीय छन्। कुनै आग्रह नराखी भन्ने हो भने कम्युनिस्ट भएकै कारणले साह्रै दुःख पाएका साथी गोरेबहादुर खपाङ्गीका सापटी शब्दमा “हेर यार ! म मेरा छोराछोरीलाई माक्र्सवाद राम्ररी पढ भन्छु, आफैँ सिकाउँछु तर कम्युनिस्टचाहिँ कहिल्यै नबन भन्छु। उनीहरूले मेरोजस्तो हन्डर खान नपरोस्। माक्र्सवाद नबुझी संसार बुझिन्न तर लागेपछि दुःख पाइन्छ।”
अहिले यी कुरा त्यति साह्रो लागू नहोलान् तर द्वन्द्वात्मकता नबुझी सिक्काको दुई पाटा बुझिन्नथ्यो भन्ने कुराचाहिँ धेरै मात्रामा सही लाग्दछ। उनले कम्युनिस्ट पार्टी छाडे, केही समय राजाको मन्त्री पनि भए तर उनले भनेझैँ जीवनभर दुःखले उनलाई छाडेन। सम्भवतः माक्र्सवाद त्यागे पनि त्यसको चेतले छाडेन।
रामेछापमा छँदा शुक्रवार साँझ हुदिल भन्ने गाउँमा गइन्थ्यो। सीपी दाइ त मूल गुरु भइहाल्नुभयो। उहाँले अलि बढी सिद्धान्त बुझेका तर सानो समूहमा छलफल चलाउनुहुन्थ्यो। उहाँ त खास पार्टीप्रति पनि प्रतिबद्ध हुनुहुन्थ्यो। मचाहिँ मार्क्सवादी चिन्तन रुचाउनेसम्म मात्रै। तसर्थ अलि ठुलो समूहलाई सैद्धान्तिक क्लास लिन्थेँ। हुदिल नगएको शुक्रवार साँझ हामी भङ्गेरीमै छलफलमा बस्थ्यौँ। नारायण दाइसमेत भएको बैठकमा उहाँका कुरा नै धेरै सुन्नुपर्दथ्यो। उहाँ सैद्धान्तिक पक्षका कुरा होइन, व्यावहारिक रूपमा एउटा सामन्तको छोरा। कसरी कम्युनिस्ट बन्नुभयो ? यसले ल्याउनसक्ने परिवर्तन र सामाजिक अवस्थाबारे कुरा गर्नुहुन्थ्यो।
हामी अलि बढी सैद्धान्तिक कुरा गर्थ्यौँ। यदि खास विषयमा गहन छलफल गर्नुपर्ने भएमा उहाँलाई आमन्त्रण गर्दैनथ्यौँ। कृष्णराम श्रेष्ठकहाँ विचारको माडीमैदान हुन्थ्यो। रामेछापको सैँपु गाउँमा धेरैजसोले प्रगतिशील विचार बोकेका, त्यसमा पनि एउटै पार्टीमा आबद्ध छन् भन्ने कुरा थाहा पाएपछि मैले भनेँ, “यदि त्यसो हो भने सामूहिक खेतीको अवधारणालाई व्यवहारमा उतार्ने योजना बनाऔँ। म कृषिकर्म जान्दिनँ तर सामूहिक खेतीबाट व्यक्तिगतभन्दा धेरै बढी उब्जनी हुन्छ र श्रम र खर्च पनि कम लाग्छ। यो सोचमा सहभागी नहुनेहरू पनि एकदुई बाली भित्र्याएपछि फाइदा देखेर सामेल हुनेछन्। बढीमा के गर्लान् ? ध्रुवीकरण होला। कांग्रेस, कम्युनिस्टका दुइटा खला होलान्, पञ्चहरूको त यस्ता काममा रुचि र नैतिक बल पनि छैन।”
तर मेरो कुरा ‘असाध्यै राम्रो’ भन्ने टिप्पणीमै सीमित रह्यो, कहिल्यै लागू भएन। पुँजीवादी होउन् वा समाजवादी– सबै मुलुकहरूले कृषिमा उन्नति गरेका छन् भने चक्लाबन्दी गरेर नै गरेका छन्। यसतर्फ जनता र सरकारको दृष्टि कहिले पुग्ला ? हाल आएर अलिअलि सुरसार भएको छ तर ३० वर्षे पञ्चायतले हुकाईदिएको ‘व्यक्तिवादी संस्कृति’ यस्ता खाले सामूहिक काममा जहिले पनि बाधक हुने गरेको छ। मार्क्सवादी कक्षा लिने क्रममा एक पल्ट सिन्धुली माडीको रातमाटा गाउँमा गएको थिएँ। भित्र किसानहरूसँग छलफल गरिरहेका बखत बाहिरबाट एक जना विद्यार्थीको स्वर सुनियो, “हैन, हेडसर आउनुभएको हो ? हेडसरकै स्वर सुन्दै छु त !”
ती विद्यार्थी मण्डले खालका भएकाले मैले बोल्न बन्द गरेँ, अरूहरू कुराकानी गर्न थाले। मेरो बोली नसुनेपछि र घरका मान्छेहरूले ‘हेडसरको यहाँ के काम ? किन आउनुहुन्थ्यो र ?’ भनेपछि अलिक बेर अलमल गरेर ती भाइ आफ्नो घरतिर लागे। इशारा पाउनासाथ फेरि हामीले आफ्नो कर्म थाल्यौँ। यस घटनाले के सिकायो भने कि त सम्बन्धित घरमा जानुपर्ने कारण हुनुपर्ने वा बहाना बनाउन सकिने अवस्था रहनुपर्ने अथवा अलि टाढैको बस्तीमा जानुपर्ने रहेछ। यो सिकाइले काम ग¥यो। पछि यस्ता घटना दोहोरिएनन्।
मलाई खास पार्टीको कार्यकर्ता बन्न असजिलो महसुस हुन्थ्यो। स्वतन्त्रता हरण होलाजस्तो लाग्थ्यो। तर, चिन्तनका हिसाबले, विश्व दृष्टिकोण बनाउने हिसाबले संसारलाई साँच्चै एउटै छातामा राख्ने विचारले समानताको बिगुल फुक्ने मार्क्सवादी दर्शनले मेरो मन छोएको थियो, मस्तिष्कलाई झङ्कृत गराइदिएको थियो।
मेरो अन्त्यता मिल्ने साथीहरू सुशील, प्रकाश र राजनीतिक छलफलमा निरन्तर सहभागी भई मलाई बेइजिङ रिभ्यूका खास लेखहरूको अनुवाद गर्न लगाई आफ्ना राम्रा लिपिले पातलो टाइप पेपरमा कार्वनकपी राखेर लेखी धेरै प्रति बनाएर पढ्न दिने हेमबहादुर विष्टजस्ता साथीहरू क्रान्तिकारी कम्युनिस्ट सङ्गठन (क्राकसंं) मा आबद्ध हुनुहुन्थ्यो। अति गोप्यतावादी सोचका विष्ट र खुला पाराले चल्न खोज्ने सुशील–प्रकाशको सामीप्य राजनीतिक हिसाबले ट्याप्पै जोडिएको थियो। नेकपा को–अर्डिनेशन केन्द्रका गतिविधि रोमाञ्चक ढङ्गले अगाडि आइरहेका थिए। पुराना कम्युनिस्ट पार्टीहरू पनि आफ्ना गतिविधि बढाइरहेका थिए। सिन्धुलीकै कुरा गर्ने हो भने त चौथो महाधिवेशन, मसाल (पछि मशाल) का कार्यक्रम नै अग्रपङ्क्तिमा थिए।
हाम्रो परिवारका सदस्यहरू सीपी गजुरेल, हरिबोल गजुरेल पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीप्रति समर्पित भइसकेको अवस्था थियो। मशालका गतिविधि भइरहन्थे। एक पल्ट मध्यरातको समयमा पञ्चायत विरोधी मसाल जुलुस निकालिएछ। बजारबाट सुरु भएको जुलुस, रातमाटा, राम्माडी, ढुङ्ग्रेबासहुँदै मल्लागाउँतिर गएर विसर्जन भएछ। ढुङ्ग्रेबासमा डेरा गरी बस्ने अच्युतम आचार्य (मेरो सानीमाका छोरा, भाइ) रमाउँदै जुलुस हेर्न थालेछन्। कुनै पार्टी राजनीतिमा नलागेको केटो, रमाइलोमा रुमल्लिँदा छँदाखाँदाको चुरोट कारखानाको जागिर चट्। अलि दिन त जेल पनि बसे। पञ्चायती जासुसी संयन्त्र यति निकम्मा थियो कि धेरैजसो समर्थक, शुभेच्छुकहरू फस्दथे। नेता वा कार्यकर्ताले कमै पक्राउ खान्थे। सिन्धुलीका कहलिएका खुला कम्युनिस्ट नेताहरूमा वासुदेव श्रेष्ठ, कृष्णहरि अधिकारीहरू हुनुहुन्थ्यो। उहाँहरूले हरेक घटनापिच्छे प्रहरी प्रशासनकहाँ हाजिर बुझाउनुपर्थ्यो। गाउँ फर्क र राष्ट्रिय पञ्चायतको अगुवा नेता भइसकेका वासुदेव श्रेष्ठ (हाल स्वर्गीय) को त यो हालत थियो भने अरू सामान्य समर्थकको के कुरा गर्ने ?
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पनि १५–२० जना राति एक ठाउँमा जम्मा भएर सुटुक्क मनाउनुपर्थ्यो। भूमिगत नेकपा (माले) नेताहरूमध्ये कोही न कोही सामेल हुनुहुन्थ्यो। पञ्चायतको यो असहिष्णु चरित्रले पनि कांग्रेस, कम्युनिस्टहरू फस्टाएका होलान् जस्तो लाग्थ्यो।
को–अर्डिनेशन केन्द्र, पश्चिमको रातो झन्डा र क्राकसं लगायत एक भएर नेकपा (माले) भएपछि आफूलाई कताकता मालेको विचारको नजिक पाउन थालेँ। त्यस बेला एउटा उखान चल्तीको थियो, ‘छोरालाई कम्युनिस्ट बनाउने मन भए अमेरिका पठाऊ, कांग्रेस बनाउने मन भए रसिया’। अर्थात् युवा मन आफू वरिपरिको परिवेशबाट असन्तुष्ट रहन्छ र नयाँ नौलो खोजी गर्दछ भन्ने मान्यताबाट यो भनाइ प्रभावित देखिन्छ।
वास्तवमै मलाई खास पार्टीको मान्छे हुन र त्यसैको सीमामा बाँधिएर रहन मन लाग्दैन। कमसे कम आफूलाई लागेका कुरा प्रकट गर्न पाइयोस्। हुन त पार्टीका ठुला नेताहरूले समेत सिद्धान्त विपरीत बोल्ने र आचरण गर्नु त सामान्य भएको छ। यस्तो अवस्थामा एउटा सामान्य शुभेच्छुक, समर्थक र सदस्यले धेरै सोचविचार गर्नुपर्ने हो तर आफूलाई त्यसो गर्दा आफैँलाई ठगेजस्तो, आफैँप्रति इमानदार नभएजस्तो लाग्ने कारणले प्रगतिवादी सोच, चिन्तन र व्यवहारमा मात्र सीमित रहन मन लाग्ने।
पञ्चायतको त्यो कालरात्रिमा भूमिगत नेता, कार्यकर्ताहरूलाई सेल्टर दिनुपर्ने र त्यसका लागि एक हदसम्म प्रतिबद्ध व्यक्तिको छानो मात्र स्वीकार्य हुने अवस्था थियो। त्यसै सेरोफेरोमा मेरो प्रतिबद्धता कायम रह्यो। नाम, ठेगाना नखुलेकादेखि राम्ररी चिनिएका नेताहरूसम्म सेल्टर लिन आउनुहुन्थ्यो। मैले एउटा सूत्र बनाएको थिएँ, सूर्यास्तपछि प्रवेश, सूर्योदय पूर्व बिदाइ। हुन त उहाँहरू योभन्दा पनि एक पाइला अबेर आउने र एक पाइला सबेरै जाने गर्नुहुन्थ्यो। नियमित धेरै दिन लगातार बस्नेमा अमृत बोहरा (२०४६ पछि थाहा भएको पहिचान) हुनुहुँदोरहेछ। त्यसबेलाको सबभन्दा कठिन काम भनेको दिसा–पिसाब गर्न घरबाहिर जानुपर्ने बाध्यता थियो। किनकि शौचालय घरदेखि केही परै थियो। दिउँसोभरि बस्नुपर्ने साथीहरूलाई धेरै गाह्रो हुन्थ्यो। त्यसैले त धेरैजसो रोगी हुनुभएको थियो।
थोरै समय बस्ने गरी पटकपटक आइरहने ईश्वर पोख्रेल (२०४६ पछि थाहा भएको पहिचान) पर्नुहुन्थ्यो। उहाँ एकपल्ट मात्र लगातार बस्नुभयो तर त्यस बेलाको लामो बसाइ मकहाँ भएन। प्रशिक्षणकै कार्यक्रम थियो र गहन छलफल पनि चलाउनुपर्ने भएकाले राति १० देखि ४ बजेसम्म हामी छलफल र प्रशिक्षणमा रहन्थ्यौँ। भर्खरै विवाह बन्धनमा बाँधिएको म राति सुटुक्क घरबाट निस्कन्थेँ र बिहान ४ बजेतिर आउँथेँ– त्यसै गरी पाइला चाल्दै चाल मारेर। त्यस घडीमा मेरी श्रीमतीले ममाथि गरेको विश्वास सराहनीय थियो। महिलालाई ‘म पात्र’ बनाएर त्यस विषयमाथि मैले एउटा कथा लेखेको थिएँ, जुन त्यही बेला छापिइसकेको थियो। यसपालिको लामो छलफल किन पनि रहेछ भने त्यसपछि यो क्षेत्रमा अरू नै साथी आउनुहुने भएछ। वीरबहादुर लामा तोकिनुभएछ सम्पर्कका लागि। हामी तथाकथित बुद्धिजीविका शब्द विलास र तर्कले उहाँलाई झन्झटमा पारेजस्तो लाग्थ्यो। पार्टीभित्र आन्तरिक सङ्घर्ष तीव्र भई सीपी मैनालीको ठाउँमा झलनाथ खनाल महासचिव हुनुभएको रहेछ।
यो कुरा भन्न नमिल्ने; अरू तर्क गर्न उहाँ नसक्ने। यसै क्रममा अलि समयपछि उहाँको अन्यत्रै सरुवा भएछ। तर, साथी अत्यन्त इमानदार हुनुहुन्थ्यो। “यो कुराबारे बुझेर/सिकेर म अर्कोपल्ट आउँछु” भन्नुहुन्थ्यो। अब यस्ता इमानदार शब्दहरू कहाँ सुन्न पाइन्छ र ! यस क्रममा युवराज कार्की, सुरेश कार्कीहरू पनि आउनुभयो छोटो गुप्तवासका लागि वा भनौँ रात्रि गुप्तवासका लागि। यसैक्रममा एकपल्ट माधव नेपाल पनि आउनुभएछ तर मसँग भेट भएन। अहिलेजस्तो सञ्चारको साधन हुने कुरै थिएन। तसर्थ वैरङ्ग फर्कनुभएछ– अर्को सेल्टरमा बस्न। तर, बहिनी जनकले “यहीँ बस्नुभए हुन्छ, दाजु नभए पनि हामी छौँ” भनिछिन्। उनको कुराकानीबाट प्रभावित उहाँले त बहिनीको विवाहको कुरा चलाउनुभएछ। सोहीअनुरूप बहिनीको विवाह पनि भयो।
त्यो समयमा अध्ययन सामग्री जुटाउनु एकदमै कठिन थियो। टाइप पेपर भनिने पातलो कागजमा कार्बन पेपर राखेर लेख्दा एकै पल्ट ५ प्रतिसम्म बुझिने हुन्थ्यो। कार्बन पेपर पुरानो भएपछि त्यो पनि हुँदैनथ्यो। यसै क्रममा लिथो मेसिनको प्रयोग सुरु भयो। कमला हाई स्कुलमा हातले बनाएको लिथो मेसिन थियो। स्टेनशील पेपरमा कडा चुच्चो भएको डटपेनले लेखेपछि स्टेनशील पेपरमा लेखिएका अक्षरहरूमा प्वाल पर्दथ्यो। त्यही प्वालबाट आएको लिथो मसी सेता कागजमा दलिएपछि पाठ्यसामग्री बन्थ्यो।
यस्तै मेसिनबाट कैयौँ परीक्षाका प्रश्न पत्र बनाएर चलाइयो। ठोसेमा छँदा मैले आयातकार पिर्कामा फलाटिनको कपडा राखी किलाकाँटी ठोकेर लिथो मेसिन बनाउने र बेल्ना (रोटी बेल्ने काठ) मा बाहिरपट्टिबाट स्पञ्ज बेरेर जोडले कसिदिएपछि रोलर बन्थ्यो। यति भएपछि लिथो मेसिन तयार। पार्टीमा काम गर्ने साथीहरूलाई यस्तो गजबको यन्त्र बनाउन सकिन्छ भनेपछि नलोभिने कुरै भएन। “ल बनाइदिनुस्, यो त एकदमै उपयोगी हुन्छ हामीलाई” भन्नुभयो। मैले “हुन्छ, अर्कोपल्ट आउँदा लैजानुहोला” भनेँ। तर, उहाँहरू छिट्टै, त्यही दिनै बनोस् भन्ने चाहनुहुन्थ्यो।
अन्त्यमा, मैले एकदिनका लागि एक कुकर्म गर्ने फैसला गरेँ– आफैँले बनाएको कमला हाई स्कुलको लिथो मेसिन आफैँले चोर्ने र पार्टीका साथीहरूलाई दिने। यो जोखिमपूर्ण काम थियो किनकि अरूले यो काम फत्ते गर्न सक्दैनथे। हेडसर राति किन स्कुलमा ? भनेर चर्चाको, चासोको विषय बन्न सक्थ्यो। जे पर्लापर्ला भनेर राति नै म स्कुल गएँ, एउटा एककाँधे झोला भिरेर। पियन माइलासँग साँचो मागेर ढोका खोेलेँ। “मेरो एक छिन काम छ, सकिएपछि बोलाउँछु” भनेर माइलालाई उनको कोठा, त्यही गोदामघरमा पल्लो छेउमा उनी बस्ने कोठा थियो, त्यहीँ पठाएँ। बिस्तारै कोठाहरू खोलेँ। लिथो मेसिनलाई पत्रिकामा पोको पारेर झोलामा हालेँ अनि बाहिरिएँ। माइलालाई ताल्चा लगाउन अह्राएँ। यसरी आफ्नै स्कु्लको आफैँले बनाएको सामान आफैँले चोरेर घर लगेँ अनि दिएँ कोसेली। त्यो साधारण मेसिनले कति धेरैमा चेतना फैलाउने काम गर्ला भन्ने मीठो कल्पना गर्दै।
भोलिपल्ट आवश्यक सामग्री किनेर अर्को नयाँ लिथो मेसिन बनाएर कमला हाई स्कुलमा राखिदिएँ। यसका लागि पनि अघिल्लो रातझैँ रात्रिकै समय चयन गर्नुपर्यो। दिउँसै लिएर गइयो भने किन ? के ? कसो ? को ओइरो लाग्थ्यो। यसरी एक दिनका लागि लिथो मेसिनविहीन भयो हाम्रो स्टोर। कागजका पानाहरूमा स्टोर दाखिलाका फारममा जिन्सी सामानको खातामा लिथो मेसिन ठीक दुरुस्त थियो तर पुरै २४ घण्टा गायब भएर नयाँ कलेवरको नयाँ मेसिन आइपुगेको थियो र त्यो चोरी तथा निर्माण कार्य गर्ने त्यही संस्थाको कार्यकारी प्रमुख अर्थात् प्रधानाध्यापक अर्थात् म थिएँ। यो कर्मप्रति कहिलेकाहीँ बेठिक गरियो जस्तो लाग्छ तर त्यो बेला त्यो मेसिनको महत्त्व र त्यसले फैलाउने चेतनाको तुलनामा मैले गरेको क्षणिक चोरी कार्य ठुलो पश्चात्तापको विषय नबन्लाजस्तो लाग्छ।
२०३३ सालमा डिप्लोमा इन इजुकेशन चलन चल्तीको भाषामा बि.एड. गर्न काठमाडौँ बसेका बेला शीतल झासँग फेरि भेट भयो। उहाँ पार्टीमा आबद्ध भइसक्नुभएको रहेछ। रामेछापको भँगेरीस्थित नारायण बाबुकहाँ थोरै दिन सँगै बसेका थियौँ। तर, वैचारिक मित्रता अलि दह्रै भएको रहेछ। खपाङ्गीजीले बि.एड. गर्न पठाउन गाह्रो मान्नुभएका बखत मेरो जोडबलमा शीतलजी पढ्न जानुभयो।
पछि भूमिगत हुँदै खुला राजनीतिमा आएर एक चरण सांसद पनि बन्नुभयो। बि.एड. गर्न बसेकै बेला उहाँले ट्रली बससँग सम्बद्ध साथी भनेर ‘प्रताप’ लाई चिनाउनुभयो। उहाँ त अमृत बोहरा भएर निस्कनुभयो। अमृतको स्वरूपमा प्रकट नहुँदै म कमलामा प्रअ रहेको बेला सिन्धुलीमा भूमिगत कालखण्डको केही दिनहरू गुजार्न आउनुहुन्थ्यो। एक रात बसेर हिँडिहाल्ने अन्य नेताहरूभन्दा पृथक् उहाँ केही दिन बस्नुहुन्थ्यो र गहन अध्ययन गर्नुहुन्थ्यो।
२०३३ सालमा डिप्लोमा इन इजुकेशन चलन चल्तीको भाषामा बि.एड. गर्न काठमाडौँ बसेका बेला शीतल झासँग फेरि भेट भयो। उहाँ पार्टीमा आबद्ध भइसक्नुभएको रहेछ। रामेछापको भँगेरीस्थित नारायण बाबुकहाँ थोरै दिन सँगै बसेका थियौँ। तर, वैचारिक मित्रता अलि दह्रै भएको रहेछ। खपाङ्गीजीले बि.एड. गर्न पठाउन गाह्रो मान्नुभएका बखत मेरो जोडबलमा शीतलजी पढ्न जानुभयो।
सम्भवतः केही दस्तावेज अध्ययन, लेखन वा पुनर्लेखन उहाँको उद्देश्य हुनुपर्छ। यस्ता कामका लागि नेताहरू हिजोआज रिसाेर्ट धाउनुहुन्छ। अमृतचाहिँ यस्तो प्रवृत्तिमा अपवादमध्ये एक हुनुहुन्छ। मेरो घरमा बस्दा उहाँहरूले रिपोर्ट नै ठान्नुहुँदो हो त्यो समय। पछि अलि खुलेर कुरा गर्दा ईश्वर पोख्रेलले यस्तै भन्नुभयो, ‘तपाईंकहाँ रात बिताउँदा त फाइभस्टार होटेलमै बिताएझैँ लाग्थ्यो।’ त्यस्तो लाग्नुमा ससाना दुइटा कारण थिए। उहाँहरू कैयौँ दिनको भोक बोकेर निद्रा नपुगेको अवस्थामा आइपुग्नुहुन्थ्यो।
गोडा सुन्निएर हात्तीपाइले रोगीका जस्ता भएका हुन्थे। पानी तताएर त्यो बेलाको ढिके नुनका एकदुई ढिका राखिदिएर गोडा धोएर सुत्नुस् भनी दिएको सल्लाहले सुरुमा त हप्की खाइयो, ‘सोखिन नबनाउनुस् हामीलाई’ भनेर। तर, भोलिपल्ट बिहान गोडा हलुका भएर हिँड्न सहज महसुस भएपछि, जुत्तामा गोडा सरक्क अडेपछि ‘यो त सोख होइन, गाउँले औषधि रहेछ’ भन्ने बुझ्नुभएछ। यो एउटा अनि खाना आइसकेपछि केही छलफल गरेपछि सुतिन्थ्यो। सुत्नुअघि म अलिकता सुक्खा फलफूल अर्थात् नरिवल, छोकडा (छोहरा) खान रुचाउँथेँ, त्यसमा पछि मिश्री थपिन्थ्यो। आफूले मात्रै खान मनले मान्दैनथ्यो अनि उहाँहरूलाई पनि दिन्थेँ।
सम्भवतः यिनै कुरा थिए होलान्, पाँचतारेका सुविधा। भूमिगत कालमा साथीहरूको नजरमा म सोझो र लुरे प्रअ थिएँ, जो वामपन्थी आन्दोलनको सच्चा सहयोगी, शुभेच्छुक थियो तर भूमिगत हुने हिम्मत राख्दैनथ्यो। अनि, धेरै ठुलाठुला कुरा पनि गर्न जान्दैनथ्यो। निरन्तर जे सकिन्छ, त्यो दिने र गोपनीयतामा अब्बल मान्छेको रूपको पहिचान थियो मेरो। मलाई यत्ति भए पुग्या थियो। अब्बल क्रान्तिकारी बनेर छिट्टै निराश भएर प्रतिगामी वा पलायन हुनेहरू देखेर म आजित थिएँ। मेरो प्रतिबद्धताका सीमा र शक्ति यिनै थिए। शिक्षकहरूको सङ्गठन निर्माण, आन्दोलनको हुरी सिर्जना गर्ने क्रममा हामी लागिरह्यौँ। सम्भवतः त्यतिबेलाको प्रतिबन्धित राजनीतिक पार्टीहरू आफूलाई विद्यार्थी सङ्गठन, शिक्षक सङ्गठन, प्राध्यापक सङ्गठनजस्ता पेसागत सङ्गठनको कलेवरमा प्रस्तुत गर्दथे र यस्ता काममा भूमिगत नेता, कार्यकर्ताहरूको भूमिका उत्प्रेरकको मात्र हुन्थ्यो, पर्दाभित्र मात्र रहन्थ्यो।
रङ्गमञ्चमा पञ्चायतलाई हरबर खेलाउने गरी प्रस्तुत हुने पात्र त हामी नै हुन्थ्यौँ र यसैलाई त्यतिखेरका पार्टीहरूले सफलताका सिँढी चढ्ने माध्यम बनाएका थिए। यस्तो माध्यम बन्ने भूमिका पाएकोमा निःस्वार्थी खाले भावनात्मक कारणले योगदान पुर्याउन पाएकोमा हामी पनि दङ्ग, फुरुङ्ग थियौँ। यो सोच लिएर त्यतिखेर पार्टीहरूले सही बाटो पहिल्याएका थिए, जसले पञ्चायतलाई कमजोर बनाउन र बूढो रुखझैँ जरैसमेत पक्लक्क लडाउन सहज भएको थियो। यही प्रस्थान विन्दुले लोकतन्त्र हुँदै गणतन्त्रतर्फको मार्ग प्रशस्त गरेको थियो र यस पुनीत कार्यमा सहभागिता जनाउँदै सहयोगी भूमिका निर्वाह गर्न पाएकामा मलाई गर्व छ।
माले खुला राजनीतिमा आउनुपूर्वका गतिविधि रोमाञ्चक पनि थिए। ०४८ को आमचुनावमा सिन्धुली–१ बाट सांसद हुने मदन ढुङ्गेलको हामीले चुनावअघि नामै सुनेका थिएनौँ। उनी विजयी भएको खबर आउँदा म राष्ट्रिय वाणिज्य बैकनिर थिए। बैंक स्टाफ चन्द्रप्रसाद कोइराला (मेरा शिष्य, माइ) हस्याङफस्याङ गर्दै आएर सोधे, ‘दाजु, यी मदन ढुङ्गेल कतातिरका हुन् ? माथि भाइको फोन आएको छ।’ मैले फोन रिसिभ गर्दै सबै कुरा भाइचाहिँलाई नै सोधेर पक्का गरेँ– मदनजी त १५ वर्षअगाडि भूमिगत भएका रहेछन्, एकै चोटि सांसदका रूपमा देखा परेछन्।
योभन्दा पनि सुखद आश्चर्य खुला जीवनमा माधव नेपाल, ईश्वर पोखरेल, अमृत बोहरा, युवराज कार्की, सुरेश कार्की, वीरबहादुर लामाहरूलाई भेट्दा भएथ्यो। एक साँझ असनको गल्लीमा पहिलो चोटि झ्वास्स भेटिएका केपी ओलीले वर्षौँपछि देख्नासाथ ‘के छ गोविन्दजी हालखबर ?’ भनेको र भेट्दै नभेटिएका तर साथीहरूबाट बयान मात्र सुनेका प्रदीप नेपालले मलाई देख्नासाथ ‘गोविन्दजी होइन ?’ भनेर सोध्दा कम्ता आश्चर्य भएको थिइनँ। तर यी स्नेह, सद्भाव, त्याग र समर्पणका कुरा अब त पुराना कथा भएका छन्।
अबको राजनीतिले त्यागी, समर्पित होइन, भाग खोज्ने र पाउने स्वार्थी, लोभीहरूलाई आफन्त ठान्न थालेको छ। सबै पार्टीमा यस्तै अवसरवाद हाबी देखिन्छ।
(गएको असोज ९ गते उपचारको क्रममा नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा निधन भएका शिक्षाविद्, कुशल व्यवस्थापक एवं स्रष्टा गोविन्द गजुरेलको यो संस्मरणले पञ्चायतकालीन समयको अन्तरकथा बताउनुका साथै वर्तमानमा राजनीतिक क्षेत्रमा व्याप्त विसङ्गतिको पनि झलक दिन्छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का पूर्व सदस्य–सचिव गजुरेल राष्ट्रिय प्रकृति संरक्षण कोषको पनि पूर्व सदस्य–सचिव हुनुहुन्थ्यो। यो संस्मरण उहाँको पुस्तक ‘अनि हेडसर हिँडे’ बाट साभार गरिएको हो।)
००
थप समाचार
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
७
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
८
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
न्यूज अपडेट
-
भविष्यमा युरोपेली देशहरू संयुक्त सेना बनाउन सक्छन् ?
-
मुगुमा ४.३ म्याग्निच्युडको भूकम्प
-
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
-
संरक्षणको अभावमा पोखराको गुँदे ताल (तस्वीरहरु)
-
लैंगिक पहिचानमा क्रान्ति ल्याउँदै कोरियाली सांगीतिक समूह के-पप (भिडिओ)
-
नबिलको ‘सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा, ‘नबिल ग्रीन विक’ मनाइँदै
नाममा सुनेका गोविन्द गजुरेलसरको यो लेखोटले धेरै कुरा बोल्छ ।अहिलेका टुमौटेहरूले पढे हुने । गुन्न त खेै कुन्नि !!