कीर्तिमानी आरोही हिलारी नेल्सन- दुई दशक हिउँमा खेल्दै, हिउँमै बिलाइन्

हिलारी नेल्सनले आफ्ना ठूला उपलब्धि नेपाली हिमालमै प्राप्त गरेकी थिइन्। २४ घण्टामा सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटन उकास्न मद्दत गरेको थियो। मनास्लु हिमालमा स्की गर्ने हिलारी नेल्सन पहिलो महिला हुन्। मनास्लुमा इतिहास रचेकी उनलाई सोही हिमालले आउँदो हिउँको यात्रा मात्र रोकिदिएन जीवनलाई नै पूर्णविराम दियो।

नेपालभ्युज

कीर्तिमानी आरोही हिलारी नेल्सन- दुई दशक हिउँमा खेल्दै, हिउँमै बिलाइन्

काठमाडौं। स्की (हिउँमा खेल्ने खेल) खेलेरै विश्वभरि चर्चा कमाएकी ४९ वर्षीया हिलारी नेल्सन मृत भेटिएकी छिन्। सबैभन्दा साहसी महिलाको दर्जा पाएकी हिलारी नेल्सन गोरखाको मनास्लु हिमाल आरोहण गरेर फर्कँदा हिउँमा चिप्लिएकी थिइन्।

हिलारी नेल्सन र उनका पार्टनर जिम मोरिसन र केही शेर्पाहरूले सोमबार बिहान मनास्लु हिमालको २६ हजार ७८१ फिटको चुचुरो आरोहण गरेका थिए। हिलारी नेल्सनले यसअघि २४ घण्टाभित्र सगरमाथा (विश्वको ठूलो) र ल्होत्से हिमाल (विश्वको चौथौँ ठूलो) आरोहणमा सफलता प्राप्त गरी कीर्तिमान राखेकी थिइन्। तर त्योभन्दा सानो हिमाल मनास्लु चढेर फर्किएर खुशी साट्ने मौका पाइनन्।

पदयात्रा आयोजना गर्ने साङ्ग्रिला नेपाल ट्रेक्सका जीवन घिमिरेका अनुसार सोमबार बिहान साढे ११ बजे हिलारी नेल्सनको जोडी मनासलुको शिखरमा पुगेको थिए। शेर्पा गाईडहरूसहित हिलारी नेल्सन र मोरिसन चुचुरोबाट तल झर्दै थिए।

तल झर्ने क्रममा हिलारी नेल्सन स्किइड गर्दा २ हजार फिट अग्लो दरारमा खसिन्। ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन्।

सोमबार बिहान करिब साढे ११ बजे मनास्लुको तेस्रो र चौथो आधार शिविरमा हिम पहिरो गएको थियो। घटनामा एक जना नेपालीको मृत्यु भएको थियो। ११ जना घाइते भएका थिए। सोही क्रममा हिलारी बेपत्ता भएकी थिइन्। उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन यात्रामा साथै थिए। उनी भने सकुशल छन्।

जीवित भेटिने आशा भएन पूरा

हिलारी नेल्सन दुर्घटनामा परेपछि समयमै उद्धार गर्न सकिएन। बेस क्याम्पबाट हिँडेर घटनास्थलमा पुग्न तीन दिन लाग्ने ठाउँमा उनी खसेको र मौसमका कारण खोजी कार्यमा ढिलाइ भएको उनको साथमा आरोहण गर्ने शेर्पाहरू बताउँछन्।

नेल्सन हराएलगतै उनको भ्रमणको लागि प्रायोजन गरेको संस्था नर्थ फेसले सोमबार एक विज्ञप्तिमा जारी गरेको थियो।

उसले भनेको थियो “हिलारीको परिवारसँग सम्पर्कमा छ। हामीले सकेसम्म खोज र उद्धार प्रयासलाई सहयोग गरिरहेको छौँ। जीवित भेटिने आशा छौँ’’

उनका शुभचिन्तकहरू नेल्सन हिलारी जीवितै भेटिओस् भन्ने आशा राख्दै प्रार्थना रहे पनि त्यो चाहना पूरा हुन सकेन। जब मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव आज (बुधबार) बिहान फेला पर्‍यो। मनास्लु हिमालमा स्की गर्ने हिलारी नेल्सन पहिलो महिला हुन्। मनास्लुमा इतिहास रचेकी उनलाई सोही हिमालले आउँदो हिउँको यात्रा मात्र रोकिदिएन जीवनलाई नै पूर्णविराम दियो।

उनी हराएपछि खोजीका लागि टोली परिचालन गरिएको थियो। उनीहरूले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

भूमिले सुरक्षा दिने अपेक्षा भएन पूरा

हिलारी नेल्सनले दुर्घटनामा पर्नु दुईदिनअघि इन्स्टाग्राममा आफू र पार्टनरले मनास्लुमा सामना गरिरहेको चुनौतीपूर्ण अवस्थाको बारेमा पोस्ट गरेकी थिइन्। उनले पोस्ट गरेकी थिइन् ‘‘भारी वर्षा र आर्द्रताले आरोहणलाई गाह्रो बनाएको छ। मैले मनास्लुमा त्यति आश्वस्त महसुस गरेकी थिइनँ जति मैले उच्च हिमालयको पातलो वातावरणमा विगतका साहसिक यात्राहरूमा गरेको छु।’’

उनले दुर्घटनामा पर्नुभन्दा अघिल्लो दिन २४ सेप्टेम्बर अन्तर्राष्ट्रिय सार्वजनिक भूमि दिवसको अवसरमा इन्स्टामा लेखेकी थिइन्। अन्तर्राष्ट्रिय भूमि दिवसको दिन भूमिले आफूलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरेकी थिइन्।

हिलारी नेल्सनले लेखेकी थिइन् ‘‘संसारभरका अविश्वसनीय ठाउँहरूका लागि मेरो प्रेम पहिले बाहिर निस्कने र मेरो आफ्नै घरपछाडि अन्वेषण गर्ने अवसरले बढाएको थियो। जब मैले एथलीटको रूपमा अगाडि हेर्न थालेँ। मैले महसुस गरेँ कि सार्वजनिक भूमिहरूमा निरन्तर पहुँचले मलाई आजको एथलेट बनाएको छ। र वास्तवमा यसले मलाई यी ठाउँहरूको सुरक्षा गर्न मद्दत गर्न प्रेरित गर्छ। जुन हामीमध्ये धेरैले महसुस गर्छौँ।’’

हिलारी नेल्सनले अन्तर्राष्ट्रिय भूमि दिवसको दिन भूमिले आफूलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरे पनि त्यसको भोलिपल्टै यसै भूमिबाट बिदा लिनुपर्याे।

८ हजार मिटर अग्ला दुई हिमाल आरोहण गर्ने कीर्तिमानी

सन् १९७२ डिसेम्बर १३ जन्मेकी उनका दुई छोरा छन्। सन् २००५ मा उनले नेपालको चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन्। सन् २०१२ मा उनले ८ हजार मिटर भन्दा अग्लो ल्होत्से हिमालको चुचुरोबाट अवतरण गरेकी थिइन्।

८ हजार मिटर अग्ला दुई हिमाल आरोहण गरेको कीर्तिमान उनकै नाममा छ। त्यसपछि सन् २०१८ मा नर्थ फेसले उनलाई एथलेट टिमको लिडर बनाएको थियो।

सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेको थियो। मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा दिएको छ।

सर्वोच्च पर्वतारोही

दुई दशक लामो करियरका साथमा सर्वोच्च पर्वतारोही हुन् हिलारी नेल्सनल। नर्थ फेसले उसको वेबसाइटमा “उनको पुस्ताको सबैभन्दा प्रबल स्की पर्वतारोही’’ को रूपमा उल्लेख गरिएको छ।

२०१२ मा, उनी २४ घण्टाभित्र सगरमाथाको चुचुरो र नजिकैको हिमाल ल्होत्सेको चुचुरो आरोहण गर्ने पहिलो महिला थिइन्। सन् २०१८ मा, टेलुराइड, कोलोराडोका बासिन्दाले त्यस वर्ष ल्होत्सेमा पहिलो स्की गरेपछि नेशनल जियोग्राफिक एडभेन्चर अफ द इयर अवार्ड पाएका थिए।

हिलारी नेल्सनले आफ्ना ठूला उपलब्धि नेपाली हिमालमै प्राप्त गरेकी थिइन्। २४ घण्टामा  सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटन उकास्न मद्दत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved